भिमादका महिलाहरुले सञ्चालन गरे सरफ उद्योग

तनहुँको भिमाद नगरपालिका-६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भिमादको मातृशिशु कल्याण आमासमूहमा आबद्ध महिलाले ‘मातृशक्ति’ नामको सरफ उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गरेका हुन् ।
महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेसँगै आत्मनिर्भर तर्फ उन्मुख हुँदै गएको समूहका अध्यक्ष हरिमाया पौडेलले बताइन । रु २५ हजारका दरले लगानी गरेर उद्योग सञ्चालन गरिएको उनले बताइन् ।
“सुरुमा करिब रु २५ लाख लगानी भएको यस उद्योगमा नगरपालिकाले ७० प्रतिशत लगानी गरेको छ”, अध्यक्ष पौडेलले भनिन्, “३० प्रतिशत लगानी समूहका सदस्यले गरेका हौँ ।” विसं २०५३ मा स्थापना भएको उक्त समूहको कोषमा रहेको रकमसहित प्रतिव्यक्ति रु २५ हजार लगानी गरेसँगै नगरपालिकाले सरफसम्बन्धी तालिम दिएपछि उद्योग सञ्चालनमा ल्याइएको उनले बताइन् ।
उद्योगमा सात जनाले रोजगारी पाएका छन् । काठमाडौँबाट कच्चा पदार्थ ल्याएर मेसिनमा प्रशोधन र प्याकेजिङ गरी बिक्रीवितरण गर्दै आइएको समूहका सचिव सीता सुवेदीले बताइन् ।
आयआर्जन वृद्धि, रोजगारी सिर्जना र आयात घटाउने उद्देश्यले उद्योग सञ्चालन गरेका हौ”, उनले भनिन्, “भीमाद बजार र आसपासका क्षेत्रमा मागअनुसार सरफ उत्पादन गर्दै आएका छौँ । अहिले बजार पनि विस्तार गर्दै गएका छौँ । प्रतिकिलो रु दुइ सय र रु ३५० गरी दुइथरीका सरफ उत्पादन हुँदै आएको छ ।”
दुइ वर्ष अघिदेखि दर्ता प्रक्रिया अघि बढाइएकामा गत असोजदेखि सरफ उत्पादन थालिएको सचिव सुवेदीले जानकारी दिन । उनले भनिन्, “आधा किलोग्रामको प्याकेटमा पनि सरफ उत्पादन गर्ने योजना समूहको छ । घरायसी र व्यक्तिगत कामबाट बचेको समय उद्योगमा काम गर्ने व्यवस्था मिलाएका छौ।”
सबै मिलेर काम गर्ने र बचत भएको पैसा बाँडफाँट गर्ने गरिएको सचिव सुवेदीले बताइन् । स्थानीयस्तरमा उत्पादन हुन थालेपछि कपडा धुनका लागि आवश्यकपर्ने सरफ आयातमा कमी आएको उनको भनाइ छ । उत्पादित सरफलाई ‘मातृशक्ति’ नाममा ब्रान्डिङ गरिएको उनले बताइन् ।
भिमादका शालिकराम गहतराजले स्थानीयस्तरमा गुणस्तरीय सरफ उपलब्ध भएपछि बाहिरबाट किनेर ल्याउने प्रवृत्तिको अन्त्य भएको बताइन । उनका अनुसार राम्रो, गुणस्तर र अन्य कम्पनीको तुलनामा सस्तो मूल्य भएकाले अधिकांशले यही सरफ प्रयोग गर्दै आएका छन् । यहाँ उत्पादित सरफ स्थानीयस्तरमा बढी माग र खपत हुने गरेको बताइएको छ ।










