बन्दिपुरमा अंग्रेजी नयाँ वर्षमा ‘सडक खाना महोत्सव’

अंग्रेजी नयाँ वर्षको अवसरमा तनहुँको बन्दीपुर गाउँपालिकास्थित बन्दिपुर बजारमा सडक खाना महोत्सव हुने भएको छ । क्षेत्रीय होटल संघ बन्दिपुर बजार इकाई, उद्योग बाणिज्य संघ बन्दिपुर बजार इकाई, बन्दिपुर पर्यटन बिकास समिति आयोजनामा सडकमै मनोरञ्जनसहित खाना महोत्सव आयोजना गर्न लागिएको हो ।
डिसेम्बर ३१ र जनवरी १ गरी २ दिन चल्ने यो सडक खाना महोत्सवबाट बन्दिपुरमा आन्तरिक तथा बाहिया पर्यटकको आगमन बढाउने विस्वास रहेको क्षेत्रीय होटल संघ बन्दिपुर बजार इकाईका अध्यक्ष विपिन प्रधानले बताए । उनले भने, ‘कोरोना कहरका कारण थल परेको बन्दिपुरलाई पुनः चलयमान बनाउन सडक महोत्सव आयोजना गरिएको हो ।’
‘पहाडकी रानी उपनामले परिचित पर्यटकीय नगरी विविध कारणले प्रख्यात भएपनि पछिल्लो समय कोभिड-१९ का कारणले यहाँको पर्यटन क्षेत्र सिथिल छन्’, उनले भने, ‘यो सडक खाना महोत्सवले बन्दिपुरलाई लयमा फर्काउन मद्दत पुर्याउनेमा विस्वस्ता छौं ।’
यस्तै, महोत्सवमा स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिने पर्यटन विकास समितिका पुर्व अध्यक्ष बैंस गुरुङले बताए । उनले भने, ‘बन्दिपुर घुम्न आउने पर्यटकलाई यहाँको स्थानीय कृषि उत्पादन चखाउँदै बन्दिपुरको प्राकृतिक सुन्दरतामा रमाउने वातावरण सिर्जन गरिएको हो ।’
‘तनहुँ भित्र र आसपासका पर्यटकलाई पोखरा जान नपर्ने गरी बन्दीपुरमै रमाइलो गर्ने व्यवस्था गर्न सडक खाना महोत्सवको आयोजना गरेका हौं,’ उनले भने, ‘त्यसैले बन्दिपुरकै पुरानो बजारको सडकमै खाऔँ, सडकमै रमाऔं नारालाई मुख्य बनाएर अगाडि बढेका छौं ।’
यस्तै, महोत्सवमा जिल्लाभित्र र आसपासबाट करिव ७ हजार पर्यटक सहभागि हुने अनुमान गरिएका आयोजकले जनाएको छ । यहाँका बजार छेउछाउमा दोहोरो लाईनमा मिलाए बनाइएका प्यागोडा शैलीका कलात्मक घरहरु, ढुङ्गा ओछ्याइएका बाटाहरु, रहेको नेवारी कला र संस्कृति, अठारौं शताब्दी ताका निर्मित खड्क देवी, विन्ध्यवासिनी, थानी देवी, महालक्ष्मी र नारायण मन्दिर, पारपानी महादेव, तीनधारा महादेव, मुकुन्देश्वरी, फराकिलो टुडिखेल, रानी वन सहिद पार्क आदि आकर्षण हुन् ।










