आदिकवि भानुभक्त आचार्य र समकालीन सान्दर्भिकता
लक्ष्मी श्रेष्ठ

नेपाली भाषा र साहित्यको विकासक्रममा आदिकवि भानुभक्त आचार्यको स्थान सर्वोपरि रहेको छ । नेपाली भाषालाई साहित्यिक अभिव्यक्तिको सशक्त माध्यमका रूपमा स्थापित गर्ने श्रेय उनलाई नै जान्छ । संस्कृत भाषामा सीमित ज्ञान र साहित्यलाई सरल तथा सहज नेपाली भाषामा रूपान्तरण गरी आमजनताको पहुँचमा पुर्याउने उनको योगदान अतुलनीय छ । यसै कारण उनलाई नेपाली साहित्यका ‘आदिकवि’ का रूपमा सम्मान गरिएको हो। आज सूचना–प्रविधिको तीव्र विकास, विश्वव्यापीकरण, विदेशी भाषाको बढ्दो प्रभाव तथा बदलिँदो सामाजिक परिवेशका बीच पनि भानुभक्तका विचार, कृतित्व र साहित्यिक मूल्यहरू उत्तिकै सान्दर्भिक देखिन्छन् । त्यसैले उनको साहित्यलाई केवल ऐतिहासिक सम्पत्तिका रूपमा नभई वर्तमान समाजलाई मार्गदर्शन गर्ने प्रेरणाको स्रोतका रूपमा पनि हेर्न आवश्यक छ ।
आदिकवि भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ साल आषाढ २९ गते तनहुँ जिल्लाको चुँदी रम्घामा भएको थियो । उनका पिता धनञ्जय आचार्य र माता धर्मावती देवी हुनुहुन्थ्यो । बाल्यकालदेखि नै संस्कृत भाषा, वेद, पुराण र दर्शनशास्त्रको अध्ययन गरेका भानुभक्तले आफ्नो साहित्यिक प्रतिभालाई नेपाली भाषाको सेवामा समर्पित गरे । त्यसबेला संस्कृत भाषा विद्वान् वर्गमा सीमित थियो भने आमजनताले धार्मिक तथा साहित्यिक ग्रन्थ सहज रूपमा बुझ्न सक्दैनथे । यही अवस्थालाई परिवर्तन गर्ने उद्देश्यले उनले सरल नेपाली भाषामा साहित्य सिर्जना गरे ।
भानुभक्तलाई साहित्य सिर्जनामा प्रेरणा दिने घाँसीको प्रसङ्ग नेपाली साहित्यमा अत्यन्त प्रसिद्ध छ। एउटा सामान्य घाँसीले सार्वजनिक हितका लागि कुवा निर्माण गरी समाजमा अमिट छाप छोडेको देखेपछि भानुभक्तले पनि समाजका लागि स्मरणीय कार्य गर्ने प्रेरणा प्राप्त गरे । यस घटनाले साहित्य व्यक्तिगत प्रसिद्धिका लागि मात्र होइन, समाजको हित, जनचेतना र मानव कल्याणका लागि हुनुपर्छ भन्ने सन्देश दिन्छ ।
आज सामाजिक उत्तरदायित्व, नागरिक चेतना र सार्वजनिक सेवाको आवश्यकता बढिरहेका बेला घाँसी प्रसङ्ग अझ बढी सान्दर्भिक देखिन्छ ।
भानुभक्त आचार्यको सबैभन्दा महत्वपूर्ण कृति ‘भानुभक्तीय रामायण’ हो । संस्कृत भाषामा रहेको वाल्मीकि रामायणलाई उनले सरल, सहज र जनबोलीको नेपाली भाषामा प्रस्तुत गरे। यसले धार्मिक ज्ञानलाई सीमित वर्गदेखि जनसाधारणसम्म पुर्यायो। रामायणमार्फत उनले सत्य, धर्म, कर्तव्य, आदर्श, नैतिकता, पारिवारिक जिम्मेवारी, त्याग र मानवताको सन्देश प्रवाह गरे । आज पनि समाजमा नैतिक मूल्यहरू कमजोर बन्दै गएको, पारिवारिक सम्बन्धहरू परिवर्तन हुँदै गएको तथा सामाजिक असहिष्णुता बढ्दै गएको सन्दर्भमा रामायणले दिएका जीवनोपयोगी शिक्षा अत्यन्त सान्दर्भिक छन् ।
भानुभक्तका अन्य कृतिहरू प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा र रामगीतामा पनि धार्मिक, नैतिक तथा सामाजिक शिक्षाको सशक्त अभिव्यक्ति पाइन्छ। उनका रचनाहरूमा भाषा सरल, शैली लयात्मक र सन्देश जीवनोपयोगी छन्। यही कारणले उनका कृतिहरू आज पनि विद्यालय, क्याम्पस तथा विश्वविद्यालयमा अध्ययन–अध्यापनका महत्वपूर्ण सामग्रीका रूपमा प्रयोग भइरहेका छन् ।
भानुभक्तको सबैभन्दा ठूलो योगदान नेपाली भाषाको विकास र विस्तारमा रहेको छ । उनले नेपाली भाषालाई साहित्य सिर्जनाको माध्यम बनाउँदै भाषिक एकताको बलियो आधार तयार गरे । नेपाल बहुभाषिक र बहुसांस्कृतिक देश भए पनि नेपाली भाषा राष्ट्रिय सम्पर्क भाषाका रूपमा स्थापित हुनुमा भानुभक्तको साहित्यिक योगदान महत्वपूर्ण रहेको छ। आज विश्वव्यापीकरणका कारण अंग्रेजी तथा अन्य विदेशी भाषाको प्रभाव बढ्दै गइरहेको अवस्थामा नेपाली भाषाको संरक्षण, सम्वर्द्धन र शुद्ध प्रयोगका लागि भानुभक्तका आदर्श अझ आवश्यक बनेका छन् ।
समकालीन सन्दर्भमा भानुभक्तको अर्को महत्वपूर्ण पक्ष उनको मानवीय दृष्टिकोण हो । उहाँका साहित्यमा जाति, वर्ग, धन वा पदभन्दा माथि उठेर मानवता, सदाचार, परोपकार र नैतिक जीवनलाई महत्व दिइएको छ । आज समाजमा बढ्दो असहिष्णुता, नैतिक विचलन, स्वार्थपरता र सामाजिक विखण्डनका बीच उनका विचारहरूले सहअस्तित्व, सद्भाव र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न प्रेरित गर्छन् । त्यसैले उनका साहित्यिक मूल्यहरू आज पनि उत्तिकै जीवन्त छन् ।
शिक्षाको क्षेत्रमा पनि भानुभक्तको योगदान प्रेरणादायी छ । उहाँका कृतिहरूले भाषा सिकाउने मात्र होइन, चरित्र निर्माण, नैतिक शिक्षा, अनुशासन, कर्तव्यबोध र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुर्याउँछन् । आजको शिक्षाले ज्ञानसँगै असल आचरण र मानवीय मूल्यको विकासलाई जोड दिइरहेको अवस्थामा भानुभक्तका रचनाहरू मूल्यपरक शिक्षाका प्रभावकारी स्रोतका रूपमा स्थापित भएका छन् ।
प्रविधिको तीव्र विकासले सूचना आदान–प्रदानलाई सहज बनाएको भए पनि भाषिक शुद्धता, साहित्य अध्ययनको रुचि र मौलिक सिर्जनाप्रतिको आकर्षण केही कमजोर हुँदै गएको देखिन्छ । यस्ता चुनौतीका बीच भानुभक्तको साहित्यले मातृभाषाप्रतिको सम्मान, मौलिकताको संरक्षण र साहित्यिक संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण प्रेरणा दिन्छ । उनका कृतिहरू डिजिटल माध्यमबाट नयाँ पुस्तासम्म पु¥याउनु आजको आवश्यकता पनि हो ।
हरेक वर्ष मनाइने भानु जयन्ती केवल एक कविको जन्मोत्सव मात्र होइन, नेपाली भाषा, साहित्य, संस्कृति र राष्ट्रिय पहिचानको उत्सव पनि हो। यस अवसरमा आयोजना गरिने साहित्यिक गोष्ठी, कविता वाचन, वक्तृत्व प्रतियोगिता, अनुसन्धानमूलक छलफल तथा सांस्कृतिक कार्यक्रमहरूले नयाँ पुस्तालाई भानुभक्तको जीवनदर्शन र साहित्यिक योगदानसँग परिचित गराउँछन् । यस्ता कार्यक्रमहरूले नेपाली भाषाप्रतिको अपनत्व र साहित्यिक चेतनालाई अझ बलियो बनाउँछन् ।
आदिकवि भानुभक्त आचार्य केवल इतिहासका महान् कवि मात्र होइन, वर्तमान र भविष्यका लागि पनि प्रेरणाका स्रोत हुन् । उनले नेपाली भाषा र साहित्यमार्फत स्थापना गरेको नैतिक मूल्य, समाजप्रतिको उत्तरदायित्व, मानवतावादी दृष्टिकोण तथा मौलिक साहित्य सिर्जनाको परम्परा आज पनि उत्तिकै सान्दर्भिक छन् । बदलिँदो समयसँगै प्रविधि, शिक्षा र समाजका स्वरूप परिवर्तन भए पनि सत्य, नैतिकता, मानवता, भाषाप्रेम र सामाजिक उत्तरदायित्वका मूल्य कहिल्यै पुराना हुँदैनन् ।
त्यसैले आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदानलाई अध्ययन, अनुसन्धान, संरक्षण र व्यवहारमा उतार्नु नै उनीप्रति व्यक्त गर्न सकिने सबैभन्दा ठूलो सम्मान हुनेछ । उनका कृतिहरूले नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानलाई आगामी पुस्तासम्म जीवन्त राख्न निरन्तर प्रेरणा प्रदान गरिरहनेछन् ।
(लेखक तनहुँको भिमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पसका उप प्राध्यापक हुन् ।)










