सामुदायिक वन समुह बीच अन्तरक्रिया
भञ्ज्याङ समाचारदाता/म्याग्दे

सव डिभिजन वन कार्यालय म्याग्दे गुणादी अन्तरगत रहेका सामुदायिक वन उपभोक्ता समुहहरु बीच अन्तरक्रिया कार्यक्रम गरेको छ ।
डिभिजन वन कार्यालयका वार्षिक कार्यक्रम बमोजिम सव डिभिजन वन कार्यालय म्याग्दे गुणादी अन्तर्गतका व्यास-५ र ६, ऋसिङ गाउँपालिका-१ र २ तथा म्याग्दे गाउँपालिकाका ४० वटा सामुदायिक वन उपभोक्ता समुहको उपस्थितिमा अन्तरक्रिया गरिएको हो ।
सामुदायिक वनका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको सहभागिता रहेको कार्यक्रममा डिभिजन वन अधिकृत कोमल राज काफ्लेले सामुदायिक वन उपभोक्ता समुहले कार्ययोजना अनुसार आरा बन्चरो र चेन लिएर बाक्लो भएको वन र बुढा पुराना रुख विरुवा कटानी गरी बढी भन्दा बढी काठ उत्पादन गर्न सुझाएका थिए ।
सामुदायिक वनमा भएको श्रोत साधन प्रयोग गरि पुनःउत्पादन हुने प्राकृतिक स्रोतलाई आर्थिक रुपमा उत्पादनमुलक बनाउन समुहलाई आग्रह गर्दै उनले भने, ‘सामुदायिक वन उपभोक्ता समुह उद्यम विकास तर्फ अग्रसर हुनु पर्ने समय आएको छ ।’
गोष्ठीमा अधिकांश वन उपभोक्ता समुहका अध्यक्षहरुले वनको वर्तमान नीति नियममा रहि समुहले वनको संरक्षण सम्वर्धन गरिरहेका र गरिव विपन्न वर्गको जिविकोपार्जनमा उल्लेखनीय कार्य भएको बताएका थिए ।
म्याग्दे सव डिभिजन वन कार्यालय अन्तर्गतका विभिन्न समुहहरुमा उत्पादन मुखी र जिविकोपार्जन सहयोग कार्यक्रम सञ्चालन भई रहेेको सहायक वन अधिकृत कृष्ण प्रसाद भट्टले बताए । समुहले २५ प्रतिशत आम्दानी वन विकासका कार्यमा खर्च गर्नुपर्ने, बाँकी रकमको आधा जिविकोपार्जन महिला सशक्तिकरण उद्यम विकासमा खर्च गर्नुपर्ने र बाँकी रकम समुहको हितका नामामा सामाजिक विकासमा लगाउनु पर्ने प्रावधान रहेको भट्टले सहभागिहरुलाई जानकारी गराएका थिए ।
ज्यान्टाङ पधेरा खोला समुहका सचिव भुपेन्द्र रानाभाटले समुहले टि्र हाउस संचालन गरी पर्यापर्यटन विकासमा टेवा पुगेको बताए । बरादी सामुदायिक वनले जिविकोपार्जनका लागि विपन्न वर्गलाई सामुहिक धान खेती र र्टाईगर हिल पार्क संचालन गरेको, उमाचोक सामुदायिक वन समुहले सामुदायिक वनमा फलफूल खेती गरेको, कोईदिम सामुदायिक वनले कटुसका मुढामा सिताके च्याऊ खेती गरेको, सपनकोट ओडारे सामुदायिक वनले नमुना प्लट स्थापना गरी वन सम्वर्धन गरेको, माने भञ्ज्याङ सामुदायिक वन उपभोक्ता समुहले आगोलागी वन डढेलो नियन्त्रणको लागि वन डढेलो नियन्त्रण उत्तरदायी समिति गठन गरी प्रभावकारी रुपमा वन डढेलो नियन्त्रण गरेको, श्री डाडा सामुदायिक वनले खयरको नमुना प्लट बनाई खयर उत्पादनबाट लाखौ आम्दानी गरी विपन्नलाई बाख्रा पालनमा लगानी गरेका छन् ।
उक्त कार्यक्रममा वन कार्ययोजना अनुसार प्रभावकारी कार्यक्रम संचालन गर्न आईपरेका समस्या र समाधानका विषयमा छलफल गरिएको थियो । सामुदायिक वन डढेलोबाट जोगाउन अग्नी रेखा बनाई उपभोक्ता समुहले नियन्त्रित आगो लगाउनु पर्ने, चोरी शिकारी नियन्त्रण गर्नुपर्ने, समुहले नियमित वन सर्म्वर्धनका कार्यहरु गोडमेल, पत्ल्याउने, हाँगा लहरा झाडी काँटछाँट कार्यक्रम गरी वनलाई उत्पादन मुलक बनाउने लगायतका विषयमा सहभागिहरुबीच छलफल गरिएको थियो ।
यस्ता अन्तरक्रिया कार्यक्रम समय समयमा सञ्चालन गर्न सकेमा वन संरक्षण तथा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लिन सकिने फाइदाका विषयमा जानकारी हुन सकिने वराही सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मुक्तीनाथ खनालले बताए ।
कार्यक्रममा म्याग्दे-१ का अध्यक्ष मणीभद्र वाग्लेले सामुदायिक वन उपभोक्ता समुह र स्थानीय सरकार नङ र मासुको सम्वन्ध भएको चर्चा गर्दै समुहले स्थानीय तहसंगको समन्वयनमा वन समुहको कार्यक्रम सञ्चालन गर्ने गरेको बताए । उनले वनका नयाँ नीति नियम उपभोक्तासम्म पुग्न नसकेको हुँदा जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गर्न डिभिजन वन कार्यालयलाई अनुरोध गरे ।










