तनहुँको बन्दिपुर गाउँपालिकाका ३१ वटा विद्यालयलाई स्वअध्ययन सामाग्रि
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

आधारभूत शिक्षाको गुणस्तर सुधार परियोजना (आइमिन)ले तनहुँको बन्दिपुर गाउँपालिकाका ३१ वटा सामुदायीक विद्यालयलाई स्वअध्ययन पाठ्यासामाग्रि उपलब्ध गराएको छ । कक्षा १-३ सम्मका विद्यार्थी संख्याको आधारमा उपलब्ध गराइएको स्वअध्ययन पाठ्यासामाग्रिहरु गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापालाई आइमिनका परियोजना अधिकृत रविन्द्र आचार्यले आइतबार हस्तान्तरण गरेका छन् । आधारभूत शिक्षाको गुणस्तर सुधार गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग बिच भएको सम्झौतानुसार परियोजनाले प्रारम्भिक कक्षा (कक्षा १-३) का विद्यार्थीहरूको गणित विषयको आधारभूत दक्षतामा सुधार ल्याउने गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
परियोजनाले गणित विषयको पाठ्यक्रम तथा पाठ्यसामग्री तयारीमा पाठ्यक्रम विकास केन्द्र तथा शिक्षक पेसागत विकास, प्रधानाध्यपक नेतृत्व क्षमता विकास तालिम, स्थानीय शिक्षा योजना तयारी तथा गणित शिक्षाको प्रबर्द्धनका लागि स्थानीय निकायको क्षमता अभिबृद्धी कार्यक्रमहरु सञ्चालनमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक प्राविधिक सहयोग पनि प्रदान गर्दै आइरहेको छ ।
गणित विषयमा विद्यार्थीहरूको सिकाइ क्षमतालाई सुदृढ बनाउनका लागि विद्यार्थीहरूले विद्यालयमा मात्र नभई घरमा समेत गणित सिक्न आवश्यक रहेको र जसमा अभिभावकहरूको सहयोग समेत अपरिहार्य हुने भन्दै कार्यक्रम सञ्चालन गर्दै आइएको परियोजना अधिकृत आचार्यले बताए ।
घरमा विद्यार्थीहरूको गणित सिकाइलाई बढावा दिने उद्देश्यले कक्षा १-३ मा अध्ययनरत विद्यार्थीहरूका लागि गणित विषयको स्वअध्याय सामग्रीहरू आइमिन परियोजनाले नै विकास गरेको छ । यी सामग्रीहरू परियोजना लागु भएका महोत्तरीको पिपरा गाउँपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका, तनहुँको बन्दिपुर गाउँपालिका र जुम्लाको तातोपानी गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरूमा कक्षा १-३ मा अध्ययनरत विद्यार्थीहरूलाई वितरण गरिने भएको छ ।
स्वअध्याय सामग्री भित्र अभिभावकहरूलाई अनुरोध, शिक्षकहरूलाई अनुरोध, उदाहरण सहितका अभ्यासहरू, आमाबाबु तथा अभिभावकहरूको पृष्ठपोषण फाराम र शिक्षकहरूको पृष्ठपोषण फाराम रहने अचार्यले बताए । आमाबाबु तथा अभिभावकले विद्यार्थीहरूलाई घरमा सिकाइ सहजीकरण गरी गणित विषयको शैक्षिक उपलब्धि सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । परियोजनाद्वारा उपलब्ध स्वअध्ययन पाठ्य सामाग्रिले शिक्षकहरूको सहयोगका साथसाथै बालबालिकाहरूलाई घरमै सिक्ने वातावरण बन्ने गाउँपालिकाका अध्यक्ष थापाले विश्वास व्यक्त गरे ।
प्राप्त सामाग्रिले कोरोना कहरका कारण विद्यालमा उपस्थित हुन नसकेका बालबालिकाहरुलाई घरमै सिकाईलाई निरन्तरता दिने माध्यम बन्ने अध्यक्ष थापाले बताए । परियोजनाले सामग्रीको पहिलो आधा (भाग १) अक्टोबर २०२१ मा र दोस्रो आधा (भाग २) डिसेम्बर २०२१ सम्म वितरण गर्ने योजना बनाएको छ ।










