तनहुँमा कोरोनाका २७५ सक्रिय संक्रमित, संक्रमित होम आइसोलेशनमै बस्दा संस्थागत आइसोलेशन खाली

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको पछिल्लो हप्ता कोरोना भाइरस संक्रमितको संख्यामा उतारचढाव आएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरणमा आइतबार १५, सोमबार २४ र मंगलबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लामा पछिल्लो समय संक्रमितको संख्या घट्दै गएको देखिएपनि जोखिम भने कायमै रहेको स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् ।

कोरोना संक्रमितको संख्या केही घट्दै गएको र संक्रमितहरुमा पनि गम्भिर स्वास्थ्य समस्या नदेखिएकाले संक्रमितको व्यवस्थापन तथा उपचार सहज बनाउनका लागि जिल्लामा तयार गरिएका संस्थागत आइसोलेशन कक्ष पनि खाली हुँदै गएका छन् । संक्रमितहरुको स्वास्थ्यमा जटिल समस्य नदेखिनुका साथै अधिकांश संक्रमितहरु होम आइसोलेशनमै बस्ने गरेका कारण जिल्लाका संस्थागत आइसेलेशनहरु खाली गएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसंगै जनजीवन लयमा फर्कदै गएकोछ । अहिले सार्वजनिक यातायातका साधनहरु पनि सञ्चालनमा आएका छन भने अन्य पेशा व्यवसायहरु पनि समयावधि तोकेर खुल्ला गरिएको छ । निषेधाज्ञा खुकुलो बनेसंगै सर्वसाधारणको चहलपहल शहरबजार क्षेत्रमा बक्लिदै गएको छ । असार पहिलो साताबाट क्रमिक रुपमा निषेधाज्ञा खुकुलो गरिदै लगेसंगै सर्वसाधारणको चहलपहल बढ्दा कोरोना संक्रमण पुन फैलने हो कि भन्ने जोखिम बढेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । उनले भने, ‘नागरिकस्तरबाट भएको लापरवाहीका कारण जिल्लामा संक्रमितको संख्या दैनिक थपिदै गएको छ । संक्रमितको संख्या बढेपनि लक्षण नदेखिएको भन्दै होम आइसोलेशनमै बस्दा स्थानीय तहद्वारा संचालन गरिएको आइसोलेशन कक्ष पनि खाली हुन थालेका छन् ।’

अधिकांश संक्रमितहरु होम आइसोलेशनमै बस्ने र लामो समयदेखि भानु नगरपालिकाको १७ वेड क्षमताको आइसोलेशन खाली हुँदा यहि असार १ गतेबाट कोरोना अस्पताल बन्द गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराइले बताए । उनले भने, ‘लक्षण देखिएका संक्रमितलाई दमौली अस्पतालको कोभिड उपचार केन्द्र र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारा पठाउने गरिएको छ, लक्षण नदेखिएका होम आइसोलेशनमै बस्ने गरेका कारण नगरपालिकाले पुनरडिही स्वास्थ्य चौकीमा तयार गरेको कोरोना अस्पताल बन्द गरिएको छ ।’

भानुले मात्र होइन व्यास नगरपालिकाले पनि पुरानो कृषि बिकास बैंकको भवनमा सञ्चालन गरेको ५० बेड क्षमताको सामुदायिक आइसोलेशन कक्ष बन्द गरेको छ । उक्त आइसोलेशनमा ८५ जना संक्रमितले उपचार सेवा लिएका नगरपालिकाका स्वास्थ्य शाखा प्रमख प्रमोद सोतीले बताए । उनले भने, ‘संक्रमितहरु आउन छाडेपछि गत असार १९ गते नै आइसोलेशन कक्ष बन्द गरिएको हो । नगरपालिकाले एमविविएस चिकित्सक र अन्य स्वास्थ्यकर्मी सहितको टोली खटाएको थियो ।’

जिल्लाका अन्य पालिकाका आइसोलेशन कक्षहरु तयारी अवस्थामा रहेतापनि संक्रमित भने उपचारत छैनन् । भिमाद, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी, देवघाट, घिरिङ र रिसिङ्ग गाउँपालिकाका जम्मा १०८ वेडको आइसोलेशन कक्ष तयारी अवस्थामा रहेतापनि खाली रहेको सम्बन्धित पालिकाका स्वास्थ्य प्रमुखहरुले बताएका छन् ।

यस्तै, बन्दीपुर गाउँपालिकाको १५ वेड क्षमताको आइसोलेशन कक्षमा १ जना, दमौली अपतालको ३१ वेड क्षमताको कोरोना उपचार केन्द्रमा २३ जना र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको ३० वेड क्षमताको कोभिड अस्पतालमा ८ जना उपचारत रहेको जनाइएको छ । दमौली अस्पतालमा २० जना जनरल वेड र ३ जना आइसीयूमा उपचारत रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुनिल पौड्यलले बताए ।

‘सामान्य लक्षण देखिएका संक्रमितहरु घरमै बस्न खोज्छन्’, उनले भने, ‘स्वास्थ्य सुरक्षाका मापदण्ड नअप्नाइदिदा अन्यमा संक्रमण हुने खतरा तथा संक्रमित नै गम्भिर स्थितिमा पुग्छन् । अन्तिम अवस्थामा अस्पताल आइपुग्दा स्थिति समाल्न स्वास्थ्यकर्मीहरुलाई कठिन हुने गरेको छ ।’ यता नगरिकहरुको लापरवाहीका कारण दैनिक संक्रमितको संख्या थपिदै गएको स्वास्थ्य कार्यालय तनहुँद्वारा जारी तत्थ्यांकमा देखाउने गरिएको छ । कार्यालयका प्रमुख अधिकारीले भने, ‘निषेधाज्ञा केही खुकुलो गरिएको छ । मानिसहरु अनावश्यक रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड नअप्नाई घरबाहिरा निस्किदा संक्रमणको जोखिममा बढेको छ ।’

जबसम्म सर्वसाधारण स्वास्थ्य सुरक्षाका सामाग्री प्रयोग तथा मापदण्ड पालनामा सचेत बन्दैनन तबसम्म कोरोना संक्रमण जोखिम रहिरहने स्वास्थ्य विज्ञहरु बताउँछन् । हालसम्म जिल्लामा ५ हजार ४०२ जनाको पीसीआर र ४ हजार १८ जनाको एन्टिजिन प्रविधिबाट कोरोना परीक्षण गर्दा ३ हजार ७५३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ३ हजार ३८६ जना निको भएका छन् भने २७५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखाइएको छ । दोश्रो लहरको कोरोना संक्रमणबाट तनहुँका ९२ जनाको मृत्यु भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker