दमौलीको भादगाउँस्थित जलदेवि विद्यालय हाताभित्र वृक्षारोपण

दमौली । तनहुँको व्यास–१ भादगाउँस्थित जलदेवि माध्यमिक विद्यालय हाताभित्र वृक्षारोपण गरिएको छ। रोटरी क्लव अफ दमौलीले शनिबार आफ्नो बार्षिक कार्यक्रम अनुसार वृक्षारोपण गरेको हो ।
क्लवले विद्यालयमा १२० भन्दा बढी विभिन्न प्रजातिका बहुउपयोगी विरुवाहरु रोपण गरिएको क्लबका अध्यक्ष जीवनकुमार श्रेष्ठले बताए। एभोकाडो, कपुर, अमला, आँप लगायत बहुगुणी विरुवाहरु रोपण गरिएको उनले बताए ।
प्रकृतिलाई सुन्दर र हराभरा बनाइ वातावरणीय स्वच्छता प्रवद्र्धन गर्न क्लबले हरेक बर्ष नयाँ नयाँ ठाउँमा वृक्षारोपण गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । वृक्षारोपणसँगै ती विरुवाको संरक्षणका लागि पनि क्लब उत्तिकै सचेत र जिम्मेवार रहेको उनले बताए ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख एवं रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष बैकुण्ठ न्यौपानेले वृक्षरोपणसँगै संरक्षण पनि गर्नुपर्ने बताए । वातावरणीय प्रदुषण बढदै गइरहेको सम्बन्धमा वृक्षारोपणको झनै महत्व रहेको बताउदै उनले रोपेको विरुवा संरक्षण गर्न सबैलाई अनुरोध गरे ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु तथा सदस्यहरुले रोपेको विरुवाहरुलाई संरक्षण सहित हुर्काउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।









