चाडपर्व लक्षित तनहुँका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने
भञ्ज्याङ समाचारदाता/दमौली

चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँले पृथ्वीराजमार्ग अन्तर्गत तनहुँका चार स्टानमा यात्रु सहायता कक्ष सञ्चालन गरिने भएको छ । जिल्लाको व्यास नगरपालिका-४ भोर्लेटार चोक, आँबुखैरेनीको पुलजीप, बन्दिपुरको डुम्रे र शुक्लागण्डकीको बेलचौतरामा यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको यातायात व्यवस्थापन समितिको बैठकले नेपालीहरुको महान पर्व बडादशै नजिकै गर्दा जिल्ला प्रशासन, प्रहरी र अन्य सरोकारवालाहरुको सहभागितामा सार्वजनिक यातयातहरुको सञ्चालन प्रबन्ध लगायतका बिषयमा अनुगमन कार्यलाई प्रभावकारी बनाउने निर्णय गरिएको हो ।
नेपालीका ठूला चाडपर्वहरु दशै, तीहार, छठ लगायतका पर्वहरुमा मानिसहरुको आवतजावत बाक्लो हुने हुँदा स्थानीय रुटमा यातायात कम्पनीहरुले सवारी साधान थप गर्ने निर्णय गरेको छ । कुनै पनि हालतमा सिट क्षमता भन्दा बढी र छतमा यात्रु नचढाउने र बढी यात्रु राखेको पाइएमा कारबाही गर्ने समेत निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
सार्वजनिक यातायात सवारी साधानमा अनिवार्य रुपमा तोकिएको भाडादर यात्रुले देख्ने गरी राख्ने, सवारी साधान सञ्चालन गर्दा प्रविधिक चेकजाँच र परीक्षण गराएर मात्रै सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।
यस्तै, सवारी साधानले तोकिएको भाडार भन्दा बढी नलिने र यात्रुहरुसंग मर्यादित व्यवहार गर्ने, सवारी साधानमा यात्रुहरुलाई सेनिटाइजर उपलव्ध गराउने, प्रत्येक दिन निसङ्क्रमित गराएर मात्र सवारी चलाउन आग्रह गरिएको छ । कोरोनाको जोखिम कायमै रहेकोले नेपाल सरकारबाट तोकिएको स्वास्थ्य तथा सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गरी सवारी साधान सञ्चालन तथा यात्रा गर्न आग्रह गरिएको छ ।










