बजारमा पानीको समस्य : रु. २६ करोड १५ लाखको लागतमा व्यास-१ मा लिफ्ट प्रविधिको खानेपानी आयोजना

भञ्ज्याङ समाचारदाता/दमौली

बढ्दो सहरीकरणका कारण तनहुँको व्यास नगरपालिका वडा नं. १, २, ३, ४ लगायतका क्षेत्रमा बस्ति बाँक्लिदै गएका छन् । जनघनत्व बढेसंगै परम्परागत पानीका श्रोतहरु नासिदै गएका छन् । खानेपानीका श्रोतहरु संरक्षण नहुँदा अहिले सहरबजार क्षेत्रमा खानेपानीको समस्य चर्को बन्दै गएको छ । स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात लगायतका आधारभुत सेवा सुविधाको खोजीमा सहर झरेकी विबालाई अझैपनि खानेपानी लिन कुँवामै जानुपर्ने बाँध्यता छ । तनहुँको ऋषिङ गाउँपालिका-१ काँहुकी विबा गैरे २०७२ सालमा बर्साई सरेर व्यास-१ रतौलीमा आएकी छन् ।

गाउँमा बस्दा आधारभूत सेवासुविधा सहज रुपमा उपभोग गर्न नपाउदा निकै कष्टपूर्ण दैनिकी गुजारेको सुनाउने विबालाई सहर झरेपछि सबै कुरा सहजै उपभोग गर्न पाइन्छ भन्ने लागेको थियो । तर, बजारमा पनि सहजै खानेपानी उपभोग गर्न नपाएको उनको गुनासो छ । ‘आधारभूत सेवाको खोजीमा श्रीमान् र छोरासंगै रतौलीमा आएर बसे’, उनले भनिन्, ‘अरु सेवाहरु सहजै छ तर खानेपानीको समस्य भने यहाँपनि उस्तै रहेछ ।’

घरमै धारा जोडिएपनि खानेपानी लिन घरबाट करिव १० मिनेटको बाटो हिडेर कुँवामा जानुपर्ने उनी बताउँछिन् । ‘हिउँदमा त घरमै पानी आउछ तैपनी अन्य कामका लागि नपुगेर खोलाबाट ल्याउनुपर्छ’, विबाले भनिन्, ‘बर्खामा एकदिन बिरै दुइदिन बिरै पानी आउँछ खानेपानी पुर्‍याउन पनि सकस छ ।’

यस्तै, ५० वर्षीय विष्णु श्रेष्ठ आफ्नो श्रीमान् र सासुसंग लामो समयदेखि व्यास-१ चारकुनेमा बस्दै आएकी छिन् । भादगाउँ खानेपानीद्वारा घरमै धारा जोडे पनि हिउँदको समयमा पानी लिन नजिकैको धारामा धाउनुपर्ने बाध्यता सुनाउँछिन् । ‘तीन जनाको परिवार भएपनि घरको धारामा आउने पानीले पुग्दैन’, उनले भनिन्, ‘घर नजिकै धारा छ भनेर पनि के गर्नु घुँडा दुखेर पानी लिन जानै सकिदैन ।’

‘२०४४ सालमा म यहाँ आउँदा धारोमा पनि कति ठुलो पानी आउथ्यो, ठाउँठाउँमा कुँवा तथा धारा पधेराहरु थिए’, उनले भनिन्, ‘पहिले कुँवा तथा धारा भएका स्थानमा घरहरु धमाधम बन्न थाले । बचेका केही धारा तथा कुँवामा पहिलेको जस्तो पानी छैन ।’

यस्तै, व्यास नगरपालिकाको वडा नम्बर १ क्षेत्रमा बसाइ सरी आउनेका कारण कंक्रिटका घर बाक्लिदै गएका छन् । जनघनत्व बढ्दै जादा खानेपानी बितरणमा पनि समस्य आउने गरेकोे भादगाउँ -करादी) खिरखाँदी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चिजबहादुर दरै बताउँछन् ।

करिव ४ हजार ५ सय घरधुरी रहेको वडाका २ हजार ५५३ घरधुरीलाई समितिले धारा उपलब्ध गराएको छ । उनले भने, ‘वडा नम्बर १ मा मात्रै नभई वडा नम्बर १२ का केही घरधुरीलाई समेत समितिले पानी दिंदै आएको छ ।’

समितिले छाब्दी मुहान, छाब्दी खोलाबाट दुइ वटा लिफ्टिङ र खिरखाँदी गरी ३ वटा मुहानको पानी संकलन गरी वडा क्षेत्रमा खानेपानी बितरण गरेको छ । खिरखाँदीको मुहानबाट ९ लिटर, छाब्दी मुहानबाट ३ लिटर, छाब्दीखोलाको पहिलो लिफ्टिङबाट ४ र दोश्रो लिफ्टिङ्गबाट ५ लिटर गरी प्रति सेकेण्ड २१ लिटर पानी संकलन गरी वितरण गरिए पनि पानीको माग पुरा गर्न नसकिएका समितिका अध्यक्ष दरै बताउँछन् । उनले भने, ‘तीनवटा मुहानबाट संकलन गरिएको पानी उपभोक्तालाई पुर्‍याउन सकस छ त्यहीमाथी बर्षको समयमा आउने बाढीपहिरोका कारण खानेपानीको पाइपमा क्षति पुग्ने हुँदा समस्य झेल्नु परेको छ ।’

