पृथ्वीराजमार्ग भन्दा छोटो बुद्धसिंह मार्ग : निकास र विकास बिहिन अवस्थामा
नारायण खड्का/तनहुँ
पोखरा-चितवन जोड्ने छोटो र पृथ्वीराजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको बुद्धसिंह मार्ग निकास बिहिन बनेको छ । पृथ्वीराजमार्गको मुग्लिन-चितवन खण्ड अन्तर्गत घुमाउनेघाटमा जोडिने बुद्धसिंह मार्ग पृथ्वीराजमार्गकै दमौली खण्डमा कताबाट जोडिने भन्ने अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन ।
स्थानीय उपभोक्ताहरुको सक्रियतामा २०४८ सालमा सदमुकाम दमौलीबाट जिल्लाको दक्षिण भेग कछारका बासिन्दालाई सडकको पहुँचसंग जोड्ने उद्देश्यका साथ सडकको ट्रयाक खनिएको थियो । सडक खनेको यति लामो समय बितिसक्दा न त सडकको स्तरोन्नती हुन सकेको छ, न त राजमार्गसंग जोड्ने निकासनै पहिचान हुन सकेको छ ।
मोटर मार्गलाई पृथ्वीराजमार्गसंग जोड्नका लागि व्यास नगरपालिकाको बेलबासबाट ट्रयाकको पहिचान हुन नसकेको मोटरबाटो उपभोक्ता समितिका पूर्व अध्यक्ष विश्व बास्तोलाले बताए । स्थानीय सरकारले निर्माण गरेको ३० फुटे बाटोमा यो मार्ग सुचारु भएपछि सवारी साधानको चाप थेग्न नसक्ने अवस्था छ, त्यसैले कुन विकल्पबाट बुद्धसिंह मार्गलाई पृथ्वीराजमार्गको दमौली खण्डमा जोड्ने भन्ने विषय अझै अन्यौलमा रहेको उनले बताए ।
‘बुद्धसिंह मार्गलाई पृथ्वीराजमार्गसंग कुन बाटोबाट जोड्न सकिन्छ भन्ने विषयमा सरोकारवाहरु बीच धेरै पटक छलफल भयो तर यो विषय अझै टुङ्गोमा पुग्न सकेको छैन’, पूर्वअध्यक्ष बास्तोलाले भने, ‘बेलबासबाट बुल्दि खोलाको किनारैकिनार कराङ्काठ स्थित बसपार्कबाट राजमार्गसंग जोड्ने, छाब्दी खोलाको किनारैकिनार हुँदै भादगाउँ-गल्भुवेसीबाट राजमार्गसंग जोड्ने, जिरोटारको मोटररेवल पुल-बिसघरे-दमौली हुँदै राजमार्गसंग जोड्ने लगायतका विकल्पका विषयमा छलफल भएपनि त्यो टुङ्गोमा पुगेको छैन ।’
अहिले सञ्चालनमा रहेको बिसघरे हुँदै दमौली बजार मार्ग, भादगाउँ हुँदै अमरपुरी मार्ग र भादगाउँ-गल्भुबेसी मार्गले घुमाउनेघाटमा पुल निर्माण पश्चात यातायातका साधान सञ्चालनको संख्या वृद्धि भएमा थेग्न नसक्ने अवस्था छ । ३० फुटे यी मार्गको दायाँवायाँ आवसीय भवनहरु निर्माण भइसकेका र स्थानीय सरकार तथा अन्य सरोकारवाला निकायले बुद्धसिंह मार्गको निकासका लागि समयमै आवश्यक जग्गा संरक्षण गर्न नसक्दा अहिले समस्या खडा भएको छ । यो विषयलाई समयमै टुङ्गोमा पुर्याएर सडकको स्तरोन्नतीमा ध्यान दिन नसके भविष्यमा झन समस्या खडा हुने देखिन्छ ।
उपभोक्ता समितिले करिब तीन दशक अघि बनाएको बाटो भएको र सो समयमा यो विषय प्रति ध्यान नपुग्दा अहिले समस्या देखिएको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानले बताए । ‘यो मार्ग प्रदेश सरकारको जिम्मा छ र प्रदेश सरकारले नै आवश्यक बजेट विनियोजन गरी सडकको स्तरोन्नतीको काम अगाडि बढाएको छ’, नगरप्रमुख न्यौपानले भने, ‘प्रदेश सरकारले बहुवर्षीय योजनामा राखि करिब ४६ करोड रुपैयाँमा सडक स्तरोन्नतीको ठेक्का सम्झौता भएको र आगामि आर्थिक वर्षका लागि करिब ५ करोड रुपैयाँ बराबरको बजेट समेत विनियोजन भएको अवस्था छ ।’
यस्तै, बुद्धसिंह मार्गलाई पृथ्वीराजमार्गसंग जोड्नका लागि दुइ वटा विकल्प देखिएको र सोही अनुसार रेखाङ्कन समेत भएको नगरप्रमुख न्यौपानले बताए। उनले भने, ‘आदिकवि भानुभक्त क्याम्पसको तल बुल्दीखोलाको किनारैकिनार करङ्काठस्थित बस पार्कसम्म एउटा र अर्को क्याम्पस तल बुल्दीखोला माथि निर्माण गरिएको मोटरेवल पुल हुँदै देउराली नगरको बाटो छ । यी दुइ बाटोलाई तयार गरी एकतर्फी रुपमा आउँजाउँ गर्ने गरी बुद्धसिंह मार्गलाई राजमार्गसंग जोड्ने बाहेक अर्को विकल्प देखिएको छैन ।’
यस्तै, सडकको ट्रयाक खनेको ३१ वर्ष बितसक्दा यो मार्गले निकास नभेट्नुका साथै विकास पनि हुन सकेको छैन । २०४८ सालमा सदमुकाम दमौलीबाट जिल्लाको दक्षिण भेग कछारका बासिन्दालाई सडकको पहुँचसंग जोड्ने उद्देश्यका साथ स्थानीयकै सक्रियतामा सडकको ट्रयाक खनिएको थियो ।
यो मार्गलाई तनहुँको कछार क्षेत्रका बासिन्दाको ‘लाइलाइन’का रुपमा पनि लिइन्छ । चुनावका समयमा राजनीतिक दलका नेताहरुको भाषणमा कालोपत्रे भइसकेको यो मार्गका उपभोक्ताहरु हिउँदमा धुलो र बर्खामा हिलोको सास्ति झेल्दै आएका छन् । कालोपत्रे सडकमा सहजरुपमा यात्रा गरी सदरमुकाम तथा अन्यत्र जाने सपना कहिले पुरा हुन्छ यसै भन्न सक्ने अवस्था छैन ।
जिल्लाको कर्णालीको नामले परिचित कोटा, बैदी, छिपछिपे र धरमपानी, मास्दिघाट, नाल्दीपुल लगायतका गाउँबस्तिका बासिन्दालाई सडकसञ्जालसंग जोड्ने लक्ष्यका साथ साविकका गाउँविकास समिति र स्थानीय जनताको सक्रियतामा दमौलीदेखि घुमाउनेघाटसम्म कच्ची सडक बिस्तार गरिएको थियो । ट्रयाक खोल्दाको सुरुको अवस्था भन्दा पनि यो सडकको अवस्था अहिले थप दयानीय बन्दै गएको छ ।
पोखरा-डुम्रे-आँवुखैरेनी-मुग्लिङ हुँदै नारायणगढ पुग्नुभन्दा दमौलीबाट बुद्धसिंहमार्ग हुँदै घुमाउनेघाट हुँदै नारायणगढ पुग्न करिब २३ किलोमिटर दुरी छोटो पर्छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसंग जोड्ने सबैभन्दा छोटो दूरी र पृथ्वीराजमार्गको बैकल्पिक सडकको रुपमा समेत लिइने बुद्धसिंह मार्गको स्तरोन्नतीमा सरोकारवाला निकायले ध्यान नदिदा स्थानीयले धेरै सास्ती खेप्नुपरेको बुद्धसिंह मार्ग उपभोक्ता समितिका संस्थापक अध्यक्ष यामबहादुर आलेले बताए । उनले भने, ‘सडक नभएको ठाउँमा सडक आयो खुसी त लागेको छ तर यो सडक कालोपत्रे नहुँदा हिउँदमा धुलो र बर्षायममा हिलोको साँस्ति खेप्दै आउनुपरेको छ ।’
२०४८ सालमा बेलबासबाट मादीको किनारैकिनार हिडेर नेपाली कांग्रेसले सराङघाटमा आयोजना गरेको आमसभामा सहभागी भएको स्मरण गर्दै उनले भने, ‘त्यो समयमा यस क्षेत्रमा मोटरबाटो थिएन । त्यसपछि स्थानीय दाजुभाईको सहयोगमा मादीको किनारैकिनार बाटो खन्ने छलफल गरी कोदालो, गैची, बेल्चा जस्ता घरेलु औजार प्रयोग गरी सडकको ट्रयाक खोलेका थियौं ।’
बहुदल आएपछि तत्कालिन यातायात मन्त्री मार्सलजुलुम शाक्याको पालामा बुद्धसिंह मार्गका लागि ५० लाख रुपैयाँ बजेट आएको आलेले बताए । उनका अनुसार स्थानीयकै लागत सहभागितामा बेलबासबाट ९ किलोमिटर पर सुडेसम्म मोटरमार्ग खनिएको थियो । २०५९ सालमा यस मार्गमा पहिलो पटक जीप चलाइएको थियो । अहिले ३२ किलोमिटर दुरीको मोटरमार्ग बनेको छ ।
मोटरमार्ग खोलिएको लामो समयसम्म पनि सडकको स्तरोन्नती गर्नतर्फ सरोकारवाला निकायको ध्यान नदिएको संस्थापक अध्यक्ष आलेको अरोप छ । ‘राजनीतिक दलका कार्यक्रममा नेताहरुले सडकको स्तरोन्नती र चितवनलाई छोटो दुरीबाट जोड्ने भन्दै मिठा भाषण गर्छन् तर व्यवहारमा त्यो हुन सकेको छैन’, उनले भने, ‘नेताहरुको भाषण र चुनावको समयमा भोटबैंकको रुपमा मात्र प्रयोग भएको जस्तो देखिन्छ ।
यो बाटोको चाडैनै स्तरोन्नती होला भन्ने आश पनि छैन । कर्मचारी र नेताकै मिलिमत्तोमा काम रोक्किएको छ ।’ मोटरमार्ग सञ्चालनमा आएपछि जनजीवन सहज भन्दापनि झनै सकस भएको बन्दिपुर गाउँपालिका-३ नाल्दीपुलकी आशकुमारी गुरुङ बताउँछिन् । उनले भनिन्, ‘मोटरमार्ग सञ्चालन भएपछि झनै यात्रा जोखिमपूर्ण बनेको छ । वर्षायाममा ठाउँठाउँमा पहिरो खस्दा कुनैपनि सवारी साधान चल्न सक्ने अवस्था हुँदैन । यतिमात्र होइन पैदल हिड्न समेत नसकिने अवस्था हुन्छ ।’
‘निर्वाचनका समयमा राजनीतिक दलका नेताहरुले सडक कालोपत्रे गरी ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजलाई बजारीकरणमा टेवा पुर्याउने, सहज यातायातको व्यवस्था मिलाउने, गाउँबासिको आर्थिक उन्नति बृद्धि गर्ने जस्ता झुटो आश्वसन बाढ्छन्’, उनले भनिन्, ‘सडक कालोपत्रे गरी विकासलाई गाउँ भित्र्याछौं भन्ने नेताको भाषण, भाषणमै सिमित भएकोे छ ।’
सदरमुकाम दमौलीबाट घुमाउने घाटसम्मको करिब ३२ किलोमिटर दुरीको सडक सेती नदीको किनारै किनार खनिएको छ । हिउँदमा मुस्किलले आधा दर्जन यात्रु बहाक सवारी साधान चल्छन् तर, गन्तव्यमा नपुगिन्जेलसम्म यात्रा त्रासपूर्ण हुने स्थानीय बताउँछन् । सडकको स्तरोन्नती र पहिरो रोकथामको काम नहुँदा सडकका किनारमा बसेका केही बस्ति गत वर्षको पहिरोले समेत बगाएर सेतीमा पुर्याएको थियो । बर्षायाम सुरु भएसंगै यस क्षेत्रमा पहिरोको जोखिम छ ।
यस्तै, ०७४ सालको स्थानीय निर्वाचनमा नेताहरु बुद्धसिंह मार्गलाई चुनावी एजेण्डामा राखि निर्वाचनमा होमिए तर यो ५ वर्षो अवधिमा यस मार्गमा कुनैपनि काम नभएको उपभोक्ता समितिका पुर
व अध्यक्ष विश्व बाँस्तोलाले बताए । उनले भने, ‘०७४ सालको निर्वाचनमा बुद्धसिंह मार्गको जे स्थिति थियो अहिले त्यो भन्दा पनि खस्किएको छ ।’ यो मार्गको स्तरोन्नतीका लागि राज्यको ध्यान पुग्न सकेको छैन ।
सडको स्तरोन्नतीका लागि जुन रुपमा बजेट आउनु पर्थ्यो अहिलेसम्म हुन सकेको छैन । ‘यस मार्गको स्तरोन्नती भएसंगै तनहुँकै कछार क्षेत्र मानिने बैदी, कोटा, भिरकोट लगायतका ग्रामीण क्षेत्रको पनि बिकास हुने थियो’, उनले भने, ‘यस क्षेत्रका अधिकांश बासिन्दाहरु कृषि र पशुसंग जोडिएका छन् । सडक कालोपत्रे भए यहाँका कृषि उपजले सहज रुपमा बजार पाउने थिए र यस क्षेत्रका हजारौं सर्वसाधारणहरु आर्थिकसंग जोडिने थिए ।’
यस मार्गमा व्यास नगरपालिका, बन्दिपुर, आँबुखैरेनी, देवघाट र ऋषिङ गरी पाँच पालिका जोडिएका छन् । बुद्धसिंह मार्ग संघ अन्तर्गत हुँदा व्यास-बुद्धसिंह मार्ग निर्माणका लागि ७५ करोड रुपैयाँको स्टमेट गरिएको सडक डिभिजन कार्यालय दमौलीले बताएको छ । ०७२/०७३ सालसम्म बुद्धसिंह मार्ग करिव ७ किलोमिटर कालोपत्रे भएको छ । उक्त मार्गमा ठेक्का नम्बर ९०/०७१/७२ अनुसार कान्छाराम कन्स्ट्रक्सन, काठमाडौंलाई ७ करोड ३३ लाख १० हजार १४२ रुपैयाँ र ठेक्का नम्बर ९१/०७१/७२ अनुसार सोही कन्सट्रक्सनलाई ४ करोड ३१ लाख ५४ हजार २९६ रुपैयाँ भुक्तानी दिइएको छ ।
मुलुक संघीयतामा गएसंगै यो सडक प्रदेश सरकार मातहत छ । तर, प्रदेश सरकारले यो मोटरमार्गलाई आवश्यक बजेट व्यवस्थापन गर्न नसकेको र राजनीतिक दलका नेताहरुले पनि यो मोटर मार्गलाई भाषणमा मात्र सिमित राखेको उपभोक्ता समितिका संस्थापन अध्यक्ष आले बताउँछन् । मार्ग प्रदेश अन्तरगत गएसंगै आर्थिक वर्ष ०७८/७९ मा प्रदेशबाट ४ करोड १३ लाख र संघबाट ६ करोड रुपैयाँ बजेट बिनियोजन भएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी इ. धनमाया मिश्रले बताइन् ।
मिश्रका अनुसार दमौलीदेखि सुडेसम्मको १० किलोमिटर कालोपत्रेका लागि गत जेठ ५ गते टेण्डरको सूचना आवहृान गरिएको छ । उनले भनिन्, ‘सडक कालोपत्रेका लागि बहुवर्षे ठेक्का लगाइएको हो, काम प्रक्रियमै छ ।’
आँवुखैरेनी गाउँपालिका खण्डको लाब्दी खोलामा पुल निर्माण कार्य थालिएको ८ वर्ष बितेको छ तर अहिलेसम्म पूर्णता पाउन सकेको छैन्। यस्तै, बुद्धसिंह मोटर मार्गलाई मुग्लिङ-नारायणगढ सडकसंग जोड्न घुमाउने घाटमा पक्की पुल निर्माण गर्नुपर्ने हुन्छ । करिव १५ वर्षदेखि पुल निर्माणका विषयमा चर्चा चलेतापनि अझै काम पुरा हुन सकेको छैन । घुमाउनेको पुलसंगै ढाँडखोला, बखरखोला र भूतखोलामा गरी अन्य ३ वटा खोलामा ठुला पुल निर्माण गर्नुपर्ने हुन्छ । पुल निर्माणका लागि डिपिआर तयार गरियतापनि निर्माण प्रक्रियामा भने गएको छैन ।
घुमाउने घाटमा पुल निर्माणका लागि आर्थिक वर्ष २०७० असार २८ गते हेटौंडास्थित मृत सञ्जीवनी कम्पनीसंग आर्थिक वर्ष २०७८ चैत्र ३० गतेसम्म पुल निर्माण सम्पन्न गर्ने गरी ९ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको सडक डिभिजन कार्यालय दमौलीका इन्जिनियार कल्याण खड्का बताए । उनले भने, ‘पुल सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने समय बितिसक्दापनि जम्मा ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।’
‘गत वर्षको बढिले निर्माणाधिन पुलमा असर पुग्यो साथै निर्माण कम्पनीले पुलको डिजाइन परिवर्तन गरिदिंदा पुल निर्माण सम्पन्न हुन सकेन’, उनले भने, ‘अहिले पुलनिर्माणको काम रोक्किएको छ ।’ हालसम्मा निर्माण कम्पनीलाई २ करोड ८३ लाख रुपैयाँ भुक्तानी दिइएको कार्यालयले जनाएको छ । कम्पनीले घुमाउनेमा १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइको पुल आधुनिक ‘आर्क’ डिजाइनमा बनाउने जिम्मा लिएको थियो ।










