जबरजस्ती करणी अभियोगमा तनहुँको घिरिङ र ऋषिङबाट दुई जना पक्राउ
तनहुँको घिरिङ र ऋषिङ गाउँपालिकामा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ परेका छन् । घिरिङमा नाबालिका र ऋषिङमा महिलालाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार घिरिङ गाउँपालिका–१ बस्ने १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय बोमबहादुर दरै पक्राउ परेका छन् । घर नजिकैको शौचालयमा जबरजस्ती करणी गरेको भन्ने उजुरीपछि प्रहरीले दरैलाई सोमबार पक्राउ गरेको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले बताए।
यसैगरी ऋषिङ गाउँपालिका–४ बस्ने एक महिलालाई जबरजस्ती करणीको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय लक्ष्मण रानाभाटलाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरीले रानाभाटलाई आइतबार नियन्त्रणमा लिएको हो । दुवै विरुद्ध जिल्ला अदालत तनहुँबाट सोमबार म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










