डुम्रेमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन
भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रेमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । गण्डकी प्रदेश सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय, स्वास्थ निर्देशनालय र जिल्ला आयुर्वेद स्वास्थ केन्द्र तनहुँ अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको हो ।
सेवा केन्द्रको शुभारम्भ गर्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले आरोग्य सेवाकेन्द्रको भूमिका महत्वपूर्ण रहने भन्दै यसका लागि प्रचार-प्रसार हुन जरुरी रहेको बताए । उनले आम नागरिकलाई आरोग्य सेवा केन्द्रबाट सेवा लिन आग्रह गरे ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले आरोग्य सेवा केन्द्रले दिने निःशुल्क सेवा बारे जनतालाई सुसूचित गराउन आवश्यक रहेको चर्चा गरिन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका प्रमुख डा. राम प्रबोध मण्डलको सभापतित्वमा आयोजि कार्यक्रममा बन्दिपुरका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी, वडा नं. १ का वडाअध्यक्ष भानुभक्त पोख्रेल, माओबादी केन्द्रका नेता जीवन कायस्थ, हरिहर आमा समूहकी अध्यक्ष सरिता पियाँ, तनहुँका वरिष्ठ कविराज निरीक्षक बलभद्र वाग्ले लगायतले आरोग्य सेवा केन्द्र डुम्रेमा स्थापना हुनु अत्यन्तै खुशीको कुरो भएकाले डुम्रे आसपासका जनताका साथै गोरखा र लमजुङका जनतालाई सेवा लिन सहज हुने विश्वास व्यक्त गरे ।










