मृत अवस्थामा चितुवा भेटियो
भञ्ज्याङ न्यूज
तनहुँमा मृत चितुवा भेटिएको छ । म्याग्दे गाउँपालिका-२ माथिल्लो गुणादीको सडक छेउ नालीमा मृत अवस्थामा चितुवा फेला परेको सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले बताए ।
करिब १०-१२ वर्षउमेर समुहको वयस्क चितुवा सडकको नालीमा मृत अवस्थामा भेटिएको उनले बताए । मृत भेटिएको चितुवाको हड्डी, छाला र दाह्रा सकुशल रहेकाले चोरी, सिकारीका लागि मारिएको होइन भन्ने अनुमान हामीले गरेको उनले बताए ।
वनको टोली गएर चितुवा डिभिजन वन कार्यालय दमौली ल्याएर कार्यालय परिसरमा गाडिएको प्रमुख रानाभाटले बताए ।
‘मरेको २-३ दिन भएको जस्तो देखिन्छ, गन्ध आउन थालेको रहेछ’, उनले भने, ‘के-कसरी चितुवा मर्यो भन्ने विषय नखुलेको र थप अनुसन्धान भइरहेको छ । घटनास्थल पृथ्वी राजमार्ग नजिक भएको हुँदा सवारीसाधनसंग ठोक्किएर चितुवाको मृत्यु भएको हो कि भन्ने हामीले अनुमान गरेका छौं ।’










