बन्दीपुर अस्पतालमा ५१.९९ प्रतिशत सेवाग्राही अतिरिक्त समयमा उपचारका लागि पुगे

तनहुँको बन्दीपुर अस्पतालमा नियमित समयभन्दा अतिरिक्त समयमा स्वास्थ्य सेवा लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको छ । अस्पतालले सार्वजनिक गरेको २०८३ असोज महिनाको तथ्याङ्कअनुसार कुल २ हजार ३४१ जना सेवाग्राहीमध्ये १ हजार २१७ जनाले अतिरिक्त समयमा र १ हजार १२४ जनाले नियमित समयमा ओपीडी सेवा लिएका छन् ।
अस्पतालका अनुसार अतिरिक्त समयमा सेवा लिने सेवाग्राही कुल सङ्ख्याको ५१.९९ प्रतिशत छन् भने नियमित समयमा सेवा लिने ४८.०१ प्रतिशत रहेका छन् । यसले कार्यालय समयबाहेक बिहान र बेलुका स्वास्थ्य सेवा लिन आउने बिरामीको चाप उल्लेख्य रहेको देखाएको छ ।
बन्दीपुर गाउँपालिकाअन्तर्गत सञ्चालित बन्दीपुर अस्पतालले २०८२ वैशाख १ गतेदेखि कर्मचारी, विद्यार्थी, ज्याला मजदुरी गर्ने, व्यवसायी तथा गृहिणीलाई लक्षित गरी विस्तारित समयसहित निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालले सार्वजनिक बिदा तथा शनिबार र आइतबारसमेत बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार नियमित ओपीडी सेवा सञ्चालन हुने दिन बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म टिकट काटेर सेवा लिने व्यवस्था छ । अतिरिक्त समयमा भने बिहान ७ देखि ९ बजेसम्म र दिउँसो २ देखि बेलुका ७ बजेसम्म सेवा उपलब्ध गराइन्छ । शनिबार, आइतबार तथा सार्वजनिक बिदाका दिन बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म अतिरिक्त ओपीडी सेवा सञ्चालन हुने अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरीका अनुसार विस्तारित समयको स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत सेवाग्राहीको सङ्ख्या नियमित रूपमा अभिलेखीकरण हुँदै आएको छ । असोज महिनाको विवरणले नियमित समयभन्दा अतिरिक्त समयमा सेवा लिन आउनेको सङ्ख्या बढी रहेको देखाएको छ ।
अस्पतालले अतिरिक्त समयको सेवा विस्तार गर्दा कार्यालय समयमा स्वास्थ्य संस्था पुग्न नसक्ने कर्मचारी, व्यवसायी, मजदुर तथा अन्य सेवाग्राहीलाई सहज भएको जनाएको छ । विशेषगरी बिहान र बेलुकाको समयमा सेवा उपलब्ध हुँदा कामकाजी नागरिकलाई स्वास्थ्य परीक्षण तथा उपचार गराउन सहज हुने अपेक्षा गरिएको छ ।
अस्पतालले सार्वजनिक गरेको तथ्याङ्कमा आकस्मिक (इमर्जेन्सी) विभागबाट सेवा लिने बिरामीको सङ्ख्या भने समावेश गरिएको छैन । यो विवरण ओपीडी सेवाका सेवाग्राहीमा मात्र आधारित रहेको अस्पतालले स्पष्ट पारेको छ ।










