मुग्लिङ-पोखरा सडक विस्तार : तनहुँ खण्डमा करिब छ सय घरटहरामा क्षति पुग्ने

नारायण खड्का/तनहुँ

गण्डकी प्रदेशको ‘लाइफलाईन’को रुपमा रहेको पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्य अगाडि बढाइएको छ । राजमार्गको विस्तार कार्यको पहिलो चरणमा सडक सिमा क्षेत्रभित्र पर्ने बोटविरुवा कटान गरिने र उक्त कार्यको लागि टेण्डर प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ । राजमार्गको करिब ७२ किलोमिटर सडक खण्ड तनहुँ जिल्लामा पर्दछ। यस खण्डभित्र आँवुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, घाँसीकुवा, तालघारे, दमौली, चापाघाट, जामुने, थर्पु, खैरेनीटार, दुलेगौंडा, कोत्रे लगायत सानाठूला बजार क्षेत्रहरु पर्दछन् । यी बजारहरु मध्ये बढि मात्रमा आँवुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, दमौली लगायतका बजार क्षेत्र प्रभावित हुने भएका छन् ।

सडक विस्तारका क्रममा सडक सिमाभित्र रहेका करिब छ सय घरटहराहरुमा क्षति पुग्ने योजनाका रिसेटलमेन्ट स्पेसलिष्ट चिन्तामनि शर्माले बताए । उनले भने, ‘घर, टहरा तथा अन्य भौतिक संरचना भत्काउँदा एडीबीको नियमानुसार क्षतिको उचित मूल्याङ्कन गरी मुआब्जा दिने व्यवस्था रहेको छ । हालसम्मको अध्ययन अनुसार तनहुँका छ सय घरटहरामा क्षति पुग्ने अुनमान गरिएको छ ।’

यस्तै, मुग्लिङ-पोखरा सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार ७५० बोटबिरुवा काटिने भएका छन् । राष्ट्रिय राजमार्गहरुको स्तरोन्नति र विस्तार गर्ने कार्यक्रम अन्तरगत साविक दुइलेनमा रहेको मुग्लिन-पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गर्ने क्रममा उक्त बोटबिरुवा कटान गरिने भएको हो । सडक चार लेनको बनाउने क्रममा आँबुखैरेनीदेखि कोत्रेसम्मका सानाठुला गरी ६ हजार ७५० बोटबिरुवा काटिने डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत अरुण पराजुलीले बताए । राइट अफ वेमा पर्ने सबै रुखहरु काट्न अनुमति लिइसकेको कार्यालयले जनाएको छ ।

खयर, सिसाउ, कटुस, कटर, कपुर, चिलाउने, सिफल लगायतका प्रजातिका रुखबिरुवा कटान हुने उनले बताए । उनले भने, ‘आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकस्थित सयौं वर्ष पुरानो बरपिपलको रुख पनि काटिदै छ ।’ पराजुलीका अनुसार योजनाले रुख काटेर डिभिजन वन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । सडक बिस्तारका क्रममा कास्की खण्डमा एक हजार २५० वटा रुख कटान हुने बताइएको छ ।

सडक विभाग आयोजना निर्देशनालय (एडीबी)ले पहिलो चरणमा मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गतको आँबुखैरेनी-पोखरा खण्ड निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । मुग्लिन-पोखराको दूरी करिब ९० कि.मि छ । जसमा आँबुखैरेनी-पोखराको लम्बाइ ८० कि.मि छ । निर्देशनालयले आँबुखैरेनी-पोखरा सडकलाई दुइ खण्डमा विभाजन गरेको छ । आँबुखैरेनी-जामुने (४१ कि.मि) पूर्वी खण्ड र जामुने-पोखरा (३९ कि.मि) पश्चिम खण्ड छुट्याएको छ ।

चिनियाँ कम्पनीले ७ अर्ब ४० करोड रुपैयाँमा मुग्लिन-पोखरा सडक अन्तर्गतको पश्चिम खण्ड जामुने-पोखरा सडक निर्माणको जिम्मा पाएको मुग्लिङ-पोखरा सडक सुधार योजना पश्चिम खण्डका योजना प्रमुख प्रेमप्रकाश खत्रिले बताए । उनले भने, ‘चार लेनको सडक निर्माणका लागि अझै ३/४ महिना लग्छ तर सडक मर्मत सुधारको कार्य भने दशै अघि नै गर्ने योजना बनाएका छौं ।’

यस्तै, ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँको लगतमा चिनियाँ कम्पनीले मुग्लिन-पोखरा सडक अन्तर्गतको पूर्व खण्ड आँबुखैरनी-जामुने सडक निर्माणको जिम्मा पाएको योजना पुर्वी खण्डका योजना प्रमुख नगेन्द्र सुवेदीले बताए । उनले भने, ‘गत भदौं १३ गते नै सडक डिभिजन कार्यालय तनहुँले राजमार्ग निर्माणको सम्पुर्ण जिम्मेबारी हामीलाई दिइसकेको छ ।’

आयोजनाले यस अघि म्याग्दे गाउँपालिकाको गुणादीबाट जामुने क्षेत्रमा दुवैतर्फ गरी ८ किलोमिटर विद्युतका लाईन स्थानान्तरण गरेको छ । ‘अब विद्युत लाईन सार्ने कामसंगै राजमार्गमा परेका रुख कटानलाई प्राथमिकता दिइएको छ’, सुवेदीले भने, ‘केही समयमा रुख कटान कार्य अगाडि बढाउने योजना छ ।’

एसियाली विकास बैंकको आर्थिक सहयोगमा विस्तार हुन लागेको सडक सीमा दुइतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो वस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौंडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौंडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

यस्तै, सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ बनाउनुपर्ने योजनाका रिसेटलमेन्ट स्पेसलिष्ट शर्माले बताए । सडकमा फुटपाथ ट्राफिक साइन वीच मेडियन रहनेछ । मेडियनमा ग्रीनरी वेल्ट निर्माण हुनेछ । शर्माका अनुसार दमौलीको मादी नदीमा चार लेन र पोखराको सेती नदीमा पुरानो पुलसंगै नयाँ दुइ लेनको सिग्नेचर पुल निर्माण गरिने भएको छ । उक्त पुलको लम्बाई करिव ४ सय मिटरको हुनेछ । यस सडक खण्डका अन्य ठाउँमा साना ८ वटा पुल निर्माण हुने छन् ।

यस्तै, आँबुखैरेनीदेखि मुग्लिन खण्डको ८ किलोमिटर दूरीको भने डिजाइन हुँदैछ । यो खण्डमा मर्स्याङ्दी जलविद्युत गृह रहेकोले सडक फराकिलो बनाउन समस्य देखिएकाले सडकको रेखांकन नै परिवर्तन गर्नुपरेको आयोजनाले बताएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker