सम्पादकीय : मानुङकोटको पर्यटन

पर्यटन याम सुरु भएसंगै पर्यटकीय गन्तव्यमा चहलपहल बढ्न थालेको छ । तनहुँको व्यास नगरपालिका–५ मा अवस्थित मानुङकोटमा केहीदिन यता आन्तरिक पर्यटक पुग्न थालेका छन् । पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ मानुङकोट । दमौली बजार, व्यास पराशर क्षेत्र, वरिपरिका हरिया पहाड र टाढा देखिने हिमश्रृंखलाको मनमोहक दृश्यले मानुङकोटलाई पर्यटनको नयाँ केन्द्र बनाएको छ । विशेषगरी जाडो मौसम सुरु भएसँगै यहाँ देखिने कुहिरो र सूर्योदयको दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । दसैं बिदासँगै दैनिक सयौँ पर्यटक मानुङकोट पुग्न थालेका छन् ।

पछिल्लो एक सातादेखि बढेको पर्यटकीय चहलपहलले यस क्षेत्रको पर्यटन सम्भावना उजागर गरेको छ । यो दृश्य केवल पर्यटकको भीड बढेको संकेत होइन, ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने अवसर पनि हो । कुनै समय खानेपानी र पूर्वाधारको अभावले बासिन्दा गाउँ छाड्न बाध्य भएको मानुङकोट अहिले पर्यटनका कारण नयाँ जीवन पाउने अवस्थामा पुगेको छ । गाउँमा होटल तथा अन्य व्यवसाय सञ्चालन हुन थालेका छन् । एक दर्जनभन्दा बढी होटल सञ्चालनमा रहनुले स्थानीयस्तरमा रोजगारी र आम्दानीका अवसर बढेको देखाउँछ । पर्यटकको आगमनसँगै स्थानीय उत्पादन, कृषि उपज र सेवाको माग बढ्न सक्छ । यसले गाउँमै बसेर केही गर्ने चाहना भएका युवालाई अवसर प्रदान गर्नुका साथै बसाइँसराइको चाप घटाउनसमेत सहयोग पुर्याउन सक्छ।

पर्यटनको सम्भावना पहिचान गर्दै व्यास नगरपालिकाले मानुङकोटलाई पर्यटकीय गाउँका रूपमा विकास गर्ने योजना अघि सारेको छ । नगर विकास कोषको बजेटअन्तर्गत एकीकृत जग्गा विकास आयोजना र पहाडी बस्ती विकास कार्यक्रमका लागि स्थलगत अध्ययन भइरहेको छ । सहरी विकास मन्त्रालयको सहयोगमा सडक कालोपत्र गरिएको छ । कठिन भूभागमा आरसिसी ढलान, दृश्यावलोकन स्तम्भ तथा रेलिङसहितको पैदलमार्ग निर्माणले पर्यटकका लागि सहजता थपेको छ । त्यस्तै, खानेपानी योजना निर्माण कार्य समेत चलिरहेको छ। यी प्रयासले मानुङकोटको विकासका लागि आधार तयार गरेका छन् ।

अब यस्ता योजनालाई समयमै सम्पन्न गरी प्रभावकारी उपयोग र नियमित मर्मतसम्भारमा ध्यान दिनुपर्छ । तर, सडक, होटल र अन्य भौतिक संरचना निर्माण हुँदैमा कुनै ठाउँ दिगो पर्यटकीय गन्तव्य बन्न सक्दैन। पर्यटनको वास्तविक सफलता स्थानीय समुदायले पाउने लाभ, प्राकृतिक वातावरणको संरक्षण र सांस्कृतिक पहिचानको निरन्तरतासँग जोडिएको हुन्छ । मानुङकोटमा पर्यटकको चहलपहल बढ्दै जाँदा फोहोर व्यवस्थापन, खानेपानीको पर्याप्तता, शौचालय, पार्किङ, सुरक्षित पैदलमार्ग र व्यवस्थित बस्ती विकासलाई प्राथमिकता दिन आवश्यक छ। पर्यटकको संख्या बढ्ने तर त्यसअनुसार आधारभूत सेवा र व्यवस्थापन विस्तार नहुने हो भने आकर्षणसँगै समस्या पनि बढ्न सक्छ । प्लास्टिकजन्य फोहोर, अव्यवस्थित निर्माण र जथाभावी सडक विस्तारले यहाँको प्राकृतिक सौन्दर्यमा असर पार्न सक्छ ।

मानुङकोटको अर्को विशेषता यसको पौराणिक तथा सांस्कृतिक सम्बन्ध हो । पराशर ऋषि र सत्यवतीसँग जोडिएको किंवदन्तीले यस क्षेत्रलाई धार्मिक र सांस्कृतिक महत्त्व प्रदान गरेको छ । कुहिरोसँग जोडिएको यस कथाले मानुङकोट र दमौली क्षेत्रको पहिचानलाई थप विशिष्ट बनाएको छ । प्राकृतिक दृश्यसँगै यस्ता ऐतिहासिक तथा सांस्कृतिक पक्षलाई व्यवस्थित रूपमा पर्यटकीय गतिविधिसँग जोड्न सके पर्यटकलाई नयाँ अनुभव दिन सकिन्छ । स्थानीय कथा, परम्परा, पहाडी जीवनशैली, मौलिक घर र खानपानको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्नुपर्छ । आधुनिक संरचना निर्माण गर्ने नाममा मौलिकता हराउने अवस्था आउन दिनु हुँदैन ।

मानुङकोटको आकर्षण कुहिरो र सूर्योदयमा मात्र सीमित छैन, यसको आफ्नै सामाजिक र सांस्कृतिक पहिचान पनि छ । यसका लागि स्थानीय सरकार, समुदाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ । नगरपालिकाले स्पष्ट गुरुयोजना बनाएर बस्ती विकास, होटल सञ्चालन, फोहोर व्यवस्थापन र प्राकृतिक सम्पदा संरक्षणलाई एकीकृत रूपमा अघि बढाउनुपर्छ । स्थानीयलाई पर्यटनसम्बन्धी तालिम, उद्यम सञ्चालनका अवसर र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गर्नुपर्छ । होटल तथा पर्यटन व्यवसायीले पनि गुणस्तरीय सेवा, उचित मूल्य र स्वच्छ वातावरण कायम गर्न जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ ।

पर्यटनबाट हुने आम्दानीको लाभ स्थानीय किसान, युवा, महिला र साना उद्यमीसम्म पुग्ने व्यवस्था मिलाउन सके मात्र पर्यटनको विकास समावेशी बन्न सक्छ । मानुङकोट अहिले सम्भावनाको नयाँ मोडमा उभिएको छ । यहाँको बढ्दो पर्यटकीय आकर्षणलाई व्यवस्थित योजना, गुणस्तरीय सेवा र स्थानीय सहभागितासँग जोड्न सकियो भने यसले तनहुँको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ। तर आजको लोकप्रियतालाई नै स्थायी सफलता ठान्नु हुँदैन । प्राकृतिक सौन्दर्य जोगाउँदै पूर्वाधार विस्तार गर्ने, सांस्कृतिक सम्पदा संरक्षण गर्ने र स्थानीयको जीवनस्तर उकास्ने काम सँगसँगै अघि बढाउनुपर्छ । कुहिरो हटेपछि देखिने उज्यालो घामजस्तै मानुङकोटमा पनि समृद्धिको सम्भावना देखिएको छ। त्यो सम्भावनालाई वास्तविकतामा बदल्ने आधार भनेको योजनाबद्ध विकास, वातावरणीय जिम्मेवारी र समुदायको साझा प्रयास हो । यही बाटो अपनाउन सके मानुङकोट तनहुँको गौरव मात्र नभई नेपालकै नमुना पहाडी पर्यटकीय गन्तव्य बन्न सक्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker