पत्रकार रजकको हत्याको विरोधमा तनहुँका पत्रकारले गरे विरोध सभा

तनहुँ : प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकार सुरेश रजकको हत्यारालाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ तनहुँले शनिबार विरोध सभा गरेको छ ।
शुक्रबार राजावादीहरुले काठमाडौमा आयोजना गरेको आन्दोलनका क्रममा पत्रकारको आगजनी गरेर हत्या भएको विरोध स्वरुप शाखाले व्यास नगरपालिका–३ अनसन चौतारीमा विरोध सभा गरेको हो । महासंघको ७०औं स्थापना दिवसको कार्यक्रम स्थगित गरी विरोध सभा गरिएको हो ।
विरोध सभामा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य प्रदीप काफ्ले, पूर्व अध्यक्षहरु डम्बरबहादुर अधिकारी, ओमकार आचार्य लगायतले पत्रकारको हत्यामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरे । शाखा अध्यक्ष डिपी अधिकारीले महासंघको केन्द्रीय समितिले तय गर्ने थप आन्दोलनका कार्यक्रमलाई जिल्लामा सञ्चालन गरिने बताए ।
यस्तै, नेपाल पत्रकार महासंघले पत्रकार हत्याको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको छ । महासंघको शनिबार बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको हो ।
बैठकले शनिबार क्षति पु¥याइएका सञ्चारगृहको अनुगमन र घाइते सञ्चारकर्मी र सञ्चार सामग्रीको विवरण संकलन गर्ने, आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने, सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णयसमेत गरेको छ ।
यस्तै मारिएका पत्रकार सुरेश रजक सम्बद्ध सञ्चारगृह, उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली सदस्य रहेको समिति गठन गर्दै आन्दोलनका थप कार्यक्रम अवस्थाको विश्लेषणपछि तय गर्ने उल्लेख गरेको छ ।










