नेकपा (एकिकृत समाजवादी) तनहुँको अध्यक्षमा शंकरनारायण, १० वटै पालिकाका अध्यक्ष पनि चयन
भञ्ज्याङ न्यूज

नेकपा (एकिकृत समाजवादी) तनहुँले शंकरनारायण श्रेष्ठको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको छ । नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा (एकिकृत समाजवादी)को शुक्रबार दमौलीमा सम्पन्न भेलाले साविक एमाले समानान्तर जिल्ला अध्यक्ष श्रेष्ठको अध्यक्षतामा जिल्ला कमिटीलाई रुपान्तर गरेको हो ।
कमिटीको सचिवमा श्रीराम कार्की चयन भएका छन् । तत्कालीन एमालेको व्यास नगर र जिल्लाकै संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका श्रेष्ठलाई एमालेमै फर्काउन प्रयास गरिएको बुझिएको छ ।

पार्टी केन्द्रीय सदस्य चुडामणि जंगली र प्रतापलाल श्रेष्ठको उपस्थितिमा आयोजित भेलाले यस अघि समानान्तर गठित जिल्ला, भ्रातृ संगठन तथा सबै एकाइलाई पार्टी कमिटीमा रुपान्तरण गरेको सचिव कार्कीले जानकारी गराएका छन् ।
सबै तहमा कमिटी
पार्टीको व्यास नगर कमिटीको अध्यक्षमा मंगलप्रसाद श्रेष्ठ, भानु नगर कमिटीको अध्यक्षमा ऋषि पन्थ, भिमाद ननगर कमिटीको अध्यक्षमा काजिमान श्रेष्ठ तथा शुक्लागण्डकी नगर कमिटीको अध्यक्षमा दुर्गाकुमार श्रेष्ठलाई चयन गरिएको छ ।
यस्तै, ऋषिङ गाउँ कमिटीको अध्यक्षमा भुपाल आले, घिरिङ गाउँ कमिटीको अध्यक्षमा दिपक खाती, देवघाट गाउँ कमिटीको अध्यक्ष जगन्नाथ श्रेष्ठ, म्याग्दे गाउँ कमिटीको अध्यक्षमा विष्णु श्रेष्ठ, आँबुखैरेनी गाउँ कमिटीको अध्यक्षमा मुकुन्द अधिकारी चयन भएको बताइएको छ ।











