विविध कार्यक्रम गरी आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती मनाइयो

भञ्ज्याङ समाचारदाता/भानु

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती बुधबार विविध कार्यक्रम गरी मनाइएको छ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएपछि उनले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको बताइन्छ ।

‘बधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झयालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए ‘भोलिभोलि भन्दैमा सव घर बितिगो बक्सियोस् आज झोली’ । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।

घरघरमा भानुभक्तले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाइन्छ । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाएका छन् ।

यस्तै, आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले चुँदीरम्घामा २०९औं भानु जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक धामको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

पूर्वमन्त्री श्रेष्ठले नेपाली भाषाको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको बताउँदै चुँदीरम्घालाई साहित्यिक धाम बनाएर पर्यटक आकषिर्त गर्नुपर्ने उल्लेख गरे । भानु जन्मस्थल विकास समितिलाई कहिले स्थानीय सरकार मातहत राख्ने र कहिले नेतृत्वविहिन हुँदा काममा ढिलाई भएको बताए ।

उनले भने, ‘समितिलाई अहिले पुनः संघीय सरकार मातहत ल्याउन सकिएको छ, अब यसको विकासका लागि ढिलाई नगरौं । सबै एकजुट भएर लागौ ।’ तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्वमन्त्री श्रेष्ठले भानुको नाममा संस्था खोलेर मात्र नहुने भन्दै अब काम गर्नुपर्ने बेला आएको बताए । उनले भने, ‘भानुका नाममा संस्था खोलेर मात्र हुँदैन, काम चाहिएको छ, संस्था खोलेर मात्र भानु जन्मस्थलको विकास हुँदैन ।’

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भानु जन्मस्थलको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष ऋषिराम पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य प्रतापलाल श्रेष्ठ लगायतले भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा पुर्‍याएको योग्दानको चर्चा गरेका थिए ।

यस्तै, भानु जयन्तीका अवसरमा आयोजित राष्ट्रिय स्तरको कविता प्रतियोगिताका विजेतालाई सोही अवसरमा पुरस्कार प्रदान गरिएको छ। प्रतियोगितामा रामेछापका विक्रमपवन परियार प्रथम भएका थिए । त्यस्तै पर्वतका तारानाथ पराजुली द्वितीय, पर्वतकै लक्ष्मीदेव गौडेल तृतीय, अछामका मिनप्रसाद पाण्डे र मोरङका केशव भण्डारी सान्त्वना भएका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु दश हजार र सान्त्वना हुने दुइ जनालाई जनही रु पाँच हजार प्रदान गरिएको समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker