“व्यास जन्मभूमिलाई धार्मिक पर्यटकीय केन्द्र बनाइने”
भञ्ज्याङ न्यूज

तनहुँमा व्यास अवतरण दिवस एवं गुरुपुर्णिमा-२०८० मनाइएको छ । व्यास क्षेत्र शिव पाञ्चायन विकास कोष तथा व्यास नगरपालिकाको संयुक्त आयोजनामा सोमबार विहान दमौलीमा एक कार्यक्रम गरी व्यास र गुरुको महिमाको चर्चा गरी मनाइएको छ ।
चार वेद, अठ्ठार पुराण, महाभारत उपनिषद तथा ब्रहृमसुत्र आदि महान ग्रन्थहरुको रचना गर्नुहुने भगवान वेद-व्यासको अवतरण दिवस तथा गुरुपुणिर्माको अवसरमा आयोजित सो कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाका सांसद अशोककुमार श्रेष्ठले व्यास जन्मभुमिको यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक प्रचार प्रसारमा ध्यान दिनु पर्ने बताए ।
दमौलीमा धार्मिक पर्यटनको विकास गर्न सके यस क्षेत्रको आर्थिक विकास हुने बताउँदै उनले दमौलीमा निर्माण भईरहेको महर्षि वेद व्यासको १०८ फिटको अग्लो मुर्तीको निर्माणमा गण्डकी प्रदेश सरकारको तर्फाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।
‘वेदव्यासले महाभारत, चार वेद र अठार पुराणको रचना गरेको दावी र विभिन्न स्रोतले प्रमाणित गरे पनि व्यासभूमिको उचित प्रसारप्रसार हुन सकेको छैन’, प्रदेश सभा सदस्य श्रेष्ठले भने, ‘व्यास जन्मिएको, पराशरले तपस्या गरेको ठाउँ आज संसारभर प्रख्यात हुनुपथ्र्यो जति प्रचारप्रसार हुनुपर्ने हो त्यति हुन सकेन ।’
व्यासको मूर्ति निर्माण लगायत अन्य पूर्वाधार निर्माणको लागि पाँच करोड बजेट माग गरेको भएपनि त्यसको महत्व नबुझेकाले गण्डकी प्रदेश सरकारबाट १० लाख रुपैयाँ मात्रै विनियोजन भएको सांसद श्रेष्ठले बताए । व्यासको अध्यता काशीनाथ न्यौपानेलाई लिएर गएर मुख्यमन्त्री लगायतलाई व्यासको बारेमा जानकारी गराउने सोच रहेको श्रेष्ठले बताए ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले व्यासको १०८ फिट अग्लो मूर्ति निर्माणले व्यासप्रति चासो बढ्ने र प्रचारप्रसारमा टेवा पुग्ने हुँदा काम छिटो सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।
काठमाडौंबाट १५० र पोखराबाट ५० किलोमिटर दूरीमा रहेको दमौलीमा पृथ्वी राजमार्ग भएर दैनिक हजारौं आन्तरिक तथा वाहृय पर्यटक आवातजावत गर्ने भएपनि व्यास भूमिमा पर्यटकलाई आकर्षित गराउन व्यासको १०८ फिटको मूर्ति निर्माणको लागि नगरपालिकाले प्राथमिकतामा राखेको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले बताए ।
सात करोड लागतमा संघीय सरकारको ६५ प्रतिशत र व्यास नगपालिकोको ३५ प्रतिशत गरी सात करोडको लागतमा मूर्ति निर्माण कार्य अघि बढेको भएपनि संघीय सरकारले रकम समयमा नै निकासी नगर्दा समस्या देखिएको नगरप्रमुख न्यौपानेले बताए ।
विभिन्न शास्त्रीय प्रमाणले व्यासको जन्मभूमि दमौलीमा भएको स्वीकार गरिसके पनि प्रचारप्रसारको अभावमा यस क्षेत्रमा ओझेलमा परेको व्यासका अध्येता काशीनाथ न्यौपानेले बताए ।
योगी नरहरिनाथले वेदव्यासको अवतरण भूमि दमौलीस्थित शुक्ला माहेन्द्री संगम भएको उल्लेख गरेको र अन्य शास्त्रहरुमा पनि दमौलीमा जन्मभएको उल्लेख गरिएकोले प्रचारप्रसार गर्नुपर्ने न्यौपानेले बताए । उनले भने, ‘व्यासको बारेमा लेखिएको पुस्तकलाई व्यास नगरपालिकाले स्थानीय पाठ्यक्रममा समावेशन गरेपनि कार्यान्वयनमा नआएकोले कार्यान्वयनमा ल्याएर नयाँ पुस्तालाई यसको महत्वको बारेमा ज्ञान दिनुपर्ने आवश्यक छ ।’
व्यास भूमि पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण छ तर यो कुराको प्रचार प्रसार नहुँदा ओझेलमा परेको गुनासो उनले गरे ।
व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषका संरक्षक दामोदर बाबाले व्यास यही जन्मिएकोले विश्वका वैदिक सनातन धर्मप्रेमी र ओमकार परिवारको मुख्य तीर्थस्थलको रुपमा विकास गर्न सकिएपनि त्यसतर्फध्यान नजाँदा प्रचारप्रसारको कमीले ओझेलमा परेकोमा चिन्ता व्यक्त गरे । उनका अनुसार भारत लगायत अन्य मुलुकबाट समेत पर्यटक व्यासभूमि अवलोकनका लागि आउने गरेका छन् ।
उत्तरतिर बगेको सेती नदी र मादी नदीको संगम दमौलीलाई विभिन्न शास्त्रीय प्रमाणले व्यासको जन्मभूमि दमौलीमा भएको स्वीकार गरेकोले यसको महत्वको बारेमा व्यापकता दिनुपर्नेमा उलने जोड दिए ।
व्यास क्षेत्र शिवपाञ्चायन कोषका कार्यबाहक अध्यक्ष प्रेमप्रकाश भट्टराइले व्यासले पुराण र उपपुराणका माध्यमबाट सारमा अरुको उपकार गरे धर्म हुन्छ एवं अरुलाई पीडा दिए पाप लाग्छ भन्दै मानवतावादी सन्देश दिनुभएकोले यसको प्रचार गर्नु जरुरी रहेको बताए । कोषका सचिव विष्णभक्त सिग्देलले व्यासको महिमाको प्रचारप्रसार गर्न विभिन्न धार्मिक सम्मेलन गरे सहज हुने विश्वास व्यक्त गरे ।
व्यासको जन्म बारेको प्रसंगमा दमौलीदेखि ८ किमि पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टकिो कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको मानिन्छ । माछाको रूपबाट जन्म भएकाले त्यस कुण्डको नाम मच्छेकुण्ड रहेको बताइन्छ ।
योगी नरहरिनाथले ‘आध्यात्मिक नेपाल एवं हिमालय देवोदेश’मा पाँच नदी सेती, मादी, बुल्दी, गुणादी र र छाब्दीको सङ्गमलाई व्यासको जन्मभूमि, कर्मभूमि र तपोभूमि, स्वामी प्रपन्नाचार्यले ‘मिल्केका झिल्का’मा दमौली क्षेत्रलाई र कुमारबहादुर जोशीले आफूले अन्तर्वार्ताका क्रममा मादी र सेतीको सङ्गम नै व्यास -कृष्ण द्वैपायन)को जन्मस्थल भएको पाएको उल्लेख गरेका छन् ।
व्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्वेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नु भएको थियो । आषाढ शुक्ल पूणिर्माकै दिन वेद व्यास जन्मिएकाले यसैदिन व्यास जयन्ती मनाउने गरिएको हो ।
व्यास जयन्ती मनाउनको लागि व्यास नगरपालिकाले सोमबार सार्वजानिक विदा दिएको थियो । जयन्तीको अवसरमा नगरपालिकाले नगरपालिकाको हाताभित्र रहेको व्यास मूर्तिमा माल्यार्पण गरी व्यास जयन्ती मनाइएको छ ।