उत्पादनमा आधारित अनुदान : पाडीबाच्छी पाले १० हजार पुरस्कार

भञ्ज्याङ समाचारदाता/तनहुँ

तपाईंको गोठको पाडी र बाच्छीले भनेजस्तो बजार पाएन भनेर चिन्तामा हुनुहुन्छ ? त्यसो हो भने अब चिन्ता लिनुपर्दैन । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले बाच्छी र पाडी पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।

बाच्छी र पाडी हुर्काउने कृषक घट्दै गएपछि संरक्षणका लागि केन्द्रले आर्थिक वर्ष २०७७/०७८ देखि यो उपाय अघि सारेको हो । नमुना परियोजनाका रुपमा अघि सारिएको यस कार्यक्रम प्रभावकारी बन्दै गएपछि यस आर्थिक वर्षमा पनि निरन्तरता दिइएको केन्द्रले जनाएको छ ।

आव २०७७/०७८ मा एक सय बाच्छी र पाडी संरक्षण गर्ने ८४ जना कृषकलाई पुरस्कारस्वरुप १० लाख रुपैयाँ प्रदान गरिएपछि यस वर्ष पनि चासो राख्दै केन्द्रमा आउने कृषकको चाप बढेको केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले बताए ।

‘मासुका लागि बिक्री नहुने भएपछि कृषकमा पाडी पाल्नु बोझ जस्तै ठान्ने चलन थियो’, वरिष्ठ पशु विकास अधिकृत श्रेष्ठले भने, ‘अहिले संरक्षण गर्नेलाई पुरस्कार दिन थालेपछि पाडी पाल्ने बढ्दै गएका छन् ।’

दूधका लागि किनिने बाच्छी र पाडीका लागि कृषकलाई अन्य जिल्ला जान नपरोस् भनेर आफूहरूले पुरस्कारको व्यवस्था गरेको डा. श्रेष्ठको भनाइ छ । कृत्रिम गर्भाधानबाट जन्मिएका बाच्छी वा पाडी र न्यूनतम एकदेखि दुइ वर्षसम्मको हुनुपर्ने प्रावधान राखिएको डा श्रेष्ठले बताए । उनले भने, ‘नश्ल सुधार गरी दूध उत्पादन बढाउन यसो गरिएको हो ।’

‘कृत्रिम गर्भाधान गरिएको रेकर्ड, सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा कृषकलाई पुरस्कार दिने गरेका छौ’, डा श्रेष्ठले भने, ‘पहिले १८/२० वटाभन्दा धेरै बाच्छी र पाडी उत्पादन हुन्थेनन् । गत वर्षदेखि कृषकको रुचि पाडामाभन्दा पनि पाडीमा देखिएको छ । त्यसले गर्दा यस वर्ष पनि पुरस्कारको व्यवस्था गरेका छौ ।’

केन्द्रले चालु आव २०७९/०८० मा १५० वटा बाच्छी र पाडी संरक्षण गर्ने कृषकलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षदेखि पकेट क्षेत्र तोकेर बाच्छी र पाडी हुर्काउने कार्यक्रम तर्जुमा गरिनेसमेत प्रमुख डा श्रेष्ठले बताए ।

बाच्छी र पाडी पालेरै पुरस्कार पाइने भएपछि पछिल्लो समय कृषककोसमेत रुचि बढेको व्यास-१० दुम्सीस्थित दुम्सी दुग्ध उत्पादक सहकारी संस्था लिका पूर्वध्यक्ष तथा व्यवस्थापक दयाराम पौडेलले बताए । ‘पहिले हुर्काउन कसैले पनि खासै वास्ता गर्थेनन्, पौडेलले भने, ‘अहिले बाच्छी र पाडी हुर्काए बापत पुरस्कार पाइन्छ रे भन्दै कृषक छलफल गर्ने गरेका छन्।’

दुग्ध उत्पादक कृषकलाई उक्त कार्यक्रम प्रभावकारी भएको सहकारीका पूर्वअध्यक्ष पौडेलले बताए । उत्पादनमा आधारित अनुदान दिन सके त्यसले दिगो प्रभाव पार्ने ठानेर नै यस्ता कार्यक्रम तर्जुमा गरिएको विज्ञ केन्द्रले जनाएको छ । पोखरा र काठमाडौंसम्म बजारीकरणका लागि पनि तनहुँको भू-बनोट उपयुक्त भएकाले आफूहरूले दूध उत्पादनमा जोड दिएको केन्द्रका प्रमुख डा श्रेष्ठले बताए ।

दूधमा तनहुँ आत्मनिर्भर भए पनि अन्य जिल्लाबापत गर्ने ध्येयले बाच्छी र पाडी उत्पादन कार्यक्रमलाई प्राथमिकतामा राखिएको केन्द्रले जनाएको छ । खाद्य तथा कृषि संगठनले प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध आवश्यकपर्ने बताए पनि तनहुँमा भने प्रतिव्यक्ति प्रतिवर्ष ११८ दशमलव ५ लिटर दूध उत्पादन हुँदै आएको छ । तनहुँमा आव २०७८/०७९ मा ३८ हजार ८३८ मेटि्रकटन दूध उत्पादन भएको केन्द्रले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker