गण्डक बाँध, पर्यटन र लुकेको इतिहास
के.बि. मसाल

गण्डकी प्रदेशको भारतसँग सीमा नाका भएको त्रिवेणी धाम र गण्डक बाँध पर्यटनको लागि धार्मिक, ऐतिहासिक, पुरातात्विक सम्पदा हो । त्रिवेणीमा पर्यटकहरुले धार्मिक क्षेत्रको र गण्डक बाँधको लुकेको इतिहास खोज अध्यन गर्न सक्दछन । त्रिवेणी धाम नेपाल र भारतको सीमानामा पर्दछ । स्वर्णभद्रा, पूर्णभद्रा र नारायणीको संगम रहेकाले यस स्थानलाई त्रिवेणी भनिएको हो । यी नदीलाई सोना, पञ्चा र नारायणी नदी पनि भनिने गरिन्छ । त्रिवेणी क्षेत्र त्रिकुट पर्वतको बिच भागमा पर्दछ । यी त्रिकुट पर्वत मध्ये एउटा पर्वत स्वर्णस्वरुप, अर्को पर्वत ताम्रस्वरुप र अर्को लोह्यस्वरुपको मानिन्छ । त्यसैले स्वर्णस्वरुप पर्वतको काखबाट बहने नदीलाई स्वर्णभद्रा, ताम्रस्वरुप पर्वतको काखबाट बहने नदीलाई पूर्णभद्रा वा तमसा र लोह्यस्वरुप पर्वतको काखबाट बहने नदीलाई कृष्ण गण्डकी अथवा नारायणी नदी मानिन्छ ।
त्रिवेणी धामको महत्व जनक वंशदेखि चलेको मानिन्छ । त्रिवेणी क्षेत्रको महिमा सीता, राम र रामका गुरु बाल्मीकिसँग पनि गाँसिएको छ । नारायणी नदीको किनारमा रहेको हुनाले पनि यसको धार्मिक महत्व रहेको छ । नारायणी नदीमा कालीगण्डकी देवघाटमा मिसिने र शालिग्राम विष्णुको प्रतिरुप मानिने हुँदा त्रिवेणी धाम वैष्णव तीर्थका रुपमा पनि प्रसिद्ध छ । नजिकै वाल्मीकि आश्रम, हरिहरक्षेत्र र देवघाट लगायतका अन्य प्रसिद्ध तीर्थहरु रहेकाले पनि त्रिवेणी धामको महत्व धेरै छ। तीर्थाटन पर्यटकहरुका लागि त्रिवेणीको स्नान अति उत्तम मानिन्छ। स्वर्गबाट देवता र अप्सराहरु समेत त्रिवेणीमा स्नानका लागि आउने गर्दथे भन्ने धार्मीक विश्वास छ । त्रिवेणीको महिमागान वराह पुराण र स्कन्द पुराणको हिमवत्खण्डले पनि गरेका छन । तीर्थाटन पर्यटनका लागि त्रिवेणी धाममा गजेन्द्रमोक्ष, भक्तेश्वर शिव मन्दिर, लक्ष्मी वेंकटेश्वर मन्दिर, नागाबाबा कुटी, राधाकृष्ण मन्दिर, कोटिहोम यज्ञशाला, संस्कृत विद्यालय र सुन्दर बगैंचाहरु छन ।
त्रिवेणी धाम धार्मिक मात्र नभएर प्राकृतिक रुपमा पनि सौन्दर्य मानिन्छ । त्रिवेणीमा स्नान, पितृतर्पण, श्राद्ध, उपनयन, कर्णभेदन, अन्नप्राशन, चूडाकर्म तथा अन्य संस्कारहरु सम्पन्न गर्न त्रिवेणी धाममा पुग्ने गर्दछन । बिशेष गरी त्रिवेणीमा कात्तिक मेला, कुम्भमेला, रामनवमी, व्यास पूर्णिमा, होली, छठ र बुद्ध जयन्तीका अवसरमा तीर्थयात्री पर्यटकहरुको भीड हुने गर्दछ । त्रिवेणी धामको मेलामा नेपालका भन्दा भारतका तीर्थयात्रीहरु धेरै हुन्छन । प्राचीनकालमा देवताको सभास्थल भएकाले त्रिवेणीको पुरानो नाम सभापुर पनि हो । त्रिवेणी धामलाई हरिहर क्षेत्र पनि भनिन्छ । महर्षि वाल्मीकिले त्रिवेणी क्षेत्रमै दिव्यज्ञान प्राप्त गरी यही ठाउँमा बसेर रामायण लेखेको इतिहास छ । श्रीमदभागवत पुराण र रामायणलगायत ग्रन्थमा त्रिवेणी क्षेत्रलाई पवित्र धार्मिक स्थलका रुपमा वर्णन गरिएको छ । त्रिवेणीधाम मुख्य मन्दिर क्षेत्र,वाल्मीकि आश्रम र गजेन्द्र मोक्ष क्षेत्र गरी तीनवटा क्षेत्र पर्दछ । नारायणी नदीपूर्व चितवनमा वाल्मीकि आश्रम अर्थात वाल्मीकि ऋषिको तपोभूमि पर्दछ ।
नारायणी नदी डुंगाबाट चितवनको क्षेत्रमा प्रवेश गरेपछि राममायण कालिन ग्रन्थसंग मिल्ने वाल्मिकी आश्रममा पुग्न सकिन्छ । त्रिवेणी धाम र चितवनको वाल्मीकि आश्रम जोडने गरी नारायणी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । तर वाल्मिकी आश्रम भौगोलिक रुपमा चितवनको राष्ट्रिय निकुञ्जभित्र चुरे पहाडको दक्षिण नेपाल–भारत सीमानामा पर्दछ । निकुञ्ज क्षेत्रमा पर्ने हुँदा निकुञ्जले वाल्मिकी आश्रम जाने पर्यटकहरुलाई पुलको बाटो प्रयोग गर्न दिएको छैन । वाल्मीकि आश्रम त्रिवेणी क्षेत्रको महत्वपूर्ण स्थल हो । यो आश्रम त्रिवेणीबाट लगभग ४ किलोमिटर पूर्व दक्षिणतर्फ भारतको सीमा नजिकै चितवन जिल्लामा पर्दछ । नारायणी नदी डुङ्गाबाट तरेपछि जगंलको बाटो भएर वाल्मिकी आश्रम पुग्न सकिन्छ । वाल्मिकी आश्रममा पौराणिक राममायणसंग जोडिएको मिल्दाजुल्दा प्राचिन अवशेषहरु देख्न पाइन्छ । वाल्मिकी आश्रम त्रेतायुगको कथा प्रशगं जोडिएको छ । रत्नाकरले ब्रह्मज्ञान प्राप्त गरेर महर्षि वाल्मिकी बनेका थिए । वाल्मिकी क्षेत्रसँग सीता र लव–कुशको प्रसग समेत जोडिएको छ । वाल्मिकी आश्रम निकुञ्ज भित्र रहेका वन्यजन्तु र ऐतिहासिक धार्मिक महत्वका कारण पर्यटनको लागि रमणिय छ ।
वाल्मिकी आश्रम वरपर पर्यटनका लागि पौराणिक कुराहरु भेटिन्छन । अमृत कुवा, लवकुशले घोडा बाँधेको खम्बा र सीताले प्रयोग गरेको सिलौटो देख्दा पर्यटकहरु अचम्म मान्दछन । पर्यटकहरुले सिलौटो पिसेको फोटो समेत खिच्ने गर्दछन। नजिकै वाल्मिकीको समाधिस्थल पनि छ । लवकुशको जन्मस्थल, शिक्षादीक्षा दिएको ठाउँ, उनीहरुले खेलेको स्थान र आकर्षक विष्णु चक्र पनि छ । वाल्मिकीले रामायण यहीँ बसेर लेखेको भनाइ छ । अठासी हजार ऋषिले हवन गरेको कुण्ड पनि देख्न सकिन्छ। साना सवारी साधन भएका पर्यटकहरु वाल्मिकी आश्रम जान भारतको भूमिबाट जान सजिलो हुन्छ । त्रिवेणी क्षेत्रको दशगजाबाट १० किलो मिटर भारतीय भूमिको यात्रापछि वाल्मिकी आश्रम पुगिन्छ । भारतिय भूमीको बाटो जादा गण्डक ब्यारेजको पुल तर्नु पर्दछ । पुलपारि भारतको बिहार चम्पारन जिल्लाको भैसालोटन पर्दछ । भैसालोटनबाट वाल्मिकी आश्रम उत्तर पूर्वमा पर्दछ । त्रिवेणी जादा पर्यटकहरुले धार्मिक, सास्कृतिक, पुरातात्विक महत्वको लुकेको इतिहास खोज्दछन । भारतले निर्माण गरेको गण्डक बाँध पुल पनि रुचि पुर्वक हेर्दछन । खोज अनुसन्धानमा रुचि भएका पर्यटकहरुले गण्डक बाँधको इतिहास खोज्दछन ।
नारायणी नदीमा बाँधिएको बाँधलाई गण्डक बाँध भनिन्छ । यस बाँधले गण्डकी प्रदेशको नवलपुर र भारतको बिहारमा पर्ने पश्चिम चम्पारण जिल्लालाई जोडछ। आठ सय मिटर लामो गण्डक बाँधमा ३६ वटा ढोका छन । बाँधको पुलबाट यात्रा गर्दै पर्यटकहरुले नेपाल र भारत बिच भएको सम्झौता बारेमा सोध खोज गर्दछन् । नेपालको इतिहासमै पहिलो पटक २०१६ जेठ १३ गते बिपी कोइरालाको नेतृत्वमा जननिर्वाचित सरकार गठन भएको थियो। नयाँ सरकार बने लगत्तै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले नेपाल भ्रमण गरेका थिए । त्यो बेला भारतको प्राथमिकता गण्डक बाँध निर्माण गर्न नेपाललाई मनाउनु थियो। तर २०११ सालमा भएको असमान कोसी सम्झौताले नेपालमा व्यापक विरोध थियो । त्यसैले गण्डक सम्झौता गर्न सजिलो थिएन । कोसी सम्झौता मातृकाप्रसाद कोइरालाका पालामा भएको थियो । कोसी बाँधको उद्घाटन राजा महेन्द्रले गरेका थिए । नेहरुले बिपी कोइरालालाई गण्डक बाँध निर्माण गर्न धेरै प्रयास गरे । त्यति बेला भारतले गण्डक परियोजनालाई आफ्नो दोस्रो पञ्चवर्षीय योजनामा राखिसके को थियो। गण्डक बाँध जसरी पनि बनाउने भारतको उद्देश्य थियो । नेपालले नमाने भारतीय भूमिमा बाँध बनाउन सक्ने चेतावनी समेत सार्वजनिक गरे ।
त्यसको करिब छ महिना पछि २०१६ मंसिर १९ गते नेपाल–भारतबीच असमान र अन्यायपूर्ण गण्डक सम्झौता भयो । सिंचाई र जलविद्युतका लागि भनेर नेपालका तर्फबाट उपप्रधानमन्त्री सुवर्णशमशेर जबरा र भारतका तर्फबाट भारतीय राजदूत भगवान सहायले सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता भएको पाँच वर्षमै २०२१ सालमा गण्डक बाँधको निर्माण सम्पन्न भयो । त्यो बेला बिपी कोइरालाको जननिर्वाचित सरकारलाई सत्ताच्यूत गरेर राजा महेन्द्रले सत्ता आफ्नो हातमा लिएका थिए । राजा महेन्द्र र नेहरुले संयुक्त रुपमा गण्डक बाँधको उदघाटन गरे । गण्डक सम्झौताका प्रावधान असमान र अन्यायपूर्ण भयो । गण्डक बाँध भएको भूमि नेपालको भू–भागमा पर्छ । त्यो जमिन दुई सय वर्षसम्म भारतले भोगचलन गर्ने सम्झौतामा उल्लेख छ। त्यसको मुआब्जा भने भारतले अहिलेसम्म नेपाललाई तिरेको छैन । गण्डक सम्झौतामा नारायणी र यसका सहायक नदीमा बग्ने पानीमा नेपालको हक कुन्ठित हुने गरी अन्यायपूर्ण प्रावधान पनि राखिएको छ । गण्डक आयोजनालाई चाहिने पानी कमी हुने गरी नारायणीका सातै सहायक नदी बूढीगण्डकी, कालीगण्डकी, सेती, त्रिशूली, मस्र्याङदी, दरौंदी, मादीका मुहानसम्म भविष्यमा नेपालले कुनै पनि आयोजना निर्माण गर्न नपाइने उल्लेख छ ।
गण्डक बाँधको सम्झौता अनुसार नारायणी नदीमा बाँध बाँधेर सिंचाई र सुर्यपुरामा विद्युत उत्पादन गर्ने भनिएको थियो । नेपाली भूभागको १९ किलोमिटर हुँदै भारत पुग्ने गण्डक नहरको पानीले भारतको महाराजगञ्ज, देवरिया, कुशीनगर, गोरखपुर लगायत लाखौं हेक्टर जमीन सिंचाई हुन्छ । जसका लागि भारतले नारायणी नदीमा बाँधेको बाँधबाट पूर्व–पश्चिमका दुई वटा नहरबाट भारतको बिहार र उत्तर प्रदेशमा १८ लाख ५० हजार हेक्टर जमिन सिँचाइ हुन्छ । उत्तर प्रदेशमा पानी लैजाने नहर १९ किलोमिटरसम्म नेपालको भू–भाग हुँदै जान्छ । भारतमा त्यति धेरै पानी लैजाँदा नेपालमा जम्मा ४० हजार हेक्टर जमिन मात्र सिँचाइ हुने गरी दुईटा साना नहर निर्माण गरिएको छ । नेपालतर्फ जाने नहरको मुख नारायणी नदीको सतहभन्दा केही माथि राखिएको छ । जसका कारण नदीमा पानी कम हुँदा नहरमा पानी नै जाँदैन । हिउँदमा नेपालको नहरमा पानी हुँदैन, तर भारततिर जाने दुबै नहरमा भने सबै पानी जान्छ । यसरी पानी समेत भारतले असमान वितरण गरेको छ । यसको विरोध भएपनि भारतले सुनुवाई गर्दैन ।
गण्डक सम्झौता अनुसार पश्चिम नवलपरासीको सुर्यपुरामा निर्माण गरिएको गण्डक विद्युत गृह भारतीय पक्षको उपेक्षाका कारण सधै समस्याग्रस्त बन्दै गएको छ। विद्युत उत्पादन क्षमता १५ मेगावाट भएको सुर्यपुराको पावर हाउसबाट अहिले ७ मेगावाट मात्र विद्युत उत्पादन हुँदै आएको छ । तर नियमित उत्पादनका लागि भारतकै मुख ताक्नु पर्ने अवस्था रहेको छ। पावर हाउसको नहरमा पानी छाडेन भने बिद्युत गृह बन्द हुन्छ। आफ्नो भूमीमा भारतको लाखौं हेक्टर जमीन सिंचाई गरेर उब्जनी बढाउने गण्डक नहरले पश्चिम नवलपरासीका प्रतापपुर, सुस्ता, विनयी त्रिवेणीका र सरावलका मानिसहरुले पीडा भोग्नु पर्दछ । त्रिवेणी सुस्ता, गुठी सुरजपूरा, ठूलो खैरटवा, बैदौली, रुपौलिया, नर्सही, कुडिया, प्रतापपूर, पक्लिहवा, गुठीपर्सौनी लगायतका गाउँमा प्रत्यक बर्ष गण्डक बाँधको कारणले डुबान र कटान गर्दछ । गण्डक सम्झौताको धारा २ को उपधारा २ मा नहरका कारण नेपाली भूमिमा कुनै दुर्घटना, क्षति भएमा भारतले तुरुन्त क्षतिपूर्ति दिने स्पष्ट उल्लेख छ । तर अहिलेसम्म सम्झौता अनुसार स्थानीयहरुले क्षतिपूर्ति पाएका छैनन् ।
लुकेको इतिहास पल्टाउने हो भने त्रिवेणी ऐतिहासिक बन्दरगाह पनि हो । गण्डक बाँध बन्नु भन्दा पहिले त्रिवेणीमा कलकत्ता देखि ठूला डुङगामा ब्यापारी माल सामान आउने गर्दथियो । त्यो समयमा त्रिवेणी व्यापारिक केन्द्रका रुपमा थियो । त्रिवेणीमा पहाडी भेगबाट सामान किनबेचका लागि मानिसहरु आउने जाने गर्दथिए । त्रिवेणीदेखि नारायणघाटसम्म डुंगामा सामान ढुवानी हुने गर्दथियो । तोरी, मकै, सुठो, सुन्तला, धान लगायतका बस्तुहरु त्रिवेणी नाका हुँदै भारततर्फ निकासी हुने गर्दथियो। नारायणघाट, गोलाघाट, सिख्रौलीघाट, पितौजीघाट, पिठौलीघाट, अमलटारीघाट लगायत स्थानमा डुंङगाका स्टेशन थिए । पूर्व–पश्चिम राजमार्ग बनेपछि क्रमशः डुङ्गाबाट हुने ढुवानी हराउँदै गयो। त्रिवेणीमा पुग्ने पर्यटकहरुलाई यी सबै कुरा कथा जस्तो हुने गर्दछ । त्रिवेणीको गण्डक बाँधको पुल अर्थात भंसार कार्यालय क्षेत्र गण्डकी प्रदेशको नवलपुर जिल्लामा पर्दछ। त्रिवेणी नाका गण्डकी प्रदेशको एक मात्र भारत जाने नाका हो । त्रिवेणी देखि दुम्किवास जम्मा २२ किलोमिटरको दुरीमा पर्दछ । त्रिवेणीदेखि दुम्किवास जोडने अधिकांश सडकको ट्रयाक खुलिसकेको छ । तर निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पर्ने १६ किलोमिटर सडक निर्माण गर्न कानुनी झमेलाले काम हुन सकेको छैन । त्रिवेणी–दुम्कीबास जोडने सडक नखोल्दा त्रिवेणी पुग्नको लागि नारायणघाट तिरबाट जादा बरघाट हुँदै जानु पर्दछ ।
त्रिवेणी जादा यात्राको समय लम्वाउन खोज्ने पर्यटकहरु नेपाल–भारत सिमामा पर्ने सुस्ता गाउँमा पुग्न खोज्दछन। सुस्ता पुग्ने बाटा दुईवटा छन । गाडी लिएर जाने हो भने गण्डक नहरको ब्यारेज तरेर भारतको बाटो भइ पुग्न सकिन्छ । नेपालकै भूमि प्रयोग गर्ने हो भने नारायणी नदीको झोलुङ्गे पुल तर्नु पर्दछ । अहिले सुस्ता गाउँमा जान नारायणी नदीमा झोलुंगे पुल निर्माण भएको छ । नेपालकै लामो १ हजार ५७१ मिटर झोलुङ्गे पुल बनेपछि पुल हेर्न पर्यटकहरु आजभोली पर्यटकहरु दैनिक सुस्ता पुग्ने गरेका छन । पुलले नारायणी पारीको सुस्ता गाँउलाई नेपालसँग जोडेको छ । तर सुस्ताको वर्षौदेखिको समस्या उस्तै छ । तीन तिरबाट नारायणी र एकतिरबाट भारतीय भूमिले घेरिएको सुस्तामा नारायणी नदीमा पुल बनेपछि केही राहत भएको छ ।
नवलपरासीसँग जोडिएको भारतको सिमाना पश्चिम तर्फको भाग उत्तरप्रदेश राज्य र पूर्वतर्फका भाग विहार राज्यमा जोडिएको छ। नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले निर्माण गरेका संरचनाका कारण नारायणी नदीको बहाव परिवर्तन भएर सुस्तावासीले समस्या भोग्दै आएका छन । सुस्ताका स्थानीयले आफ्नै भूमिको रक्षाका लागि भारतीयसँग संर्घष गर्नुपर्ने भएको छ । पश्चिम नवलपरासीमा नेपाल–भारत सीमाको दुरी ४१ किलोमिटर पर्दछ। नेपाल–भारत दशगजा क्षेत्रमा १३ वटा मुख्य र ३ वटा सहायक समेत १६ वटा सीमा स्तम्भ रहेका छन । तर सुस्ता क्षेत्रमा सीमा स्तम्भ छैन । जसको कारण नेपाल र भारतबीच पटक–पटक सीमा विवाद हुँदै आएको छ ।
कसरी पुग्ने ?
बुटवलदेखि ४५ किलोमिटर र नारायणघाटदेखि ७० किलोमिटरबीच पर्ने वर्दघाट वजारवाट त्रिवेणीधाम २८ किलो मिटर दूरीमा पर्दछ । पश्चिम नेपालका मानिस कपिलवस्तुको चनौटा अथवा गोरुसिङ्गे भएर तौलिहवा भैरहवा–परासी भएर पनि त्रिवेणी जान सकिन्छ। भैरहवा–परासी १७ किलोमिटर र परासी–चौपट्टा १४ किलोमिटर यात्रा गरेपछि बर्दघाट त्रिवेणी पुग्ने सडक भेटिन्छ ।










