म्याग्देको हर्षपुरमा होमस्टे व्यवस्थापन तथा पुष्प खेती तालिम
भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिका-७ हर्षपुरमा होमस्टे व्यवस्थापन तथा पुष्प खेती सम्बन्धी तालिम सञ्चालन गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) म्याग्देले पाँच दिने तालिम सञ्चालन गरेको हो ।

हर्षपुर होमस्टेमा सञ्चालित तालिमको शुभारम्भ गर्दै म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले होमस्टे सञ्चालन भएपछि गाउँलेको जीवनस्तर उकासिनु पर्ने बताइन् ।

होमस्टेको कमाइले सञ्चालन गर्दा लागेको ऋण तिरी घरको जिविको चल्न सक्नुपर्ने बताउँदै उनले भनिन्, ‘तपाईंहरू सीप सिकेर उद्यमशिल बन्नुहोस, यो तालिमले उद्यमशिल बन्न सहयोग पुर्याउँछ ।’

कार्यक्रममा पर्यटन विज्ञ एवं सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरूङले होमस्टे सञ्चालनको लागि तालिम अत्यन्तै महत्वपूर्ण र प्रभावकारी हुने बिश्वास व्यक्त गरे ।

तालिममा सहभागिहरुलाई होमस्टे सञ्चालन, ब्यबस्थापन, अतिथि सत्कारदेखि पुष्प खेतीका विषयमा सहजिकरण गरिने गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदिप न्यौपानेले बताए ।

मेलमिलाप आमा समुहकी अध्यक्ष सनिसरा मगर, नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि नरबहादुर आले, रिपासिकार थुम्कि सामुदायिक बनका अध्यक्ष भेषबहादुर राना, होमस्टेका अध्यक्ष बिहिसरा थापा, गोविन्द राना, बालकृष्ण श्रेष्ठ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।











