युवा समितिका अध्यक्ष ढकालको पदस्थापन
भञ्ज्याङ समाचारदाता/दमौली

राष्ट्रिय युवा परिषद जिल्ला युवा समितिका अध्यक्षमा नियुक्त रिता ढकालको पदस्थापन गरिएको छ । समितिद्वारा आइतबार आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले नवनियुक्त अध्यक्ष ढकाललाई पदस्थापन गराएका हुन् ।
नवनियुक्त अध्यक्ष ढकाललाई बधाई दिंदै प्रमुख वाग्लेले युवाका क्षेत्रमा राम्रोसँग प्रभावकारी कार्य गर्न आग्रह गरे । नवनियुक्त अध्यक्ष ढकालले तनहुँमा युवाका क्षेत्रमा स्थानीय तहसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाइन् ।
निवर्तमान अध्यक्ष युवराज आलेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, एमाले नेता राजेश्वर ढकाल लगायतले नवनियुक्त अध्यक्ष ढकाललाई शुभकामना दिएका थिए ।










