गोरखा–जितगढी एकीकरण पदयात्रा तनहुँ आइपुग्यो

ऐतिहासिक महत्त्व बोकेका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु भएको नेपाली सेनाको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा तनहुँ आइपुगेको छ ।

पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचारप्रसार गर्दै कोट, गढी, किल्लाहरूको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यसहित सुरु भएको गोरखा–जितगढी एकीकरण पदयात्रा टोली आज तनहुँ आइपुगेको हो ।

गोरखा दरबारबाट सुरु भएको पदमार्ग पालुङटार सतिघाट हँुदै तनहुँ आइपुगेको हो । रिपुपर्दन गणले सतिघाटबाट भानु नगरपालिकास्थित रुरु भैरव दल गणलाई पदयात्राको झण्डा हस्तान्तरण गरेको छ । पदयात्रा टोली आज तनहुँको भानुमा बस्नेछ । पदयात्रा टोलीलाई स्थानीयवासीले बाजागाजा बजाएर भव्य स्वागत गरेका छन् । उक्त कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, विभिन्न वडाका अध्यक्ष सहभागी हुनुभएको थियो ।

भोलि शुक्रबार उक्त पदयात्रा टोली व्यास नगरपालिका–११ तनहुँसुर दरबार आइपुग्ने कार्यतालिका रहेको व्यास–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का गणपति प्रमुख सेनानी रामज्योति बोहोराले जानकारी दिनुभयो । तनहुँसुर आएर उक्त पदयात्राको झण्डा कालीभञ्जन गण (इ) लाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । पदयात्रा टोलीलाई स्थानीय तहको समन्वयमा स्वागत गर्ने कार्यक्रम रहेको छ । “पदयात्रा कार्यक्रमले राज्य एकीकरण गर्दा प्रयोग गरिएका पदमार्गका बारेमा सबैलाई जान्ने अवसर पनि मिल्नेछ”, प्रमुख सेनानी बोहोराले भन्नुभयो ।

तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीबाट श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । पदयात्रा टोली चैत २९ देखि वैशाख २ गतेसम्म तनहुँ खण्डमा रहनेछ ।

केलादीघाटदेखि नुवाकोटगढीसम्म पुगेको टोलीलाई गरुणदल गणलाई झण्डा हस्तान्तरण गर्ने र वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीदेखि जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको छ । पदयात्रामा से.मु.नफ्रिको फौज, बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणका दौरान स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिएको नेपाली सेनाले जनाएको छ ।

गोरखादेखि जितगढीसम्मको दूरी दुई सय सात किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा गर्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker