भारतीय भूपू सैनिकको ईसीएचएस सेवा अब दमौलीको रत्नहरी अस्पतालमै

दमौली : भारत सरकारको भूपू सैनिक योगदान स्वास्थ्य कार्यक्रम अन्तर्गत तनहुँ जिल्लाका भूपू सैनिकहरूलाई लक्षित गरी रत्नहरी मेमोरियल अस्पताल दमौलीसँग स्वास्थ्य सेवा साझेदारी गर्ने प्रक्रिया अघि बढाइएको छ । काठमाण्डौं स्थित भारतीय दुतवासका सैनिक सहसचिव लेफ्टिनेन्ट कर्नेल सुभजीत डेको नेतृत्वमा रहेको टोलीले आइतबार अस्पतालको निरीक्षण गरेको छ ।
टोलीले अस्पतालमा उपलब्ध भौतिक संरचना, चिकित्सा सेवा, जनशक्ति, उपकरण र व्यवस्थापन प्रणालीको मूल्याङ्कन गर्दै सम्भावित साझेदारीका पक्षहरूबारे अध्ययन गरेको थियो। निरीक्षणका क्रममा अस्पताल प्रशासनले आफ्नो सेवा क्षमताबारे विस्तृत जानकारी दिए ।
भूपू सैनिक योगदान स्वास्थ्य कार्यक्रम अन्तर्गत नेपाली भूमिमा बसोबास गर्ने भारतीय भूपू सैनिक र तिनका आश्रित परिवारहरूलाई भारत सरकारमार्फत निःशुल्क वा सहुलियतदरमा स्वास्थ्य सेवा उपलब्ध गराइन्छ । हालसम्म तनहुँ जिल्लाका भूपू सैनिकहरू उपचारका लागि पोखरा, चितवनका अस्पताल जानुपर्ने हुन्छ ।
भूपू सैनिक संघ तनहुँका अध्यक्ष क्या. सहवीर उचाईले जिल्लामा हाल करिब दुई हजार पाँच सय भूपू सैनिक रहेको जानकारी दिए । उनले भने, “दमौलीमै सीएचएससँग आवद्ध भएपछि जिल्लावासी भूपू सैनिकहरूले अब सहजै दमौलीमा सेवा प्राप्त गर्न सक्नेछन् । टाढा–टाढा जानुपर्ने झन्झट हट्नेछ ।” अस्पतालसँगको साझेदारी कार्यान्वयनमा आएपछि तनहुँ मात्र होइन, छिमेकी जिल्ला लमजुङको मध्यनेपाल, गोरखाको पालुङटार लगायतका क्षेत्रका भूपू सैनिकहरू पनि लाभान्वित हुने उनले बताए ।
निरीक्षणमा सहभागी सैनिक सहचिव सुभजीतले अस्पतालका सेवा र पूर्वाधारप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् । उनले अस्पतालले आवश्यक मापदण्डहरू पूरा गरेकाले ईसीएचएसको सेवा दिने प्रक्रिया अगाडि बढाइने बताए ।










