छिम्केश्वरीको वृहत्तर विकासका लागि आयोजित महायज्ञ मूल समारोह समिति गठन

आँवुखैरेनी : तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी माई र बुढिदेवी मन्दिरको बृहत्तर क्षेत्र विकासका लागि हुन लागेको महायज्ञका लागि ३ हजार १ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
आँबुखैरेनी गाउँपालिकामा भएको एक भेलाले आयोजक छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको हो ।
समितिको महासचिवमा केशर बहादुर केसी र कोषाध्याक्षमा आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडासदस्य एवं आँबुखैरेनी साँस्कृति संरक्षण मञ्चका अध्यक्ष मनोजकुमार श्रेष्ठलाई चयन गरिएको छ। भेलाले विभिन्न ४० वटा उपसमितिहरु समेत गठन गरिएको संयोजक तामाङले जानकारी दिए ।
संयोजक तामाङका अनुसार मूल समारोह समितिका कोषाध्यक्ष श्रेष्ठको संयोजकत्वमा आर्थिक उपसमिति र आँबुखैरेनी गाउँपालिकाका पूर्व अध्यक्ष गिर बहादुर थापाको संयोजकत्वमा १०१ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ भने ५५ सदस्यीय सचिवालय समिति चयन गरिएको छ ।
यस्तै प्रवासका लागि अमेरिकामा रहेका डा. दिपक के.सी.को संयोजकत्वमा प्रवास समन्वय समिति गठन गरिएको छ । जसमा हाललाई दिपक अधिकारी र डा. राम श्रेष्ठ अमेरिका, सानुकाजी थापा अष्ट्रेलिया, टक बहादुर गुरुङ दुवई लगायतलाई सदस्यको रुपमा राखिएको छ भने आवश्यकता अनुसार थप सदस्य पछि थपिने पनि संयोजक तामाङले बताए ।
यहि असोज १८ गतेदेखि २५ गतेसम्म आँबुखैरेनी स्थित हाट बजारमा संचालन गरिने महायज्ञमा प्रमुख वाचकका रुपमा पण्डित दिनबन्धु पोखरेल रहेन बताइएको छ ।










