लोपको संघारमा गुरुङ समुदायको घाँटु नाच

“पहिला–पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ । नयाँ पुस्ताको चासो कम छ”, तनहुँको भानु नगरपालिका–१३ रयालेका गलबहादुर गुरुङले भन्नुभयो, “अहिले कतै–कतैमात्रै घाटु नचाएको पाइन्छ ।”

बदलिँदो अवस्थाअनुसार नयाँ पुस्तामा संस्कृतिप्रति कम चासो भएकाले घाटु लोप हुँदै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिला–पहिला घाटु नचाउँदा निकै उल्लासपूर्ण अवस्था हुन्थ्यो, अहिले त संरक्षणका लागि मात्रै भनेर घाटु नचाउने गरेको पाइएको छ ।”

उहाँले आजभोलि कहीँकतैमात्रै घाटु नचाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“अहिलेका पुस्तामा केही कुराको मतलब छैन । पहिला जुन उत्साह थियो, अहिले त्यो छैन । हरेक टोलमा घाटु अनिवार्य थियो तर अहिले संरक्षण गरौँ भन्ने भावनाले मात्र घाटु नचाउने परम्परा बस्न थाल्यो ।”

आँबुखैरेनी गाउँपालिका–५ स्थित भोटेश्वारामा घाटु लोपोन्मुख अवस्थामा पुगिसकेको छ । पन्ध्र वर्ष अगाडिसम्म घाटु नचाउने गरिए पनि त्यसयता घाटु नचाउन छाडिएको छ । तर गाउँका केही युवाको सक्रियतामा १५ वर्षपछि पुनः घाटु नाच प्रदर्शन गरिएको छ ।

स्थानीय रञ्जित गुरुङ र सूर्यमानसिंह गुरुङको सक्रियतामा लोप हुँदै गएको घाटुको संरक्षणका लागि घाटु नाच सुरु गरिएको हो । बुद्ध जयन्तीको अवसर पारेर घाटु नाच पुनः सुरु गरिएको स्थानीयवासी सूर्यमानसिंह गुरुङले जानकारी दिनुभयो ।

“पछिल्लो समय घाटु नाच लोप हुँदै गइरहेको छ, गुरुङ समुदायमा प्रख्यात रहेको यो नाच संरक्षण गर्नुपर्छ भन्ने उद्देश्य राखेर हामी लागिपरेका छौँ”, उहाँले भन्नुभयो, “घाटु नाचको संरक्षण गर्दै भावी पुस्तालाई यसबारेमा जानकारी प्रदान गर्ने लक्ष्य हो ।”

स्थानीय रञ्जित गुरुङले घाटु नाचबारे आवश्यक जानकारी सिकेपछि १५ वर्षको अन्तरालमा पहिलोपटक यो नाच प्रदर्शन गरिएको हो । “लामो समयदेखि यो नाच निरन्तरता हुन सकेन, घाटु नाच नचाउने गुरुबा नभएका कारण पनि यसलाई निरन्तरता दिन सकेनौँ”, उहाँले भन्नुभयो ।

घाटु नाच्नका स्थानीय तीन कन्या छनोट गरिएको छ । उनीहरूलाई तीन–चार दिन नाच्नसिकाइएको थियो । “अहिलेका पुस्तालाई यसबारेमा जानकारी नै छैन, कन्यालाई पनि नचाउनुअघि सबै कुरा सिकाइसकेका छौँ”, उहाँले भन्नुभयो ।

गुरुङ सस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटु नाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिन्छ । सति र बाह्रमासे गरी घाँटु नाच दुई प्रकारको हुन्छ । सतिघाँटु श्रीपञ्चमीमा सुरु भई वैशाख पूर्णिमामा अन्त्य गरिन्छ भने बाह्रमासे घाटु जुन बेला पनि नाच्ने गरिन्छ । गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाँटु नृत्य पनि ठाउँअनुसार फरक–फरक पाइए पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै हुने बताइन्छ ।

घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयवस्तुअनुसार आवश्यक सङ्ख्यामा छानिन्छ । उनीहरूलाई घाटु नाच्नुअघि अक्षताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गङ्गाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने कन्याको आँखा बन्द हुने गर्दछ । यसलाई देवी चढेको मानिन्छ । कन्याको आँखा बन्द नभएसम्म देवीको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाटु सुरु गरिन्छ । घाटु नाचको सुरुआत मङ्गल चरणबाट गरिन्छ । इष्टदेवीहरूको साथमा आमा, धर्ती र आकाशलाई साक्षी राखिन्छ ।

घाटु नृत्यमा वाद्य र साज शृङ्गारभन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ । कारुणिक र हृदयविदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हँुदा गाउने कलाकार र दर्शकसमेत धुरुधुरु रोएको पाइन्छ । सतिघाटुमा गुरुबाले गीतबाटै मङ्गलचरण गरी घाटु देवता जगाउने, घाटुली चयन, शृङ्गार गर्ने, नृत्यकला सिकाउने सति ढलाउने सति जगाउने काम गर्छन् ।

सत्रौँ शताब्दीदेखि घाटु नृत्यको प्रारम्भ भएको मानिन्छ । यस नृत्यमा रजस्वला नभएका कन्यालाई स्थानीय वेषभूषामा सजाइ मध्ययुगीन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाटु नृत्यको प्रारम्भ गरिन्छ । सदियौँदेखि पुरानो सांस्कृतिक नाच भए पनि पछिल्लो पुस्ताको चासो नहुनु र पुरानो पुस्ता सकिँदै जाँदा लोप हुँदै गएकाले यसलाई जोगाउने प्रयास गरिएको रञ्जित गुरुङले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker