भानु नगरपालिकाको वार्षिक योजना तथा कार्यक्रम स्वीकृत

भानु : तनहुँको भानु नगरपालिकाको वार्षिक योजना तथा कार्यक्रम स्वीकृत गरेको छ । नगरपालिकाको १६औं अधिवेशनको तेस्रो बैठकले आर्थिक वर्ष २०८२/०८३ को लागि नगरपालिकाले ९२ करोड ४ लाख ३ हजर ७१५ रुपैयाँको वार्षिक योजना तथा कार्यक्रम स्वीकृत गरिएको भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।
नगरपालिकाले पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर बजेट स्वीकृत गरेको छ । पूर्वाधार तर्फ नगरस्तरीय क्रमागत ४ करोड ४३ लाख ८२ हजार ४४५ रुपैंया, वडागत तथा नगर उपप्रमुख कार्यक्रममा ७ करोड ७० लाख, शिक्षा, युवा तथा खेलकूद शाखाका लागि ३ करोड ३३ लाखको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।
स्वास्थ्य क्षेत्रका लागि ८५ लाख, सामाजिक बिकास शाखाको लागि ५० लाख, पशुपंक्षी तथा मत्स्य विकास शाखाको लागि ४५ लाख, कृषि शाखाको लागि ३० लाख, न्यायीक शाखाको लागि १८ लाख ४ हजार रुपैयाँको बजेट तथा कार्यक्रम स्वीकृत गरेको उप– प्रमुख उमा गोतामेले बताइन् ।
गतअसार ५ गते शुरू भएको १६औं नगर सभाको तेस्रो बैठक मंगलबार भानु नगर प्रमुख आनन्द राज त्रिपाठीको अध्यक्षतामा फुस्रेटारमा सम्पन्न गरिएको हो । वडाका चालु र पूँजीगत योजनाहरु, विषयगत शाखाको बजेटहरु प्रस्तुत भएको छ भने स्वास्थ्यमा वीमा कार्यक्रम शिक्षामा विद्यालयमा स्वयंसेवक शिक्षक परिचालन कार्यक्रम, स्थानीय पाठ्यक्रम (हाम्रो भानु) पुस्तक, शैक्षिक प्रदर्शनी, कक्षा ६ का विद्यार्थीलाई रु २० का दरले दिवा खाजा कार्यक्रम, एमबिबिएस प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कृषि तर्फ भूमि बैंक कार्यक्रम एवं न्यायिक शाखाको इजलास स्थापन एवं कृषिमा गण्डकी प्रदेश सरकारसंग कृषि नव प्रवद्र्धक कार्यक्रम अन्तर्गत नगरपालिकाले आगामी आर्थिक वर्षमा गुन्द्रुक, तोरी र निबुवाको पकेट क्षेत्र, उत्पादन तथा ब्राडिंगको कार्यक्रमका साथ आगामी आर्थिक वर्षमा कृषि एम्बुलेन्सको खरीद गरी भानुमा उत्पादन भएको कृषि उपजलाई संकलन तथा बजारीकरणको व्यवस्थापनको लागि नगरपालिकाले आ.व. ०८२/०८३ को बजेटमा समावेश गरिएको छ ।
त्यसैगरी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को असार३१ सम्ममा २ करोड २७ लाख १० हजार ४४१ रुपैयाँ राजश्व संकलन गरिएको वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डेले बताए । नगरपालिकाका नागरिकको आवश्यकताको आधारमा साथै नगरबासीको स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालन, धार्मिक, साँस्कृतिक, पर्यटन लगायतका क्षेत्रलाई समेत महत्त्व दिएर बजेट विनियोजन गरिएको नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।
नगरपालिकाको वडा नं. २ को केन्द्र नारेश्वरटारमा कायम गर्ने, वडा नं. १ र ५ को विषयमा छिट्टै सहमति हुने र नगरपालिकाको केन्द्रको टुँगो पनि छिटोभन्दा छिटो टुङ्याउने गरी छलफललाई तीब्र पारिएको उनले जानकारी गराए ।
यसैबीच नगरपालिकाका ४ जना कर्मचारी सम्मानित भएका छन् । नगरपालिकाका गतिविधिमा उत्कृष्ट कार्य गरे वापत उनीहरु सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा शिक्षा, युवा तथा खेलकूद शाखाकी सरस्वती गुरुङ ढकाल, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक शुभाष रेग्मी, वडा नं ११ का वडा सचिव मदन घर्ती र सवारी चालक सुशील सार्की रहेका छन् ।
उनिहरुलाई १६औं नगरसभाको तेस्रो बैठकमा सम्मानित गरिएको नगरपालिकाले जनाएको छ । सुशासन समितिले विविध मापदण्ड एवं छनौट प्रणालीको विधि बामोजिम नगरपालिकाका उत्कृष्ट ४ कर्मचारीलाई सम्मान गर्न सिफारिस गरिएको समितिका अध्यक्ष एवं भानु ७ का वडा अध्यक्ष खुमबहादुर श्रेष्ठले बताए।










