भित्रयाउने बेलाको वर्षाले धान उत्पादनमा कमी

रासस/ढोरपाटन

समयमै वर्षा हुँदा बागलुङका किसानले असार र साउन महिनामै रोपाइँ गरे । रोपाइँपछि पनि नियमित वर्षात् हुँदा खेतमा लगाएको धान सप्रियो, किसान खुसी भए । जब धान पाक्यो र भित्रयाउने बेला भयो तब बेमौसमी वर्षा भयो । लगातारको वर्षाले भित्रयाउ नै आँटेको धानमा क्षति पुगेका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको हो ।

मध्यपहाडी जिल्ला भए पनि यहाँ विगतमा राम्रो धान उत्पादन हुन्थ्यो । तर यस वर्ष उत्पादनमा कमी आउँदा किसान मर्कामा परेका छन्। जिल्लामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको हो । बागलुङ नगरपालिका-४ की स्थानीय तेजकुमारी केसी अघिल्ला वर्षमा १२ मुरी धान उत्पादन भएकामा यस वर्षभित्रयाउने बेला परेको पानी क्षति पुर्‍याउँदा सात मुरी मात्रै स्याहारेको बताउनुहुन्छ ।

केसी भन्नुहुन्छ, “यसपाली धान निकै राम्रो भएको थियो, पोहोर परार सालकोभन्दा धेरै नै उत्पादन हुने आश थियो तर पाकेको धान स्याहार्ने बेला एक्कासी एक साता पानी पर्दा धेरै नोक्सान भयो, धान सबै खेतभरि भएको थियो, न उठाउन मिल्ने न टिप्न, हामी किसानलाई वर्षाले रुवाउनु रुवायो ।”

अहिलेकोभन्दा अघिल्ला सालमा झण्डै दोब्बरले धान उत्पादन हुँदासमेत आयातित खाद्यान्न किनेर उपभोग गरेको सुनाउनुभयो । “पहिलापहिला अहिलेकोभन्दा धेरै धान फल्थ्यो र त दोकाने चामल किनेर खानुपथ्र्यो, अहिले त झन्, निकै कम उत्पादन भएको छ, बाहिरबाट आएकै चामलले वर्ष गुजार्नुपर्ने भयो”, केसीले भन्नुभयो ।

स्थानीय हर्रि्रसाद सापकोटाले धानबालीमा ठूलो क्षति पुगेको भन्दै अहिलेसम्म राहत पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले बेमौसमी वर्षाका कारण यस वर्ष दोब्बरले धान उत्पादनमा कमी आएको बताउनुभयो । असोज अन्तिम साताको वर्षाले आफ्नो ५० प्रतिशत धान नोक्सान भएको गुनासो गर्नुभयो । सापकोटले भन्नुभयो, “यो वर्ष बेमौसमको वर्षाले किसानलाई धेरै दुःखी बनायो, बर्खाभरि दुःख गरेर धान लगाइयो, भित्रयाउने बेला पानीले खेतबरी बनाइयो दियो, यसपाली धान धेरै फलेको थियो, पानी बेलामाथि पर्दा सिँचाइ पनि राम्रो भएको थियो, तर काट्ने बेला हप्ता दिन झरी पर्दा नोक्सान बेहोर्नुपर्‍यो ।

कृषिज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराइले बेमौसमी वर्षाका कारण बागलुङका किसानले समस्या भोग्नुपरेको बताउनुभयो । उहाँले यस वर्ष धान उत्पादनमा पाँच प्रतिशतभन्दा बढीले कमी आएको बताउनुभयो । अहिले पनि बागलुङ धानमा आत्मनिर्भर नरहेको भन्दै त्यसमाथि वर्षाले नोक्सानी गरेको उहाँको भनाइ छ ।

“यस वर्ष धान राम्रो हुन्छ भन्ने अनुमान हामीहरुले गरेका थियौँ, किनकी समयमै वर्षा भएको थियो, त्यसले गर्दा सिँचाइ पर्याप्त भएको थियो, अलिकति धाउन रोपाइँको क्षेत्र पनि बढेको थियो”, प्रमुख भट्टराइले भन्नुभयो, “जिल्लाको सबै ठाउँमा होइन केही ठाउँमा धेरै नै क्षति पुगेको थियो ।”

गत वर्ष जिल्लाभर पाँचभन्दा केही बढी हेक्टर क्षेत्रफलमा धान लगाइएकामा यस वर्ष छ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । सिँचाइ राम्रो भएपछि जिल्लामा धान उत्पादन बढ्ने आँकलन गरिएको उहाँको भनाइ छ । अघिल्लो वर्ष १८ हजार तीन सय ५४ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष १८ हजार छ सय ९० मेट्रिकटन धान उत्पादन भएको भट्टराइको भनाइ छ । तुलनात्मकरुपमा केही बढेको देखिए पनि खेतीयोग्य जमिन बढ्दा उत्पादन पनि बढ्नुपर्ने हो । तर त्यसो हुन सकेन ।

बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । छ हजार एक सय ४८ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुइ हजार सात सय ७५ हेक्टर रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker