पाईपमा क्षति पुगेपछि डुम्रेमा खानेपानीको समस्या, तीनवटा कार्यालयको खानेपानी धारा काटियो

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजार क्षेत्रमा खानेपानीको समस्या देखिएको छ । छाप नाहाला खानेपानी योजना उपभोक्ता समितिले खानेपानी वितरण गर्दै आएको पाइपलाइनमा सडक विस्तारका क्रममा क्षति पुगेपछि पानी वितरणमा समस्या आएको बताइएको छ ।
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्ड चौडा गर्ने क्रममा खानेपानीको पाईपमा क्षति भई अस्तब्यस्त भएकाले यस क्षेत्रका बासिन्दा काकाकुल बन्नुपर्ने अवस्था आएको उपभोक्ता समितिले बताएको छ । निर्माण कम्पनीको लापरबाही र परामर्शदाताको उदाशिनताले बजार क्षेत्र र भानु–१ को साजबोटे क्षेत्रमा खानेपानीको समस्या आएको भन्दै छाप नाहाला खानेपानी योजना उपभोक्ता समितिले सडकको तीनवटा कार्यालयको खानेपानी धाराको लाईन काटेको छ ।
खानेपानी योजना उपभोक्ता समितिले मुग्लिन–पोखरा सडक योजनाको कार्यालय पूर्वी खण्ड अन्तर्गत रहेको भानु–१ साजबोटे धाराको लाईन, परामर्श दाता कार्यालय र चाइना कम्युनिकेसन कन्सट्रक्सन कम्पनी सीसीसीसीको खानेपानीको धाराको लाईन आइतबारदेखि काटिदिएको छ ।
छाप नाहाला खानेपानी योजना उपभोक्ता समितिले विज्ञप्ति जारी गर्दै ती कार्यालयको धाराको लाईन काटेको जनाएको छ । पृथ्वीराजमार्ग मुग्लिन पोखरा सडक आयोजना कार्यालय पूर्वी खण्डको सडक विस्तार गर्ने क्रममा उक्त खानेपानी योजनाको खानेपानी वितरणको पाइपलाइनमा विभिन्न स्थानहरुमा खानेपानी पाईपलाइनमा क्षति हुँदा समेत मर्मत कार्य नगरेको तथा पछिल्लो रकम भुक्तानी नभएकाले उक्त कार्यालयहरुको धारा काटिएको समितिका अध्यक्ष ईमनाथ खनालले बताए ।
यस्तै सडक निर्माणको क्रममा पाइपलाइनमा क्षति हुँदा ढुङ्गा माटो सहितको लेदो पसेर डिआइ पाइपदेखि तलका एचडिपी पाइप लाइनहरुमा खानेपानी आपूर्तिमा १५ दिनसम्म अवरुद्ध भएको तथा डुम्रे बजारको माथिल्लो बजार लाइन पहिरोबाट क्षति हुँदा मर्मत गर्ने र मर्मत रकम भुक्तानीको लागि पटक पटक लिखित र मौखिक पत्राचार र आग्रह गर्दा समेत कुनै सुनुवाइ नभएको बताइएको छ । उक्त समस्याहरुको समाधानका उपायहरु खानेपानी आयोजनाबाट समाधान गर्न खोज्दा समेत कुनै किसिमको सहयोग नभएको भन्दै आक्रोेश ब्यक्त गरिएको छ ।










