आदिकवि भानुभक्त क्याम्पसमा नयाँ विद्यार्थीलाई स्वागत
भञ्ज्याङ समाचारदाता (दमौली)

दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा बिविए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम बुधबार सम्पन्न भएको छ । विविए निर्देशक वीरेन्द्र पौडेलको सभापतित्वमा भएको उक्त स्वागत कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।
उक्त कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले विद्यार्थीहरुलाई स्वागत गर्दै विविएको शुल्क संरचना, क्याम्पसमा विद्यार्थीहरुले पालना गर्नुपर्ने नियम तथा आचरण, छात्रवृत्ति वितरण प्रणाली र क्याम्पसको प्रशासनिक साङ्गठनिक ढाँचा, विद्यार्थी साहायता कार्यक्रम लगायतको विषयमा अभिमुखीकरण गरेका थिए ।
बीबीए कार्यक्रमका निर्देशक वीरेन्द्र पौडेलले प्रथम सेमेष्टरको पाठ्यक्रमको संरचना, कक्षा शिक्षण पद्धति र मुल्यांकन प्रणाली बारेमा अभिमुखीकरण गरेका थिए भने सहायक क्याम्पस प्रमुख कल्पना लम्सालले कार्यक्रमको सहजीकरण गरेका थिए ।
क्याम्पसले व्यवस्थापन संकाय डिनको कार्यलयबाट ३३ जना विद्यार्थीहरुलाई भर्ना गर्न पाउने अनुमति पाएको छ । सोही अनुसार क्याम्पसमा विद्यार्थीहरूको भर्ना सम्पन्न कार्यकम सम्पन्न भएको थियो । नयाँ भर्ना भएका विद्यार्थीहरु मध्ये यस सेमेस्टरमा क्याम्पसले ३ जना विद्यार्थीहरुलाई शिक्षण शुल्क वापतको रकम छात्रवृत्तिमा उपलब्ध गराएको छ ।