भिमाद नगरपालिकाद्वारा अनुदानमा कृषकलाई आधुनिक कृषि औजार वितरण
भञ्ज्याङ समाचारदाता/भिमाद

तनहुँको भिमाद नगरपालिकाले अनुदानमा कृषकलाई आधुनिक कृषि औजार वितरण गरेको छ । नगरपालिकाले मंगलबार ५० प्रतिशत अनुदानमा कृषकलाई औजार वितरण गरेको हो ।
नगरपालिकाले ९ वटा वडाका कृषकलाई हाते ट्याक्टर, कम्बाईन मिल, ब्रस कटर, च्याप कटर, थ्रेसर, रोटा भेटर लगायतका कृषि औजार वितरण गरेको नगरपालिकाले जनाएको छ ।
५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत कृषक स्वयंको लागत सहभागितामा उक्त कृषि औजार वितरण गरिएको नगरप्रमुख मेखबहादुर थापाले जानकारी गराए ।
नगरप्रमुख थापाले कृषकहरुलाई कृषि यन्त्रहरू वितरण गर्दै नगरभित्रका फर्म दर्ता भएका कृषक, समुह लगायतलाई आधुनिक कृषि औजार वितरण गरिएको र यसको सही रुपमा उपयोगमा ल्याउन आग्रह गरे ।
नगरपालिकाले ५३ वटा कृषि यन्त्रहरू वितरण गरेको छ । जसमा ७ एचपीको हाते ट्याक्टर २० वटा, ९ एचपीको हाते ट्याक्टर ७ वटा, कम्बाइन मिल ६ वटा, ब्रस कटर २ वटा, च्याप कटर १५ वटा, रोटा भेटर २ वटा र एउटा थ्रेसर वितरण गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम कोरोनाका कारण वितरणमा ढिलाई भएको नगरपालिकाले जनाएको छ ।