परासर मार्ग कालोपत्र गरिंदै

व्यास नगरपालिकाको गौरवको अयोजनाअर्न्तर्गत पर्ने परासर मार्गमा पक्की नालासहित कालोपत्र गरिने भएको छ । विश्व बैंकको अनुदान सहयोगमा १० दशमलव ५५० किलोमिटर दूरीमा कालोपत्र गर्न लागिएको हो । उक्त मार्गअर्न्तर्गत पर्ने बुल्दीखोला, घाँसीकुवा बेल्टारी, अधेरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्ती सडकमा जोडिनेछ । व्यास- ७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी रिङरोड बनाउन लागिएको नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले बताए। “कालोपत्रपश्चात् यहाँका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्”, उनले भने, “कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा लगायत क्षेत्रमा सहज पहुँच पुग्नेछ।”

ठेक्का मूल्याङ्कनका लागि सूचना प्रकाशित गरी निर्माण कार्यलाई अघि बढाउन लागिएको तिवारीले बताए । “नालासहितको सडक कालोपत्र भएपछि यस क्षेत्रको विकासमा परिवर्तन आउने विश्वास गरेका छौँ”, उनले बताए। उनका अनुसार व्यासका गौरवको आयोजनामध्ये सुरु गर्न लागिएको यो पहिलो आयोजना हो ।

आयोजना निर्माणका लागि बिकेएचटिडिसिएल-एसिपिएल जेभी काठमाडौँले रु ५२ करोड ७८ लाख ३० हजार चार सय २७ मा अनुमानित रकमसहित ठेक्का पाएको तिवारीले जानकारी गराए। विसं २०८२ असारसम्ममा आयोजना सम्पन्न गर्ने योजना रहेको नगरपालिका कार्यालयले जनाएको छ । परासर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्ग गरी तीन वटा मार्गका लागि प्रस्ताव पेस गरेकामा उक्त आयोजना छनोटमा परेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए। उनका अनुसार बैंकले नगरपालिकाभित्र विभिन्न अध्ययन तथा अवलोकनपश्चात् उक्त आयोजना छनोट गरेको हो ।

छनोटपश्चात् सहरी विकास मन्त्रालयले बजेटका लागि विश्व बैंकसँग सम्झौता गरेपछि नगरपालिकाले बोलपत्र आहृवान प्रक्रिया अघि बढाएको नगरप्रमुख न्यौपानेले बताए । “गुणस्तरीय सडक निर्माणपछि यहाँ व्यवस्थित सहरीकरण हुँदै जानेछ”, उनले भने, “सामान्यतया सवा करोडले एक किमी सडक कालोपत्र गर्ने प्रावधान छ । विश्व बैंकको मापदण्डअनुसार एक किमीका लागि रु चार करोड खर्च गरी गुणस्तरीय सडक निर्माण गर्ने योजना छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker