पर्यटन प्रवर्द्धनका लागि जंगलमा ढुंगो सजाएर पार्क निर्माण

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

जंगलमा बेवारिसे बनेको ढ्ंगा चिटिक्कको पार्क बन्ला र यो ढुंगो हेर्न मानिस आउँछन भन्ने कल्पना समेत नगरेका बाबुराम राना अहिले दंग छन् । तनहुँको भिमाद नगरपालिका-९ का वडा सदस्य समेत रहेका राना हाम्रै गाउँठाउँमा रहेका ढुंगामाटोलाई पनि सजाउन सकियो भने आकर्षक बन्दो रहेछ भन्न थालेका छन् । झट्ट हेर्दा आकर्षक देखिने चुच्चे अग्ला ढुङ्गा ढुङ्गामा नै सिमित भए पनि अहिले तिनै ढुङ्गालाई सिँगारेर चिटिक्कको पार्क बनाइए पछि राना अब गाउँको काँचुलि फेरिनेमा आशावादी समेत बनेका छन् ।

भिमाद नगरपालिका-९ मोहोरियामा अग्लो चुच्चे ढुङ्गालाई सजाएर आकर्षक पार्क निर्माण गरिएको छ । पर्यटन प्रवर्द्धन तथा पन्छीको बाँसस्थान व्यवस्थापनका लागि मोहोरियास्थित डुमडुमा सामुदायिक वन क्षेत्रमा रहेको प्राकृतिक चुच्चे ढुङ्गालाई सिंगारेर आकर्षक पार्क बनाएपछि अहिले यसको चर्चा आकासिदै गएको छ ।

डिभिजन वन कार्यालय तनहुँले गत वर्ष करिव २० लाख रुपैयाँ खर्चिएर उक्त पार्क निर्माण गरेको डिभिजन वन अधिकृत कोमलराज काफ्लेले बताए । उनले भने, ‘पार्क निर्माणका लागि वन उपभोक्ता समितिको १० प्रतिशत लागत साझेदारी रहेको छ ।’

‘यहाँको वनमा विभिन्न प्रजातिका चराचुरुङ्गी पाइन्छ’, उनले भने, ‘प्राकृतिक रुपमा रहेका यहाँका पानीपोखरी, ढुङ्गालाई संरक्षण तथा चराचुरुङ्गीको बाँसस्थानलाई समेत सुरक्षित गर्दै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा बिकास गरी स्थानीयको आर्थिक पाटोलाई मजबुत बताउने लक्ष्य छ ।’

उनले भने, ‘यस पार्कको नाम मोहोरिया पन्छी तथा वनस्पति उद्यान राखिएको र पार्क वरापरा चेरी लगायत विभिन्न सुगन्धित फलफूलका विरुवा समेत रोपेर आकर्षक बनाइएको छ । चराको बाँसको व्यवस्थापनका लागि पार्कमा चराको गुँड पनि बनाइएको छ ।’

यस्तै, ढुङ्गाको खोपिल्टोमा चराचुरुङ्गीले पानी पिउन मिल्ने गरी साना-साना पानीपोखरी र चराको चुच्चोबाट पानीको फोहोरा झार्ने संरचना निर्माण गरिएको छ । पार्कलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरी स्थानीयको आम्दानीको स्रोतका रुपमा विकास गर्न यो पार्क सहयोगी बन्नेमा स्थानीय शिवकुमार थापा विस्वस्ता छन् ।

विषेशगरी मगर समुदायको बसोबास रहेको क्षेत्रमा निर्माण भैरहेको पन्छी तथा वनस्पति उद्यानलाई घाङ्च (अग्लो) ल्हुम (ढुङ्गा) भनिने समुदायिक वनका अध्यक्ष खड्काबहादुर थापाले बताए । ‘पहिले यो क्षेत्र निकै डरलाग्दो थियो, गाइबस्तु चराउन आउदा पनि यस अग्लो ढुङ्गा आसपास आउन डर लाग्थ्यो’, उनले भने, ‘वन कार्यालयको सहयोगमा पार्क निर्माण भएपछि दैनिक १५/२० जना आन्तरिक पर्यटक आउन गरेका छन् ।’

जंगलमा रहेको ढुङ्गालाई सिगारेर यति आकर्षक बनाउन सकिन्छ भन्ने कल्पना समेत नगरेको उनले बताए । थापाले भने, ‘अब सरोकारवाला निकायले सफा खानेपानी र यहाँसम्म पुग्नका लागि सहज सडक सञ्जालको व्यवस्थापन गरिदिए यस ठाउँलाई प्रकृतिसंग रमाउन चाहाने पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा बिकास हुन्थ्यो ।’

सिद्ध गुफा, चमेरो गुफा, पाइमीको भ्यु टावर, इलुङ झरना यस क्षेत्रका अन्य आकर्षक गन्तव्य हुन् । यस क्षेत्रमा प्रकृतिसंग रमाउने पर्यटकको बासका लागि पाथर्दी सामुदायिक होमस्टे पनि सञ्चालन गरिएको छ । भानुमतिको पाथर्दी गाउँ बोर जातका बाख्राको पकेट क्षेत्रका रुपमा पनि बिकास गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker