तनहुँको दमौली स्थित आदिकवि भानुभक्तले दुइ सय विद्यार्थीलाई छात्रवृत्ति दिने
भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले यस वर्ष दुइ सय जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई क्याम्पसले छात्रवृत्ति प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको छ । क्याम्पसमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीको क्याम्पसले अन्तरवार्ता शुरु गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए । अन्तर्वार्तामा कक्षा ११ का १७५ र कक्षा १२ का ९५ विद्यार्थी सहभागी भएका छन् ।
क्याम्पसले हरेक वर्ष कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि करीब पाँच लाख रुपैयाँ खर्चिने गरेको छ । कक्षा ११ र १२ मा यसवर्ष करीब आठ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् । दाताबाट स्थापना भएको अक्षय छात्रवृत्ति कोषबाट प्राप्त ब्याज रकम क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले भुक्तान गरेको नियमित मासिक शुल्कको पाँच प्रतिशत रकम र क्याम्पसको रकम छात्रवृतिमा वितरण गरिने क्याम्पस प्रमुख हड्खलेले बताए ।
छात्रवृत्ति अन्तर्वार्ताबाट छनौट भएका विद्यार्थीहरुलाई छात्रवृत्ति छनौट तथा सिफारिस समितिको सिफारिसमा क्याम्पस संचालक समितिको निर्णयपछि छात्रवृत्ति वितरण गर्ने गरिन्छ । क्याम्पसको छात्रवृत्ति वितरण निर्देशिका र नियम अनुसार छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीहरूले पहिलो आन्तरिक परीक्षा उत्तीर्ण गर्नुपर्ने बताइएको छ ।
जेहेन्दार विद्यार्थीहरुले छात्रवृत्ति पाउन भन्ने उद्देश्यले छात्रवृत्ति आवेदनका लागि पहिलो आन्तरिक परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था क्याम्पस छात्रवृत्ति वितरण निर्देशिकामा उल्लेख भएको छ । क्याम्पसले आन्तरिक परीक्षा उत्तीर्ण भएका र छात्रवृत्ति आवेदन फर्म भरेका विद्यार्थीहरुमध्ये विपन्न, अपाङ्ग, सहिद तथा बेपत्ता परिवार दलित, जनजाति आदिवासी र पिछडिएको वर्गका विद्यार्थीहरुलाई प्रथामिकतामा राखेर छात्रवृत्ति वितरण गर्दै आएको छ ।
यस्तै, यसवर्ष कक्षा ११ र १२ मा अध्ययन गर्दै गरेका करिब ३० जना विद्यार्थीहरुलाई व्यास नगरपालिकाले छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । त्यसैगरी कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुले क्याम्पसका बिद्यार्थीहरुले विश्वविद्यालय अनुदान आयोग अन्तर्गत विद्यार्थी साहायता कोष र भारतीय राजदुतावासबाट प्रदान गरिने छात्रवृत्ति पनि पाउने गरेका छन् । एसइइ परीक्षामा माथिल्लो स्तरको अंक ल्याएका जेहेन्दार विद्यार्थीहरुले क्याम्पसबाट भर्ना शुल्कमा छुट सुविधा पनि प्राप्त गर्दै आएको क्याम्पसले जनाएको छ ।










