कलचोक स्वास्थ्य केन्द्रको भवन उद्घाट : स्वास्थ्य नागरिकको मौलिक हक हो – पूर्वमन्त्री चुमान
डीपी अधिकारी/भञ्ज्याङ

नेकपा माओवादी केन्द्रका नेता एवं गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमानले स्वास्थ्य सम्बन्धी हक मौलिक हक भएकाले हरेक नागरिकले राज्यले व्यवस्था गरे अनुसारको स्वास्थ्य सेवा पाउनुपर्नेमा जोड दिएका छन् ।
बन्दिपुर गाउँपालिका-५ को कलचोक आधारभुत स्वास्थ्य केन्द्रको नवनिर्मित भवन शुक्रबार उद्घाटन गर्दै उनले हरेक नागरिकलाई सरकारले ७५ प्रतिशत वीमा बापतको रकम उपलब्ध गराइ सबै नागरिकलाई स्वास्थ्य वीमा गर्ने योजना प्रदेश सरकारले अघि बढाएको बताए ।
पूर्वमन्त्री चुमानले बन्दिपुर र आँबुखैरेनीबाट छिम्केश्वरी डाँडामा सडक सञ्जाल जोडेर त्यसक्षेत्रको मुहार चम्क्याउने गरी ५४ करोड रुपैयाँ बजेट बिनियोजन गरेको बताए । आफु प्रदेश मन्त्री हुँदा आफनो पहलमा बजेट बिनियोजनमा प्राथामिकता दिएपनि केही साँसदले आफुले बजेट पारिदिएको भन्दै उदुम मच्चाएको बताउँदै उनले भने, ‘छिम्केश्वरी जोड्न हाल भाँगेसम्म सडक कालोपत्रे भएको र अझै एक बर्षसमयअवधि भएकाले छिम्केश्वरीलाई मनकामना जस्तो धार्मिक पर्यटकीयस्थल बनाउने योजना बनाएको छु ।’

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले गाउँपालिकाले आफ्ना मातहतमा रहेको वडा कार्यालय तथा आधारभूत स्वास्थ्य केन्द्रको आफ्नै भवन निर्माण गरेर भाडामुक्त बनाउन सफल भएको सुनाए । गाउँपालिकाले आवश्यक भौतिक संरचना निर्माणसंगै विकास निर्माणलाई पनि प्राथामिकतामा राखेर काम गर्दै अघि बढेको अध्यक्ष थापाले बताए ।
वडाध्यक्ष धु्रब प्रसाद लामिछानेको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी, नेपाली कांग्रेसकी नेतृ रीता तिवारी, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य जीवन कायस्थ, नेकपा एमाले बन्दिपुर ५ का वडा इन्चार्ज काशीनाथ भट्टराइ लगायतका वक्ताहरुले स्वास्थ्य केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गरी सहज रुपमा नागरिकलाई स्वास्थ्य सेवा दिन आग्रह गरेका थिए ।

यस्तै, उक्त स्वास्थ्य केन्द्रको नवनिर्मित भवन निर्माणका लागि स्थानीय सात जनाले करिब सात रोपनी जग्गादान गरेका थिए । सो अवसरमा जग्गादातालाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको छ । स्वास्थ्य केन्द्रलाई दममाया थापा, आइपीमाया मगर, दिनेश थापा, पूर्णबहादुर पुलामी, बृहस्पति बिक, कृष्ण बहादुर बिक र सावित्री बिकले जग्गा उपलब्ध गराएका हुन् ।
संघीय सरकारको सहयोगमा बन्दिपुर गाउँपालिका मार्फ विनियोजित ३५ लाख रुपैयाँको लागतमा उक्त स्वास्थ्य भवन निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी गराए ।










