एमाले प्रतिनिधि चयन : तनहुँ–१ मा मतगणना विवादित, उम्मेदवारको राय, सुझावअनुसार निकास निकाल्ने प्रयास

दमौली : नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनका क्रममा तनहुँ क्षेत्र नम्बर १ मा मतगणनामा आपत्कालीन स्थिति सिर्जना भएपछि निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि रोकिएको छ। शनिबार साँझदेखि आइतबार मध्यरातसम्म उत्पन्न विवाद, कुटपिट र मतपेटिका गायब भएपछि निर्वाचन अधिकृतले अर्को सूचना नआएसम्म मतगणना स्थगित गर्ने निर्णय गरेका हुन् ।
बन्दीपुर गाउँपालिकाको मतगणनाबाट सुरु विवाद
क्षेत्र नं. १ अन्तर्गतका भानु नगरपालिका, आँबुखैरेनी, देवघाट, बन्दीपुर र व्यास नगरपालिकामा खसेका १ हजार १६६ मत गणनाको क्रममा बन्दीपुर गाउँपालिकामा अनियमितता भएको भन्दै विवाद सुरु भएको थियो । २५७ मत दर्ता रहेकामा २४२ मत खसेको र गणनाको पहिलो लटमा घनश्याम देवानले १०० मध्ये ९८ मत पाउँदा विवाद चुलिएको थियो। महिला तर्फ फुलमती थापाले पनि १०० मध्ये ९९ मत पाएकी थिइन् ।
विपक्षी समूहले “सतप्रतिशत मत आउनै नसक्ने” दाबी गर्दै मृत मतदाता समेतको नाममा मतदान भएको आरोप लगाएपछि गणनास्थलमा वातावरण तनावपूर्ण बनेको बताइएको छ । प्रमुख निर्वाचन अधिकृत शिवदत्त ढकालले तत्कालका लागि बन्दीपुरको मतगणना स्थगित गर्दै सूचना जारी गरेका थिए ।
अन्य तीन पालिकाको मतगणना शान्तिपूर्वक
यस्तै, देवघाट, आँबुखैरेनी र भानु नगरपालिकाको मतगणना भने तुलनात्मक रूपमा शान्तिपूर्वक सम्पन्न भएको थियो । देवघाटबाट खुल्लातर्फ हरिराज कँडेल ८८, पूर्णबहादुर गुरुङ ७३, घनश्याम श्रेष्ठ २६, प्रेमकुमार राना १८, श्रीराम कार्की १४ र रामबहादुर गुरुङ १३ मत प्राप्त गरेका थिए। महिला र युवा समूहबाट पनि प्रतिस्पर्धीले अपेक्षाकृत सामान्य मत ल्याएका थिए ।
आँबुखैरेनी र भानु नगरपालिकाको नतिजाले भने आकस्मिक रूपमा मतभार केही उम्मेदवारतर्फ केन्द्रित भएको देखिए पनि ती क्षेत्रका परिणामलाई समूहहरूले स्वीकारेका थिए ।
मध्यरात कुटपिट र मतपेटिका गायब
बन्दीपुरको गणना रोकिएपछि व्यास नगरपालिकाको गणना बिहानसम्म स्थगित राखिएको थियो । तर, मध्यरात करिब १ः३० बजे जिल्ला पार्टी कार्यालयमा कुटपिट भएको बताइएको छ । जिल्ला अध्यक्ष हरिराज कँडेल र मतगणक कर्मचारी सुनिल पाण्डेमाथि हातपात गर्दै विवादित भनिएको बन्दीपुरको मतपेटिका लिएर पूर्णबहादुर गुरुङ नेतृत्वको समूह फरार भएको आरोप पार्टी अध्यक्ष कँडेलले लगाए ।
कँडेलले भने, “मतगणना रोकिएपछि भोलि कसरी अघि बढ्ने भन्ने छलफल गरिरहेका थियौं । यिनै क्रममा समूह आएर धकेलाधकेल र कुटपिट गर्दै मतपेटिका लिएर गए ।” उनले मतपेटिका अहिले कहाँ छ भन्नेबारे कुनै जानकारी नभएको बताए ।
तर, पूर्णबहादुर गुरुङ समूहका नेताहरूले भने आफूहरूले धाँधली रोक्न मात्रै कार्यालय पुगेको र सामान्य भनाभनबाहेक कुटपिट नभएको दाबी गरेका छन्। उनीहरूको आरोप छ– “मतगणना स्थगित भए पनि नेताहरू विवादित मतपेटिका भएको कोठामा बसेर केही गर्न लागेका थिए ।”
पीएस–खगराज शक्ति द्वन्द्वको छायाँ
तनहुँमा एघिल्ला दिनदेखि नै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षबीच तीव्र शक्ति संघर्ष चल्दै आएको छ । जिल्ला इन्चार्ज केदार सिग्देल र अध्यक्ष कँडेल खगराज पक्ष नजिक मानिन्छन् ।
बन्दीपुरमा सतप्रतिशत मत ल्याएका घनश्याम देवान भने हालै एमालेमा फर्किएका किसान श्रेष्ठ समूहका मानिन्छन् । यी आन्तरिक गुटगत लाभ–हानिले पनि मतगणना प्रक्रियामा तनाव थपेको विश्लेषण स्थानीय नेताहरूको छ ।
अर्को सूचना नआएसम्म प्रक्रिया रोकियो
यता निर्वाचन अधिकृत ढकालले राति सूचना जारी गर्दै क्षेत्र नम्बर १ को सम्पूर्ण मतगणना अर्को सूचना नआएसम्म रोकिएको जनाएका हुन् । मध्यरात मतपेटिका गायब भएपछि निर्वाचन प्रक्रिया पुनः सुरु हुने सम्भावना झन् जटिल बनेको नेताहरूले बताइरहेका छन् । क्षेत्र नं. १ मा ५ प्रतिनिधि चयनका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा थिए । अब मतपेटिका नभएपछि पुनः मतदान गर्ने, विवादित वडा पुनःगणना गर्ने वा राजनीतिक सहमतिको माध्यमबाट निकास खोज्ने भन्ने विषय खुला रहेको एमाले नेताहरूले बताएका छन् ।
क्षेत्र नं. २ मैत्रीपूर्ण–सर्वसम्मत चयन
यसैबीच, तनहुँ क्षेत्र नम्बर २ मा भने सबै क्लस्टरबाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि टुंगो लागेको छ । खुल्लातर्फ श्रीप्रसाद श्रेष्ठ, राजेश्वर ढकाल र विष्णुभक्त सिग्देल चयन भए । महिलातर्फ बिर्सना श्रेष्ठ र विष्णुमाया अधिकारी पराजुली तथा ४० वर्षमुनिका युवातर्फ उज्वल खनाल सर्वसम्मत भएका छन् ।
दलित क्लस्टरबाट मुक्ति समाजका जिल्ला अध्यक्ष भरत लामगादे पनि सर्वसम्मत रूपमा चयन भएका छन् । क्षेत्र २ को सहमतिको वातावरण र क्षेत्र १ को तनावपूर्ण परिस्थितिले तनहुँमा एमालेको आन्तरिक अवस्थाबारे गम्भीर प्रश्न उठाएको स्थानीय राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।
अब के हुन्छ ?
क्षेत्र नम्बर १ को मत गणना कार्य प्रभावित भएपछि आगामी प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा उम्मेदबार र एमालेका केन्द्र र जिल्लाका नेताहरु विच आइतबार अबेरसम्म छलफल भएपनि त्यसले केही निष्कर्ष निकाल्न सकेन । दुवै पक्षका नेताले महाधिवेशन प्रतिनिधि, उम्मेदवार र केन्द्रका नेतासँग छलफल गरी निकास खोज्ने बताइरहे पनि विवाद समूहगत पक्षमा परेकाले समाधान चाँडै ननिस्कने विश्लेषण गरिएको छ । मतपेटिका गायब भएको पुष्टि भइसकेपछि पुनःगणना वा सहमतिमार्फत नयाँ निर्णयमा पुग्नुपर्ने दबाब बढेको छ ।
त्यस्तै, यसै विषयमा तनहुँका पार्टी सचिव प्रदीपराज अधिकारीले सकेसम्म विवादलाई समाधान गर्दै सर्वसम्मत रुपमा प्रतिनिधि चयन गर्ने प्रयास जारी रहेको छ । उनले भने, ‘अब कसरी अगाडि बढ्ने भन्ने विषयमा उम्मेदवारहरुबाट आएको रायसुझाव अनुसारनै अगाडि बढ्ने र निकास निकालिनेछ ।’