केही दिन अघि परेको झरीले व्यास-१३ स्थित धारापानी नजिक डाँडो नै खसेर खानेपानीको पाइप बगाएपछि बन्द भएको पानी आपूर्ति २० दिनपछि सोमबारबाट सञ्चालनमा ल्याइएको उनले बताए । उनले भने, ‘पहिराले खानेपानीको पाइप बगाएर सेतीनदी किनारसम्म पुराएको छ । डोजरले पनि पल्टाउन नसक्ने किसिमका ठुला ठुला ढुङ्गा थुप्रिएका छन् । यो हटाउन २/३ महिनै लाग्ने अवस्था छ । समितिले पहिरो माथीबाट पाइप जडान गरी अहिलेलाई खानेपानी सुचारु गरेको छ ।’ करिव १४ किलोमिटर दुरीबाट ल्याइएको खानेपानीको पाइपमा बाढी र पहिरोले ठुलो क्षति पुर्‍याउने गरेको समितिका व्यवस्थापक इश्वर श्रेष्ठले बताए । उनले भने, ‘यो वर्ष मात्रै खिरखाँदी खानेपानीलाई असर गर्ने गरी ४ चोटी पहिरो गयो ।’

२०७७ साउनमा निउरोघारीमा गएको पहिरो व्यवस्थापनका लागि २ लाख, खिरखाँदीमा गएको पहिरो पन्छाउन १ लाख ५० हजार र गत जेठमा गएको पहिरो हटाउन एक लाख रुपैयाँ खर्चा भैरसकेको उनले बताए । उनले भने, ‘पहिरोले पानीको पाइप बगाएर सेती नदिमा पुर्‍याएको कारण खर्चा बढि भएको छ ।’

२०५६ सालबाट सञ्चालनमा आएको खिरखाँदी खानेपानी आयोजनाको नयाँ प्लान्ट २०७२ सालमा बनाइएको हो । करिव १ हजार ५ सय घरधुरीलाई पानी उपलब्ध गराउने उद्देश्यले ९ करोड रुपैयाँको लगानीमा खिरखाँदी खानेपानी आयोजना सञ्चालनमा ल्याइएको थियो । बस्ति बाक्लिएसंगै उपभोक्तालाई पर्याप्त मात्रमा पानी उपलब्ध गराउन नसकिएको र वर्षातको समयमा बाढी पहिरोले गर्दा नियमित पानी बितरणमा समस्य झेल्दै आउनुपरेको श्रेष्ठले बताए ।

बर्षेनी बाढी पहिराले खानेपानीमा क्षति पुर्‍याउन थालेपछि समितिले मादीनदीबाट लिफ्ट प्रविधिबाट पानी तानेर उपभोक्ताको माग पुरा गर्ने तयारी गरेको छ । नेपाल सरकारको ७० प्रतिशत र स्थानीयको ३० प्रतिशत लागत सहभागिता रहने गरी करिव २६ करोड १५ लाख रुपैयाँको लागतमा आयोजना निर्माण गर्न यहि भदौं १७ गते सम्झौता भएको समितिका सचिव राजेश्वर हड्खलेले बताए। उनले भने, ‘भादगाउँबाट करिव ३ किलोमिटर दुरीमा रहेको व्यास-४ स्थित मादी खोलाबाट पानी ल्याउन लागिएको हो । २ वर्षमा आयोजना सम्पन्न गर्ने गरी सम्झौता गरेका छौं ।’

‘दीर्घकालिन योजना सहित करिव ३० वर्षसम्मका लागि मध्यनजर गर्दै खानेपानीको विकल्प खोजिएको हो’ उनले भने, ‘यो आयोजना सम्पन्न भएपछि यस क्षेत्रका ५ हजार घरघुरीमा प्रयाप्त पानी वितरण गर्न सकिन्छ । मादी लिफ्टिङबाट प्रति सेकेण्ड २६ लिटर पानी संकलन हुने हाम्रो अनुमान छ ।’ यस्तै, वडा-१ क्षेत्रभित्र रहेका प्राकृतिक मुहान संरक्षणमा वडा कार्यालय लागि परेको छ । प्राकृतिक मुहान संरक्षण तथा खानेपानी व्यवस्थापनका लागि भनेर वडाले करिव ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको वडाध्यक्ष खरसिं दरैले बताए । उनले भने, ‘वडाभित्र करिव २३ वटा प्राकृतिक पानीका मुहानहरु छन् । स्थानीयको सहभागितामा यसको मर्मतसम्भार, तारबार तथा संरक्षरणमा लागि परेका छौं ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker