सम्पादकीय : साहित्यिक पर्यटनको उज्यालो स्रोत – चुँदी रम्घा

पर्यटन भन्नासाथ धेरैको मनमा रमणीय दृश्य, नयाँ ठाउँको अनुभव, फरक भाषा र संस्कृति अवलोकनको आकांक्षा जगिन्छ। प्रायः पर्यटकहरु केही समयका लागि नयाँ ठाउँमा पुग्छन्, त्यहाँको परम्परा, रहनसहन, ऐतिहासिक र सांस्कृतिक सम्पदाको अवलोकन गर्छन्। तर यो अनुभव जब साहित्य, इतिहास र संस्कृतिसँग आत्मिक रूपमा जोडिन्छ, तब त्यो यात्रा केवल यात्रा रहँदैन– त्यो साहित्यिक यात्रा बन्छ। साहित्यिक पर्यटन, विशेषगरी स्रष्टा पर्यटन, यतिबेला नेपालमा पनि एक सशक्त अभ्यास बन्दै गएको छ। यस सन्दर्भमा तनहुँ जिल्लाको चुँदी रम्घा क्षेत्र विशेष महत्व बोकेको साहित्यिक तीर्थ हो। यही पवित्र भूमिमा बि.सं. १८७१ साल असार २९ गते नेपालका प्रथम महाकवि आदिकवि भानुभक्त आचार्य जन्मनु भएको थियो। संस्कृतमा रचिएको रामायणलाई नेपालीमा रूपान्तरण गरी नेपाली भाषामा साहित्यिक क्रान्ति ल्याउने भानुभक्तको योगदान अविस्मरणीय छ। उनी मात्र अनुवादक थिएनन्, एक दर्शनिक, समाज चिन्तक, र भाषिक आन्दोलनका अग्रदूत थिए।
आजको दिनमा साहित्यप्रेमी, शोधकर्ता, विद्यार्थी तथा स्रष्टाहरु भानुभक्तको जन्मभूमि चुँदी रम्घाको शिखर कटेरी पुग्ने गरेका छन्। उनीहरु भानुभक्तका पदचिह्न पछ्याउने, साहित्यिक ऊर्जा आत्मसात् गर्ने र नेपाली भाषाको उज्यालो यात्रालाई नजिकबाट महसुस गर्न पुग्छन्। त्यहाँ पुग्दा हावा पनि कविता लाग्छ, मौनता पनि संगीतजस्तो लाग्छ। यो अनुभूति दृश्य पर्यटनको भन्दा गहिरो, आत्मीय र प्रेरणादायी हुन्छ। शिखर कटेरीमा रहेको भानु पार्क, भानु संग्रहालय र आदिकविको शालिक साहित्यिक पर्यटकको मुख्य आकर्षण बनेका छन्। संग्रहालयमा राखिएका हस्तलिखित पाण्डुलिपिहरु, रामायणका अंश, कविताहरु, पत्रहरु, भानुभक्तले प्रयोग गरेका कलम, मसीदानी, खाट, पिरका, भाँडाकुँडा, सन्दुक लगायतका वस्तुहरूले भानुभक्तको जीवनशैली झल्काउँछ । सग्रहालय हेर्दा थाहा हुन्छ- भानुभक्त मात्र साधारण लेखक होइनन्, संस्कृति, संस्कार र साहित्यको एक धरोहर थिए ।
भानुभक्तले आफ्नो मृत्युपछि काशी होइन, जन्मभूमि चुँदी रम्घाकै सतीघाटमा अन्त्येष्टि गरिन भन्ने इच्छा प्रकट गर्नु, उनको मातृभूमिप्रतिको प्रेमको ज्वलन्त उदाहरण हो । यस्तो उदाहरण साहित्यकार, लेखक, र पाठकलाई मातृभाषा, माटो र संस्कृति प्रति जिम्मेवार बनाउँछ । आजको पुस्ताका लागि चुँदी रम्घा पुग्नु भनेको केवल भौगोलिक भ्रमण होइन– भाषा, साहित्य र संस्कृतिको आत्मा छुने प्रयास हो । साहित्यिक पर्यटन साधारण रमाइलोका लागि मात्र होइन, त्यो आत्मानुभूति र बौद्धिक अन्वेषणको यात्रा हो। जहाँ पर्यटक दृश्य हेर्छन्, साहित्यिक पर्यटक अनुभूति गर्छन्। पाठकले जुन कृति पढेका हुन्छन्, त्यसका सन्दर्भमा लेखिएको ठाउँमा पुग्दा त्यो कथा मानसपटलमा पुनःजीवित हुन्छ। चुँदी रम्घा पुग्दा पाठकको मनमा भानुभक्तको आवाज गुन्जिन्छ, उनका कविताहरु मुटुमा घन्किन्छन्। यस्तो अद्वितीय साहित्यिक गन्तव्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नुपर्ने आवश्यकता अब झनै बढेको छ ।
चुँदी रम्घा केवल तनहुँको गहना होइन, नेपाली साहित्य र संस्कृतिको गौरव हो। यहाँको साहित्यिक महत्वलाई व्यवस्थित रूपमा विकास गरेर साहित्यिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउनु आजको माग हो। पूर्वाधार, सूचना, प्रचार, र संरक्षणका उपायहरु सँगसँगै अघि बढ्दा मात्रै चुँदी रम्घाको गौरव विस्तार हुनेछ। नेपालमा पर्यटनको अनेकौं आयाम छन्– प्राकृतिक, धार्मिक, सांस्कृतिक र साहसिक। यीमध्ये अब साहित्यिक पर्यटनलाई पनि नीति निर्माणमा स्थान दिन आवश्यक भइसकेको छ। हाम्रा भाषा, साहित्य र लेखकहरुका सन्दर्भ स्थलहरूलाई राष्ट्रिय सम्पदाको रूपमा संरक्षित गर्दै अगाडि बढ्न सकेमा देशको सांस्कृतिक पहिचान झन प्रस्ट हुनेछ। साहित्य लेख्ने, पढ्ने र बुझ्ने जोकोहीको लागि चुँदी रम्घा पुग्नु श्रद्धाको यात्रा मात्र होइन, उत्तरदायित्वको यात्रा पनि हो। जुन माटोले भानुभक्त जस्ता युगपुरुष जन्मायो, त्यो माटोमा पुग्दा कलम नयाँ ऊर्जाले चल्छ, मनमा श्रद्धा बग्छ र भाषा आत्मासँग बोल्न थाल्छ। आजको दिनमा चुँदी रम्घालाई साहित्यिक चेतना, राष्ट्रिय स्वाभिमान र भाषिक आन्दोलनको केन्द्र बनाउनु हाम्रो साझा कर्तव्य हो ।










