तीस पिन्ट रगत संकलन
भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगरपालिका-१ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा विहीबार आयोजित रक्तदान कार्यक्रममा तीस पिन्ट रगत संकलन भएको छ । क्याम्पसको व्यवस्थापन संकायका विद्यार्थीहरुको साझा तथा गैर राजनीतिक शैक्षिक संस्था ब्यावस्थापन विद्यार्थी सर्कलले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
नेपाल रेडक्रस सोसाइटिका केन्द्रीय सदस्य प्रदिप घिमिरेले कार्यक्रम शुभारम्भ गर्दै रगतको कुनै विकल्प नभएको र रगतको खाँचो परेका बिरामीहरुको उपचारका लागि बाह्रै महिना रगत संकलन गर्न सकिने बताए । रेडक्रसको रक्त संकलन केन्द्रहरुले संकलन गर्दै आएको र रक्त दान जस्तो पुण्यकार्य क्याम्पसका विद्याथीहरु गरेकामा धन्यवाद व्यक्त गरे।

सर्कलका कार्यवाहक अध्यक्ष दिनेश वि.क.को सभापतित्वमा आयोजित कार्यक्रममा तनहुँ रेडक्रसका उपसभापति ऋषिराम पोखरेल र क्याम्पस संचालक समितिका अध्यक्ष व्रम्हदत्त तिमल्सेना, क्याम्पस प्रमुख महाप्रसाद हड्खले लगायतले रक्तदानको महत्वको विषयमा चर्चा गरेका थिए ।










