घर बन्न छाडेपछि वैकल्पिक पेशामा तनहुँका मजदुर

व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य पेशा घरमा रङ्ग लगाउने (पेन्टिङ) थियो । विगत दुई वर्षदेखि पेन्टिङको काम नपाएपछि उनी अहिले तरकारी व्यापारमा लागेका छन् ।

आर्थिक मन्दीले घर निर्माण ठप्प भएपछि घर बनाउने र रङ्ग लगाउने सेन्चुरी जस्ता मजदुरहरु जीविकाका लागि वैकल्पिक पेशा अपनाउन बाध्य छन् ।

‘पेन्टिङको काम पाउन छोडेपछि तरकारी व्यापारमा लाग्नुपर्‍यो’, मोटरसाइकलमा तरकारी बेच्दै हिँडेका सेन्चुरीले भने, ‘अहिले बिहानदेखि बेलुकासम्म टोलबस्तीमा तरकारी बेच्न थालेको छु ।’

पहिले प्रत्येक टोलमा दुईतीनवटा नयाँ घर बन्ने गथ्र्यो । पेन्टिङको काम भ्याइनभ्याइ हुने गरेकामा करिब दुई वर्षदेखि घर बन्न छाडेको छ । त्यसपछि विकल्पका रुपमा तरकारी व्यापार गर्नुपरेको उनको भनाइ छ । तरकारी बिक्री गर्दा प्रतिस्पर्धा धेरै भएकाले थोरै फाइदा हुने उनले बताए ।

दैनिक घरको मिस्त्री काम गर्दै आएका व्यास– १० दुम्सीचौरका राजु दरै राहदानी बनाएर वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने तयारीमा । ‘पहिले दुईजना ठेकेदारको सम्पर्कमा कुनै दिन कामविहीन हुनु परेको थिएन’, दरैले भने, ‘एक वर्षदेखि बेरोजगार भएपछि घरमै कति बस्नु भनेर विदेश जाने सोचले राहदानी बनाएँ ।’

उनले घर निर्माणमा मजदुरी गर्दा दैनिक आठ घण्टामा रु नौ सय कमाउने गर्दथे । अहिले मिस्त्री र सहयोगी मजदुर कामविहीन हुनुपरेको उनको भनाइ छ ।

व्यास-१ गल्बुबेँसीका घर निर्माण ठेकेदार सन्तबहादुर तामाङले पनि घर बन्न छोडेपछि धेरै मजदुर बेरोजगार भएको बताए । ‘पहिले वर्षमा १२÷१५ वटा घर सजिलै बनाइन्थ्यो । त्यसका लागि २०/२२ जना मजदुर नियमित खटाउथेँ’, तामाङले भने, ‘तर अहिले वर्षमा एउटा पनि घरको ठेक्का पाएको छुइन ।’

दमौली बजारमा पेन्टिङको काम गर्ने दर्जनौं पेन्टर खाडी मुलुक गइसकेको उनले बताए । आर्थिक गतिविधि सुस्ताएपछि सबैभन्दा बढी असर घर निर्माणमा खटिँदै आएका ठेकेदार र मजदुरलाई परेको निर्माण व्यवसायी सङ्घ तनहुँका पूर्वअध्यक्ष टीकानिधि पौडेलले बताए ।

जिल्लाका एक सय ८० निर्माण व्यवसायीहरु निर्माण व्यवसायी सङ्घमा आबद्ध छन् । घर बन्नै छाडेपछि घर निर्माण परामर्शदाता कम्पनीहरु कार्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको व्यास नगरपालिका घर नक्सा शाखाका इन्जिनियर अमृत केसीले बताए ।

व्यास नगरपालिकाबाट घर नक्सा पास गर्ने क्रम घटेको छ । आर्थिक बर्ष २०७६/७७ मा बार्षिक चार सय ५० वटा घर नक्सा पास भएकामा आर्थिक वर्ष २०७७/७८ मा वार्षिक दुई सय ६० वटा र आर्थिक वर्ष २०८०/८१ को पछिल्लो नौ महिनामा जम्मा दुई सय घरको नक्सा पास भएको इन्जिनियर केसीले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker