पशुजन्य उत्पादनमा तनहुँ आत्मनिर्भर

पूर्ण विके/तनहुँ

पशुजन्य उत्पादनमा तनहुँ आत्मनिर्भर भएको छ । सहज यातायात पहुँचका कारण यस जिल्लाबाट उत्पादित अण्डा, कुखुरा र दूध अन्य जिल्लामा समेत निर्यात हुँदै आएको भेटेरिनरी अस्प्ताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

तनहुँमा आर्थिक वर्ष २०७८/७९ मा २ करोड ७० लाख ६० हजार ८ सय अण्डा उत्पादन भएको थियो । उत्पादित उक्त संख्या तनहुँवासीलाई प्रतिव्यक्ति प्रतिवर्ष ८२ दशमलव ५९ वटा अण्डा पर्न जान्छ । उक्त संख्या मापदण्ड भन्दा प्रतिव्यक्ति प्रतिवर्ष ३४ दशमलव ५९ ले बढी हो । विश्व खाद्य तथा कृषि संगठनले प्रतिव्यक्ति प्रति बर्ष ४८ वटा अण्डा खपत दर तोकेको छ ।

आव २०७७/७८ मा जिल्लामा दुइ करोड ५९ लाख ९५ हजार वटा अण्डा उत्पादन भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा कुखुराको अण्डाको अलावा हाँसको दुइ लाख ९५ हजार, बर्ट्टाईको एक लाख ५० हजार, कालिजको आठ हजार र टर्कीको दुइ हजार अण्डा उत्पादन भएको केन्द्रले जनाएको छ ।

चालू यस आवमा पनि अण्डाको उत्पादन राम्रो भएकाले यस आवमा अण्डाको उत्पादन बढ्ने आंकलन गरिएको केन्द्रले जनाएको छ । जिल्लाको व्यास, भानु र शुक्लागण्डकी नगरपालिका अण्डा उत्पादन पकेट क्षेत्र रहेको केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. बालकुमार श्रेष्ठले बताउनुभयो । जिल्लामा उत्पादित अण्डामा आत्मनिर्भर भएको करिब पाँच वर्ष भएको उहाँले जानकारी दिनुभयो । तनहुँबाट उत्पादित अण्डा काठमाडौं, कास्की र स्याङ्जामा समेत खपत हुने गरेको छ ।

मासुजन्य उत्पादनमा आव २०७८/७९ मा तनहुँको योगदान चार हजार सात सय २३ मेट्रिक टन रहेको छ । उक्त उत्पादन दर अघिल्लो आवको भन्दा एक सय २३ मेट्रिक टन बढी हो । आव २०७७/७८ मा मासु उत्पादनमा तनहुँको योगदान चार हजार छ सय मेट्रिक टन रहेको थियो ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतिव्यक्ति प्रतिवर्ष १४ किलोग्राम मासु आवश्यक पर्नेमा तनहुँमा आव २०७८/७९ मा १४ दशमलव ४१ किलोग्राम मासु उत्पादन भएको तथ्याङ्क छ । मासुको अलावा त्यस आवमा माछा उत्पादन ९४ मेट्रिक टन छ । मासु उत्पादनमध्ये राँगा, भैंसीको ४४ प्रतिशत, खसीबोकाको २५ प्रतिशत, कुखुराको १५ प्रतिशत, बंगुरको १५ प्रतिशत र भेडाको ० दशमलव १ प्रतिशत योगदान रहेको छ । जिल्लामै राँगा, भैंसी उत्पादन हुने भएपनि केही चितवनबाट समेत भित्रिने गरेको केन्द्रले जनाएको छ । खसीबोका उत्पादनको लागि व्यास, भानु, भिमाद, बन्दिपुर, रिसिङ र घिरिङ पकेट क्षेत्र मानिन्छ । जिल्लामा ३४१ वटा फर्ममार्फत पशु चौपाय उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।

त्यसैगरी तनहुँ दूध उत्पादनमा राम्रो छ । तनहुँले अन्य जिल्लामा दूध निर्यात समेत गर्दै आएको छ । आव २०७८/७९ मा तनहुँमा ३८ हजार आठ सय ३८ मेट्रिक टन दूध उत्पादन भएको थियो । खाद्य तथा कृषि संगठनको मापदण्ड अनुसार प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर आवश्यक पर्नेमा तनहुँमा भने गत आवमा एक सय १८ दशमलव ५ लिटर दूध उत्पादन भएको थियो । आव २०७७/७८ मा भन्दा गत आर्वमा नौ सय १० मेट्रिक टन दूध बढी उत्पादन भएको केन्द्रले जनाएको छ।

आव २०७७/७८ मा ३७ हजार नौ सय २८ मेटि्रक टन दूध उत्पादन भएको थियो । जिल्लामा ठूला दुग्ध उत्पादक कृषकहरूको अलावा १८ वटा सहकारीबाट दैनिक दूध संकलन हुँदै आएको छ । तनहुँबाट उत्पादित दूध कास्कीका विभिन्न कम्पनीहरूमा खपत हुँदै आएको छ । दूध उत्पादन बढाउन प्रतिलिटर दुइ रुपैयाँ ५० पैसाका दरले अनुदान दिने गरिएको केन्द्रले जनाएको छ ।

दूध, माछा, मासु र अण्डा उत्पादन बढाउन केन्द्रित भई कृषक लक्षित विभिन्न कार्यक्रम वर्सेनी तर्जुमा गरिदैं आइएको केन्द्रले जनाएको छ । ”हामीले पशु स्वास्थ्य सेवा र पशु विकास गरी दुइ खालका कार्यक्रम सञ्चालन गर्दै आएका छौं”, डा. श्रेष्ठले भन्नुभयो, ”यी कार्यक्रमले गर्दा पशु जन्य उत्पादनमा राम्रो वृद्धि भएको छ ।”

पशु स्वास्थ्य सेवाअन्तर्गत बाख्रालाई भ्यागुते, चर्चरे, खोरेत वरुद्ध पिपिआर खोप, बङ्गुरलाई खोरेत र स्वाइन फिवर विरुद्धका खोप र कुकुरलाई रेविज विरुद्धको नियमित खोप कार्यक्रम गरिदैं आइएको उहाँले जानकारी दिनुभयो । केन्द्रबाट पशुचौपायाको पिसाब, रगत दूध, छाला, गोवर र शव परीक्षण सेवा सञ्चालन गरिएको छ ।

गतवर्ष दूधमा ४५ लाख रुपैंयाँ, पशु विमाको २० प्रतिशत प्रिमियममा ४५ लाख ४८ हजार रुपैयाँ, साना व्यवसायी फर्मलाई ८४ लाख रुपैयाँ, माछा उत्पादनमा प्रतिरोपनी २५ हजार रुपैयाँका दरले १५ लाख रुपैयाँ, पकेट क्षेत्रअन्तर्गतका कार्यक्रममा ८० लाख रुपैयाँ लगायत अनुदान प्रदान गरिएको केन्द्रले जनाएको छ । यस वर्ष पनि कृषकलाई प्रोत्साहन नीति केन्द्रले लिएको र छिट्टै दरखास्त माग गरी फर्म छनोट गर्ने र अनुदान प्रदान गर्ने कार्यक्रम रहेको केन्द्रका प्रमुख डा. श्रेष्ठले जानकारी दिनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker