व्यास नगरपालिकाको एक वडा विभाजन, तीन वडाको सिमाना हेरफेर गर्ने तयारी
- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको व्यास नगरपालिकाले वडा विभाजनका साथै केही वडाका सिमाना हेरफेर गर्ने तयारी गरेको छ । नगरपालिकाको बुधबार सम्पन्न ३४औं नगरसभाले वडा नं. ६ लाई विभाजन गर्ने र वडा नं. ८ र ९ को केही क्षेत्रलाई अन्य वडामा समायोजना गरी वडाहरुको सिमाना हेरफेर तथावडा विस्तार गर्ने निर्णय गरेको छ ।
नगरसभामा वडा नं. ६ लाई दुइ वटा वडा बनाउने प्रस्ताव सर्वसम्मत रुपमा पास भएको नगरप्रमुख बैकुण्ठ न्यौपानले बताएका छन् । नगरसभामा भएका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलन नगरप्रमुख न्यौपानले साविक श्याम्घाको वडा नं. १, २, ३ र ४ लाई शिशाघाट केन्द्र बनाएर एउटा बनाउने र श्याम्घाको हटिलाई केन्द्र बनाएर साविकका वडा नं. ५, ६, ७, ८ र ९ लाई अर्को वडा बनाउन प्रदेश सरकार हुँदै संघीय सरकार समक्ष पठाउने निर्णय भएको बताएका छन् ।
नगरप्रमुख न्यौपानले भने, ‘वडा नं. ८ को कोटथोक गाउँलाई वडा नं. ७ मा र वडा नं. ९ को छापलाई वडा नं. ११ मा गाभ्ने निर्णय नगरसभाले गरेको छ । वडा नं. ११ को पातलगाउँलाई वडा नं. ९ मा गाभ्ने निर्णय भएको छ ।’
उपप्रमुख मीरा जोशीको संयोजकत्वमा वडा सीमाना हेरफेरका लागि समिति गठन गरेको नगरपालिकाले समितिको प्रतिवेदनका साथै सर्वदलीय बैठकको निर्णय बमोजिम नगरपालिकाको आन्तरिक सिमाना हेरफेर तथा वडा विस्तारको निर्णय गरिएको नगरप्रमुख न्यौपानले बताए ।
यस्तै, नगरसभाले छिमेकी पालिकाका वडाको केही भागलाई व्यास नगरपालिकामा समावेश गर्न प्रस्ताव पेश गर्ने निर्णय समेत गरेको छ । भानु नगरपालिकाको वडा नं. १३ स्थित टुटेपानी गाउँलाई व्यासको वडा नं. ८ मा समावेश गर्न प्रस्ताव नगरसभाले गरेको छ । बन्दिपुर गाउँपालिकाको वडा नं. ३ को तामुङ क्षेत्रका दुइ वटा गाउँलाई व्यास नगरपालिकाको वडा नं. १४ मा र भानु नगरपालिकाको वडा नं. ६ को मूलपानीका दुइ वटा टोललाई व्यास नगरपालिकाको वडा नं. १२ मा समावेश गर्ने प्रस्ताव गरिएको पत्रकार सम्मेलनमा नगरप्रमुख न्यौपानले जानकारी गराएका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार गाउँपालिका वा नगरपालिकाको संख्या वा सिमाना हेरफेर गर्नुपरेमा हेरफेरबाट प्रभावित हुने गाउँपालिका तथा नगरपालिकाको सभामा तत्काल कायम रहेको सदस्य संख्याको दुइ तिहाइ बहुमतबाट प्रसताव पारित गरी प्रदेश सरकारमा पठाउनुपर्ने उल्लेख छ। ऐनमा गाउँपालिका वा नगरपालिकाको संख्या र सिमाना हेरफेर गर्नुपर्ने भएमा गाउँपालिका वा नगरपालिकाको निर्वाचन हुने मितिभन्दा कम्तिमा एक वर्ष अगावै प्रस्ताव गर्नुपर्ने व्यवस्था छ ।
साढे १० करोड बेरुजु
व्यास नगरपालिकाको लेखासमितिले आर्थिक वर्ष २०७५/०७६ सम्मको १० करोड ५० लाख ४७ हजार ७६० रुपैयाँ बेरुजु तथा पेश्की देखाएको छ । उक्त बेरुजु रकम नगर सभाले फछ्र्यौट गर्ने प्रस्ताव पारित गरेको छ । महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको रकम नगर सभा मार्फत सम्परीक्षण गराउने प्रस्ताव ३४औं नगर सभाले पारित गरेको हो ।
नगर प्रमुख न्यौपानेले हालसम्म देखिएका बेरुजु रकम नगर सभामा प्रस्तुत गरेर सम्परीक्षण गराउने निर्णय भएको बताए । उनले भने, ‘कतिपय हामीले गरेका कामको रकम बेरुजु देखिएकोमा सभामार्फत सम्परीक्षण गराउनुपर्ने देखिएकाले यस्तो निर्णय गरिएको हो ।’
प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले पहिल्यैदेखिका रकम बेरुजु देखिएकामा समिति नै गठन गरेर कटौती भएको भन्दै महालेखाको सुझावअनुसार नै नगर सभामा प्रस्ताव गएको बताएका छन् ।
त्यस्तै, नगरसभाले चालु आर्थिक वर्ष २०७७/०७८ को संशोधित बजेट तथा कार्यक्रम १ अर्ब ५७ करोड २७ लाख १२ हजारलाई यथावत राखी संशोधित आयमा संघ सरकार तथा जिल्ला समन्वय समितिबाट प्राप्त हुने २ करोड २८ लाख १९ हजार थप गरी आन्तरिक आयमा सोही बराबर घटाउने निर्णय गरेको छ ।
नगरसभाबाट चालु आर्थिक वर्षको संशोधित आर्थिक विधेयक २०७७ र संशोधित विनियोजन विधेयक २०७७ पारित गरिएको छ । नगरसभामा पेश भएका विभिन्न प्रस्ताव एवं अन्य समसामयिक विषयहरु उपर विभिन्न वडाबाट २७ जनाले छलफलमा भाग लिएको नगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष मोहन कुमार श्रेष्ठले बताए ।
बीपी वन वाटिका खेलमैदानको कवर्डहल स्थानान्तरण गर्ने प्रस्ताव पारित गरेको नगरसभाले घर बहाल कर लगाउने प्रोजनका लागि आवश्यक तथ्याङ्क संकलन एवं दर निर्धारण गर्ने उद्देश्यका साथ आवश्यक प्रक्रिया अगाडि बढाउन वडाध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा घरबहाल कर व्यवस्थापन समिति समेत गठन गरेको छ । स्थानीय स्तरमा सञ्चालन हुने सार्वजनिक यायतायातको भाडादर निर्धारण एवं अद्यावधिक गर्ने कार्यका लागि नगर कार्यपालिकाका अधिकार प्रत्यायोजन गर्ने निर्णय नगरसभाले गरेको छ ।
नगरसभाले वडा नं. २ र ३ मा ८ आना भन्दा बढी क्षेत्रफलमा निर्माण हुने व्यवसायीक प्रयोजनका भौतिक संरचनाहरुको निर्माण स्वीकृति प्रदान गर्दा ७० प्रतिशत भन्दा बढी जग्गा उपयोग गर्न नपाउने गरी निर्माण स्वीकृती गर्ने तर ५० प्रतिशत भन्दा बढी जग्गा उपयोग गरी संरचना निर्माण गर्ने जग्गाधनिहरुले अनिवार्य रुपमा अण्डर ग्राउण्ड पार्किङको व्यवस्था मिलाउनुपर्ने गरि मापदण्ड निर्धारण गरेको छ । ३४औं नगरसभाको अवसरमा उत्कृष्ट कार्य गर्ने उपभोक्ता समिति र टोल विकास संस्था तथा अधिकतम कर तिर्ने करदाता लगायत उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरु समेत गरी १७ जनालाई नगरपालिकाले सम्मान गरेको थियो ।










