आँवुखैरेनीको रामशाह मावि प्रथम हुन सफल

आँवुखैरेनी : “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित आँबुखैरेनी गाउँपालिकाद्वारा आयोजित सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आइतबार सम्पन्न भएको छ । तीन दिनसम्म चलेको प्रतियोगिता आँबुखैरेनी–२, मार्कीचोकस्थित रंगशाला तथा रामशाह माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न भएको थियो ।
गाउँपालिका अन्तर्गतका पाँच सामुदायिक र पाँच संस्थागत गरी १० विद्यालयको सहभागिता रहेको प्रतियोगितामा २८ विभिन्न एथलेटिक्स तथा भलिबलका विधामा प्रतिस्पर्धा गरिएको गाउँपालिकाकी शिक्षा शाखा प्रमुख निर्मला कुवाँरले जानकारी गराइन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै रामशाह माध्यमिक विद्यालयले १७ स्वर्ण, ६ रजत र २ कास्य सहित कुल २५ पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गर्न सफल भयो ।
त्यसैगरी मित्रता माध्यमिक विद्यालयले ५ स्वर्ण, १० रजत र ८ कास्य सहित द्वितीय स्थान हात पारेको छ भने फ्यूचर स्टार सेकेण्डरी बोर्डिङ स्कूलले ४ स्वर्ण, ५ रजत र ५ कास्य सहित तृतीय स्थान हात पारेको छ ।
प्रतियोगिता समापन समारोहमा गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, रेफ्री तथा प्रशिक्षक, स्वास्थ्यकर्मी, कर्मचारी, विद्यालयका प्रधानाध्यापक तथा खेल शिक्षकलगायत सबैप्रति आयोजक पक्षले धन्यवाद व्यक्त गरेको छ ।
प्रतियोगितामा सक्रिय सहभागिता जनाई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई बधाई दिँदै आयोजकले आगामी दिनमा अझै राम्रो खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरेको छ ।










