आदिकवि भानुभक्त क्याम्पसले आफ्नै विद्यार्थीले बनाएको सफ्टवेयर खरिद गरी प्रयोग गर्ने

दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले विद्यार्थीले विकास गरेका सफ्टवेयर आफ्नै प्रशासनिक तथा शैक्षिक कार्यमा प्रयोग गर्ने व्यवस्था सुरु गरेको छ । कक्षाकोठाको सैद्धान्तिक शिक्षालाई व्यावहारिक प्रयोगसँग जोड्दै क्याम्पसले स्नातक तहको सूचना तथा सञ्चार प्रविधि शिक्षा (बिआईसिटिई) का विद्यार्थीले तयार पारेका सफ्टवेयर खरिद गरी प्रयोगमा ल्याउने नीति अवलम्बन गरेको हो ।

क्याम्पसले चालु आर्थिक वर्ष २०८३/०८४ देखि विद्यार्थीमा नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले नवप्रवर्तन तथा उद्यमशीलता कोष, निर्देशन समिति र नवप्रवर्तन प्रयोगशाला (इनोभेसन ल्याब) स्थापना गरी कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ ।

यसअन्तर्गत हालै आह्वान गरिएको परियोजना प्रस्तावमा बिआईसिटिई संकायतर्फका प्राध्यापक तथा विद्यार्थीका तीन समूहले पेस गरेका सफ्टवेयर निर्माणसम्बन्धी प्रस्ताव स्वीकृत भएका छन् । स्वीकृत परियोजना अनुसार विद्यार्थीहरू अहिले नवप्रवर्तन प्रयोगशालामा सफ्टवेयर विकासको अन्तिम चरणमा पुगेका छन् ।

क्याम्पस प्रशासनका अनुसार तयार भएका सफ्टवेयर उचित मूल्यमा खरिद गरी क्याम्पसकै प्रशासनिक तथा शैक्षिक प्रणालीमा प्रयोग गरिनेछ । साथै, प्रयोगशालामा विकसित अन्य सूचना प्रविधिसम्बन्धी उत्पादनलाई व्यावसायीकरण गर्दै बाह्य बजारमा बिक्री–वितरणका लागि पनि आवश्यक सहजीकरण गरिने योजना रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए ।

क्याम्पसले यस कार्यक्रममार्फत विद्यार्थीलाई अध्ययनकै क्रममा आम्दानी गर्ने अवसर सिर्जना गर्नुका साथै क्याम्पसको प्रविधिगत आवश्यकता आफ्नै विद्यार्थी र जनशक्तिबाट पूरा गर्ने लक्ष्य राखेको उनले जनाए ।

क्याम्पस प्रमुख हड्खलेले भने, ‘सामुदायिक क्याम्पसमा सैद्धान्तिक शिक्षालाई नवप्रवर्तन, अनुसन्धान र उद्यमशीलतासँग जोड्ने उद्देश्यले सुरु गरिएको यो अभ्यासले विद्यार्थीको सीप विकाससँगै रोजगार र स्वरोजगारका अवसर विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker