तनहुँमा एमाले र जोशी समूहको तालमेल : पूर्वगृहमन्त्री समेत रहेका जोशीसंग कति छ शक्ति ?

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहले तनहुँमा नेकपा एमालेसँग चुनावी तालमेल गरी स्थानीय तहको निर्वाचनमा भिड्ने तयारी गरेको छ । जोशी र नेकपा एमालेका नेताबीच शनिबार बसेको बैठकमा साझा उम्मेदवार बनाउने विषयमा छलफल भएको नेकपा एमाले तनहुँले जनाएको छ ।

तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन गरिएको छ । एमालेबाट चार र जोशी समूहबाट चार गरी आठ सदस्यीय समिति गठन गरिएको छ । नेपाली कांग्रेसको गढको रुपमा हेरिएको तनहुँको व्यास नगरपालिकामा जोशी समूहले छोरा दिपकराज जोशीलाई नगरप्रमुखको उम्मेदवार बनाउने तयारी गरेको छ ।

तनहुँ कांग्रेसको विवाद मिलाउन वार्ता समिति गठन गरेपनि कांग्रेस एकलौटी ढंगले अघि बढेकाले एमालेसँग चुनावी तालमेल गर्नुपरेको जोशीले बताएको छ । जोशी विकासवादी नेताको रुपमा जिल्लामा चिनिन्छन् । उनको समयमा शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारी, सडक जस्ता क्षेत्रमा विकास भएको बताइन्छ । नेता जोशीले आगामी संघीय चुनावमा उम्मेदवारी दिने घोषणा समेत गरिसकेका छन् ।

यस्तै, नेकपा एमाले तनहुँले जिल्लामा जोशी समुहसंग चुनावी तालमेल गरी जाने विषयमा छलफल भएको बताएको छ । जिल्ला कमिटी अध्यक्ष श्रीप्रसाद श्रेष्ठका अनुसार जोशी समुहसंग स्थानीय तहमा तालमेल गरी जाने विषयमा छलफल भएको छ । उनले भने, ‘निर्वाचानमा चुनाव चिन्हका विषय टुङ्गिएको छैन । हाम्रो प्रस्ताव एउटै चुनाव चिन्ह सूर्य प्रयोग गरौं भन्ने छ । उहाँहरु फरक फरक चुनाव चिन्हमा निर्वाचन लड्न कुरा गर्दै हुनुहुन्छ, यो विषय टुङ्गिएको छैन ।’

चुनावी तालमेलको क्रममा भएको सहमति अनुसार व्यास नगरपालिकाको प्रमुख, भानु नगरपालिकाको उपप्रमुख, बन्दिपुर र आबुखैरेनी गाउँपालिकाको उपाध्यक्ष तथा क्षेत्र नम्बर १ का सबै पालिकाहरुमा गरी १० वटा वडा अध्यक्ष जोशी समूहलाई एमालेले र्समर्थन गर्ने र बाँकीमा पदहरुमा जोशी समूहले एमालेलाई सहयोग गर्ने समझदारी भएको स्रोतले जनाएको छ ।

एमाले तनहुँले जोशी समूहलाई प्रमुख उपप्रमुख पदमा फरक फरक चुनाव चिन्ह प्रयोग गरेपनि वडा तहमा भने एउटै चुनाव चिन्ह प्रयोग गरौं भन्ने प्रस्ताव गरेको अध्यक्ष श्रेष्ठले बताए । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी अहिले पार्टी कारबाहीमा छन् । उनको कारबाही फुकुवा भएको छैन । कुनै बेला कांग्रेसमा निर्णायक प्रभाव राख्ने एकेजिबी समूह थियो ।

अर्जुन नरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र बिजय कुमार गच्छदार । संयोग नै भन्नुपर्छ खुमबहादुरको निधन भइसकेको छ, बाँकी तीनमध्ये अर्जुन नरसिंह कांग्रेस नेतृत्वमा रहे पनि निर्णायक प्रभाव छैन । बिजय गच्छदार भ्रष्टाचार मुद्दा खेपिरहेका छन् उनी पनि निर्णायक शक्तिमा छैनन् । गोविन्दराज त कारबाही मै छन् ।

यीनै गोविन्दराज जोशी तनहुँको राजनीतिमा भने अझै पनि निर्णायक मानिन्छन् । जोशीका कारण कांग्रेस तनहुँको राजनीति पेचिलो बन्दै गएको छ । जोशीले २०७४ प्रतिनिधि सभा निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलको विरुद्धमा बागी उम्मेदवार हालेका थिए । यद्यपी उनको उम्मेदवारी पौडेलले निर्वाचन आयोगमा उजुरी गरेर रद्द गराएका थिए । त्यसपछि जोशीलाई पार्टीले साधारण सदस्य नै नरहनेगरी कारबाही गरेको छ ।

तनहुँको व्यास नगरपालिकामा एमाले कांग्रेसपछिको दोस्रो शक्ति हो तर एक्लै जित्ने हैसियतमा छैन । बरु जोशीले कांग्रेसले जित्ने मार्जिनको मत होल्ड गर्छन् । यसैक्रममा उनीसँग एमालेले तालमेल गर्ने प्रक्रियामा अगाडि बढेको छ । कांग्रेसको कारबाहीमा परेका जोशीसँग एमालेले किन तालमेल गर्दैछ ? जोशीसँग कति शक्ति छ ? भन्ने विषयमा आमचासो पनि बढेको छ ।

कति छ जोशीको शक्ति ?

तनहुँमा गोविन्दराज जोशी कांग्रेसका संस्थापक हुन् । उनी आफूले रामचन्द्रलाई कांग्रेस बनाएको बताउने गर्छन् । २०४८, २०५१ र २०५६ तीनपटक उनले तनहुँबाट ठूलै मतान्तरमा चुनाव जितेका थिए । तनहुँ कांग्रेसमा पौडेल-जोशीको टकरावको इतिहास लामै छ । विद्यार्थी राजनीतिकालदेखि नै दुवै नेता एकअर्काका प्रतिस्पर्धी थिए । यसैकारण जिल्लामा दुबै नेता फरक समूह चलाउँथें ।

एक समय यस्तो थियो कि जिल्लामा पार्टीका चुनाव हुँदा जोशी समूहले रामचन्द्र समूहलाई सजिलै हराउँथ्यो । त्यसमा मन्त्री तथा सांसद हुँदा जोशीले गर्ने कार्यकर्ता संरक्षण महत्वपूर्ण थियो । यही कुराको कमी पौडेलमा थियो । पौडेल सिद्धान्तको कुरा गर्ने, जोशी व्यवहार मिलाउने । त्यसैले पनि जोशीको पकड बढि थियो ।

जब जोशीलाई भ्रष्टाचारको अभियोग लाग्यो उनी राष्ट्रिय स्तरमै कमजोर भए । जोशी कमजोर भएपछि कार्यकर्ताहरूले पनि छाड्न थाले । यद्यपी पुराना प्रतिवद्ध कार्यकर्ताहरूले भने उनको साथ नछाडेको देखिएको छ । यसैक्रममा जोशीको कारबाही फुकुवा नभएको भन्दै कांग्रेसको १४ औँ महाधिवेशनमा तनहुँमा ६ हजार कार्यकर्ताले क्रियाशिल सदस्यता पनि नभरेको सो समूहले दाबी गर्ने गरेको छ ।

सो समूहको व्यास नगरपालिका, भानु नगरपालिका, बन्दिपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा निर्णायक मत छ। सोही कारण एमालेले सो समुहसँग तालमेल गर्ने प्रक्रिया अगाडि बढाएको हो । त्यो शक्ति कांग्रेसलाई हराउन पर्याप्त हुने एमालको बुझाई छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा भानु नगरपालिकामा कांग्रेसका उदयराज गौलीले ९ हजार ५३८ मतसहित विजयी हुँदा एमालेका भगवती न्यौपानेले ९ हजार ६४ मत पाएकी थिइन् । जोशीको आफ्नै गृहनगर भएकाले यहाँ उनीसहितको गठबन्धन हुनासाथ कांग्रेसको गठबन्धन कमजोर हुन्छ ।

यस्तै व्यास नगरपालिकामा कांग्रेसका बैकुण्ठ न्यौपाने १३ हजार ५६ मतसहित विजयी हुँदा एमालेका शंकर नारायण श्रेष्ठले ९ हजार ५९२ मत ल्याएका थिए भने, आँबुखैरेनीमा कांग्रेस गिरबहादुर थापा २ हजार ५८९ मत सहित विजयी भएका थिए भने, एमालेका सन्तबहादुर केसीले २ हजार २४२ मत पाएका थिए ।

यस्तै बन्दिपुरमा कांग्रेसका कर्णबहादुर खत्री २ हजार ४२१ ल्याएका थिए । एमालेका आनन्दमान जोशीले एकहजार ९३२ पाउँदै दोस्रो भएका थिए । त्यहाँ माओवादीबाट पूर्णसिंह थापा निर्वाचित भए । यी पालिकाहरूमा एमालेले जोशी समूहसँग मिलेर कांग्रेसलाई पराजित गर्न चाहन्छ ।

त्यसका लागि जोशी समूहले व्यास नगरपालिकाको नेतृत्व मागेको छ । जहाँ जोशी आफ्ना छोरालाई प्रमुख बनाउँन चाहन्छन् । जोशी हिजो मन्त्री हुँदा शिक्षा, स्वास्थ्य, विद्यालय स्थापना, युवाहरुलाई रोजगारीमा सहयोग गरेको कारण उनलाई धेरैले रुचाउने गरेको सो समूहको तर्क छ ।

यस्तै जोशी समूहसँग संविधान सभा सदस्य पार्वती राना पनि छन् । यद्यपी उनी अहिले बिरामी छन् । उनका भाईहरु सबै जोशीको पक्षमा रहेको स्रोतको दाबी छ । त्यस्तै भानु नगरपालिकामा सहिद होमराज लोहनीको पत्नी बालकुमारी लोहनी, बन्दिपुरमा शुकुमलाल गुरुङ लगायत जनतामा राम्रो प्रभाव पार्ने नेताहरु पनि जोशीका पक्षमा छन् । अहिले नेताभन्दा पनि गाउँका कांग्रेस कार्यकर्ताहरु जोशीको पक्षमा रहेको सो समूहको दाबी छ ।

एमाले र जोशी समूहकाबीचमा बन्न लागेको यो गठबन्धनमा एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेको विशेष जोड छ । उनकै पहलमा काठमाडौंमा एमाले अध्यक्ष केपी ओली र जोशीबीच भेटवार्ता भएपछि तनहुँमा गठबन्धनको वातावरण बनेको बताइएको छ ।

अघिल्लो चुनावमा रामचन्द्रले उम्मदेवारी खारेज गराइदिएपछि गोविन्दराज जोशीले एमालेलाई सहयोग गरेका कारण किसान श्रेष्ठको विजय सम्भव भएको थियो । यसपटक जोशी समूह खुलेर एमालेसँग गठबन्धन बनाउन अग्रसर हुँदा तनहुँमा कांग्रेसलाई चुनौती बढेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker