नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटीका लगाइयो

भञ्ज्याङ न्यूज

नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन शनिबार भाइटीका लगाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यो पर्वमा दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् ।

यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको छ । आज भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ ।

दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

भाइटीका लगाउन आज दिनभर बाधा नभएपनि साइत खोज्नेका लागि समितिले मध्याहृन ११ः०२ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्वजनिक गरेको थियो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।

आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिएका छन् ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् बताउँछन् ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । बालगोपालेश्वर मन्दिर वर्षा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker