तनहुँ महोत्सवको तयारी तीब्र, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने तयारी

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा सञ्चालन गर्न लागेको आठौं तनहुँ महोत्सव २०७८ को तयारी तीब्र पारिएको छ । ‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ यही चैत्र १० देखि २० गतेसम्म सञ्चालन हुने महोत्सवको आवश्यक तयारीलाई तीब्र पारिएको हो ।

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई समिति सहआयोजनामा व्यास-३ बिपी बनबाटिकामा आयोजित महोत्सवस्थलमा स्टल निर्माण र बुकिङ कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । स्टेज र स्टल निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको र सोमबारबाट जिल्लाको प्रवेश नाका पूर्वतर्फको आँबुखैरेनी र पश्चिम तर्फको कोत्रे क्षेत्रमा स्वागत गेट निर्माण गर्न लागिएको महोत्सवका प्रवक्ता इम कुमार मल्लले बताए ।

‘महोत्वसमा थप रौनकता प्रदान गर्न रमाइलो मेलमा टिकटक पार्क समेत निर्माण गर्न लागिएको छ’, उनले भने, ‘दमौली बजार क्षेत्रलाई दुलेही झै सिगारपटार गरिनुको साथै ट्राफिक चोक (सफासडकको मुख्य चोक) प्रवेशद्वार निर्माण गर्ने, मुख्य सडक सफासडक लाइनमा रङरोगन गरी चिटिक्क र आर्कषण पारिएको छ ।’

यस्तै, पृथ्वीराजमार्ग तथा दमौली बजार क्षेत्रमा तुल ब्यानर टाँग्ने कार्यलाई पनि तीब्रता दिइएको संघका अध्यक्ष एवं महोत्सव मूल समारोह संयोजक पविन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार महोत्सवमा २१० वटा स्टल रहने छन् । महोत्सवमा घरेलु, हस्ताकला, कृषि सम्बन्धी निःशुल्क रुपमा उपलव्ध गराइने स्टलहरु बाँकी रहेको र व्यापारिक प्रयोजनका स्टलहरु बुक गर्ने कार्य अन्तिम चरणमा पुगेको उनलेब ताए ।

ऐतिहासिक, धार्मिक र साँस्कृतिक पर्यटकीयस्थलहरुको पहिचान गरी प्रबर्द्धन गर्ने उद्देश्य महोत्सवको रहेको आयोजकले दाबी गरेको छ । महोत्सव अवधिभर करिब तीन लाख दर्शकले महोत्सव अवलोकन गर्नुका साथै करिब छ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुन आयोजकको अनुमान छ । यस्तै महोत्सवबाट करिब २० लाख रुपैयाँसम्म वचत गर्ने आयोजकको लक्ष्य छ ।

महोत्सवबाट भएको मुनाफाबाट स्थायी प्रदर्शनी स्थल केन्द्र निर्माणका लागि आर्थिक सहयोग गर्नुका साथै स्थानीयस्तरमा उत्पादित कृषि, घरेलु, हस्तकला उत्पादनलाई बढ्वा दिदै लोपोन्मुख भाषाभाषी, कलासंस्कृतिको संरक्षणमा महोत्सवले थप टेवा पुग्ने बिश्वास लिइएको छ ।

महोत्सवस्थलमा लोपोन्मुख बन्दै गएका कौडा, बालन नाच, पाउदुरे, टाकटुके, लाखे नाचलाई प्राथामिकतामा राखिएको आयोजकले बताएको छ । महोत्सवमा हुने दोहोरी गीत प्रतियोगिताका प्रथमलाई २५ हजार, द्धितीयलाई १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ ।

यस्तै, आठौ तनहुँ महोत्सवको एक कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । महोत्सव उद्घाटन पश्चात प्रधानमन्त्री देउवा ऋषिङ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker