बन्दिपुरको धरमपानी स्वास्थ्य चौकीलाई एक्स-रे र इसिजि मेसिन सहयोग
- भञ्ज्याङ समाचारदाता (बन्दिपुर)
तनहुँको बन्दिपुर गाउँपालिका-६ स्थित धरमपानी स्वास्थ्य चौकीलाई एक्स-रे र इसिजि मेसिन सहयोग गरिएको छ । रोटरी क्लव अफ पाटन, रोटरी क्लव जापन र बन्दिपुर सामाजिक विकास समितिले स्वास्थ्यचौकीलाई उक्त मेसिन उपलब्ध गराएको हो ।
बन्दिपुर सामाजिक विकास समितिका अध्यक्ष डा. मदन पियाको पहलमा स्वास्थ्य चौकीलाई ती मेसिन उपलब्ध भएको बताइएको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई सहज रुपमा स्वास्थ्य सेवा लिन सहयोग गर्ने उद्देश्यका साथ क्लवले उक्त सामाग्रि गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष करुणा गुरुङको उपस्थितिमा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ ।
क्लवले सामाजिक सेवाको भावना सहित करिब ५ लाख ९० हजार रुपैयाँ बराबरको सामाग्रि स्वास्थ्यचौकीलाई सहयोग गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । गाउँपालिकाका अध्यक्ष थापाले क्लवले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त सामाग्रिले गाउँका जनतालाई उपचार सेवा लिन सहज हुने बताए ।
यस्तै, गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले प्राप्त स्वास्थ्य सामाग्रिले गाउँका बासिन्दालाई सामान्य स्वास्थ्य सेवा लिन अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरिन । गाउँपालिकाले धरमपानी स्वास्थ्य चौकीमा गत वर्ष ल्याब सञ्चालन गरेको थियो । दुइ जना दक्ष प्राविधिक जनशक्तिको व्यवस्थापन गरी ल्याब सञ्चालनमा ल्याइएको अध्यक्ष थापाले बताएका छन् ।
‘इसिजी र एक्सरेका लागि यहाँका सर्वसाधारण बजारमा जानुपर्दा आर्थिक भार समेत पर्ने गरेकोमा अब गाउँमै सर्वशुलभ रुपमा सेवा पाउने अवस्था बनेको छ । यस्तै, गाउँपालिकाले छिट्टै नै धरमपानी स्वास्थ्यचौकी र बन्दिपुर अस्पताललाई एम्बुलेन्स हस्तानतरणको तयारी गरेको छ ।










