तनहुँ प्रहरीले विभिन्न मुद्दाका फरार आठ प्रतिबादी पक्राउ
भञ्ज्याङ न्यूज

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार आठ प्रतिबादीलाई पक्राउ गरेको छ । लागुऔषध, सार्वजनिक अपराध, जुवा, लेनदेन र सवारी ज्यान मुद्दा लगायतका मुद्दामा फरार रहेका प्रतिबादीलाई बुधबार पक्राउ गरी कानुनी कारबाहीको लागि तनहुँ जिल्ला अदालतमा पेश गरेको हो ।
प्रहरीले विगत चार बर्षदेखि १३ बर्षसम्म फरारमा रहेका प्रतिबादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । लागु औषध चरेश मुद्दामा फरार रहेका गोरखा पालुङटार-१ खेप्लाङ घर्रभई हाल तनहुँको म्याग्दे-६ शेराटार निवासी ३० बर्षीय सुरेश तामाङलाई पक्राउ गरेको हो ।
तनहुँ अदालतको बिसं ०७६ कार्तिक २५ गतेको फैसलाले तीन महिना कैद र रु. पाँच हजार जरिवाना गरेपछि निज फरार हुदै आएका थिए ।
दुइ बर्षदेखि फरार रहेका तामाङलाई पक्राउ गरी अदालत समक्ष उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
त्यसैगरी लागुऔषध चरेश मुद्दामा सिन्धुली हरिहरपुरगढी गाउँपालिका-३ घरभइ हाल शुक्लागण्डकी नगरपालिका-५ बेलचौतरा बस्दै आएका २३ बर्षीय दिपक राइलाई पक्राउ गरेको छ ।
तनहुँ जिल्ला अदालतका विसं ०७६ कार्तिक २५ गतेको फैसलाले राइलाई एक महिना कैद तोकेपछि निज फरार हुदै आएकोमा दुइ बर्ष पछि पक्राउ परेका हुन् ।
त्यसैगरी बिगत १३ बर्ष पहिलेदेखि फरार रहेका एक जना सहित जुवा मुद्दामा बिगत चार बर्षदेखि फरार एक, सार्वजनिक अपराध मुद्दामा बिगत ६ बर्षदेखी फरार रहेका दुइ, लेनदेन मुद्दामा फरार रहेका एक, सवारी ज्यान मुद्दामा बिगत चार बर्षफरार रहेका एक जना गरी जम्मा ६ जना समेत गरी आठ जनालाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीले भदौ १ गते देखि ९ गतेसम्म पक्राउ गरी तोकिएको जरिवाना रु. बीस हजार एक सय पचास भुक्तानको लागि अदालतमा उपस्थित गराइएको उहाँले बताउनुभयो ।










